‘स्थानीयवासीको आयआर्जन वृद्धि गर्नु नै हाम्रो मुख्य लक्ष्य हाे’



याङवरक गाँउपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ (कमला) बढि सक्रिय एवं गाँउपालिका भित्र छुट्टै प्रभाव र पहिचान स्थापित गर्न सक्षम हुनुहुन्छ । विगतमा सामाजिक क्षेत्रमा सक्रिय उहाँ अहिले गाँउपालिका उपाध्यक्ष भई गाँउपालिकाको विकास, समृद्धि, सुशासन र गाँउपालिकावासीको आवश्यकता पूर्तिका लागि खटिइरहनुभएको छ । याङवरक गाँउपालिकाले हालसम्म के कति उपलब्धि हाँसिल गरेको र भावी दिनमा गाँउपालिका कसरी अघि बढ्छ ? प्रस्तुत छ यस विषयमा याङवरक सन्देशका लागि गाँउपालिका उपाध्यक्ष कमलकुमारी योङहाङसँग गरिएको कुराकानी :

गाँउपालिका उपाध्यक्ष निर्वाचित हुनुपूर्व र निर्वाचित भइसकेपछि गाँउपालिका भित्र केही अन्तर देख्नुभएको छ ?

निर्वाचित हुनुपूर्व र निर्वाचित भइसकेपछि फरक देखियो । जनप्रतिनिधि नहुँदा वा स्थानीय निकाय रहँदा जनताको सम्बन्धीत ठाँउमा पहुँच नपुग्ने अवस्था थियो । कसैले छलफल गर्नुपर्ने आवश्यकता ठान्दनथ्यो । हामी जनप्रतिनिधि निर्वाचित भएपछि जनताको एकदमै नजिक भएर काम गर्न थालियो । विगतमा भन्दा यहाँका सबै प्रकृयामा फरक आयो । जनतामा पनि परिवर्तन आएको छ । हिँजो जनता सुन्थे मात्रै अहिले सबै कुरा ब्यवहारमा खोजी हुन थालेको छ । हामीले गरेका घोषणा जनताले कार्यान्वयनमा हेर्न थालेका छन । हालसम्म तीन वटा बजेट तर्जुमा गरिसक्यौँ । पहिलो वर्ष सिकाईकै रुपमा सकिएपनि दोश्रो वर्षबाट धेरै सुधार थालिएको छ । समग्रमा परिवर्तन भेटिएको छ ।

दुई वर्ष याङवरक गाँउपालिकाको नेतृत्व सम्हालेर यहाँहरुले के के काम गर्नुभयो ? के के परिवर्तन आयो ?

याङवरक गाँउपालिकामा विकास निर्माणको कार्य अघि बढाउने, परिवर्तन र सुशासन कायम गर्ने सवालमा धेरै नै काम उठाइयो भन्ने लाग्छ । भौतिक पूर्वाधारतर्फ सडक र भवन निर्माणमा उल्लेख्य काम गरियो । दुई वर्षको अनुभवले विकासलाई योजनावद्ध बनाउनुपर्छ भन्ने निश्कर्षमा पुग्दै पञ्चवर्षीय आवधिक योजना बनाइयो । अब त्यसैमा अडेर वार्षिक नीति, कार्यक्रम र बजेट बनाउन थालिएको छ । विगतमा पूर्वाधारका मात्रै योजना हुनेमा यस पटकबाट पूर्वाधारका योजनामा ५० प्रतिशतले कमी भएको छ ।

गाँउपालिकाको भवन नहुँदा गाँउपालिकावासीका काम प्रभावित हुने अवस्था आएकाले भवन निर्माणको प्रकृया थालिएको छ । जसका लागि २५ रोपनी जग्गा खोजेर निर्माणको प्रकृया अघि बढाइएको छ । गाँउपालिकाको समपुरक कोष खडा गरी प्रदेश सरकारसँग उक्त कोष मार्फत गाँउपालिकाको भवन निर्माणमा साझेदारीको आग्रह गरिएको छ । गाँउपालिकाको भवन निर्माणको ठेक्का साउन भदौमा निस्किन्छ ।

आर्थिक, सामाजिक र समावेशी विकासमा जोड दिँदै प्रविधिको पहुँच विस्तारमा ध्यान दिएका छौँ । हाम्रो गाँउपालिका गत वर्ष नै अनलाइन घटना दर्ता गाँउपालिका घोषणा भइसकेको छ । सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट वितरण गर्ने प्रवन्ध मिलाइएको छ । यो प्रणाली सुरुमा कठीन भएपनि पछि सहज भएको छ र गाँउपालिकावासीले मन पराउनुभएको छ ।

याङवरक गाँउपालिकाका छ वटै वडालाई पुष्पलाल मध्यपहाडी लोकमार्गले चिरेकाले हामीलाई काम गर्न एकदमै सहज, विकास निर्माण लगायत सबै कार्य गर्ने साह्रै राम्रो अवसर मिलेको छ । यहाँ चार वटा जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन । तिनबाट गाँउपालिकाले राम्रो आम्दानी गर्नसक्ने अपेक्षा गरिएको छ । यहाँका नौ वटा स्थानलाई पर्यटकीय स्थलको रुपमा सूचिकृत गर्दै तिनको विकासका लागि यस पटकबाट कुल बजेटको २ प्रतिशत रकम छुट्याएका छौँ । यहाँका ८० प्रतिशत गाँउपालिकावासीमा खानेपानीको सहज पहुँच रहेकाले यस वर्षबाट पानी शुद्धिकरण गरेर मात्रै पिउनुपर्छ भन्ने चेतनाको विकास गर्ने कार्यक्रम अघि सारेका छौँ ।

स्थानीय तहको अधिकांश विकास बजेट पूर्वाधार निर्माणमा खर्च हुने गरेको देखिन्छ । विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्ने कानूूनी अधिकार संविधानले स्थानीय तहका उपप्रमुखलाई दिएको छ ? यहाँको विकास निर्माणको अवस्था कस्तो पाउनुभएको छ ?

स्थानीय तहको ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेतृत्व उपप्रमुखकै हुन्छ । यसै अनुशार भूमिका खेल्नुपर्ने छ । विकास निर्माणका सवालमा अझै बढी गम्भीर हुनुपर्ने आवश्यकता छ । तर हामी पार्टीको निर्णय मान्नुपर्ने स्थानमा भएकाले धेरै कार्यकर्ताहरु चिढिने अवस्था छ । मैले नै कतिपय योजनाबाट रकम फिर्ता गरेको छु । कतिपयलाई कामअनुशारको मात्रै रकम निकासा दिन सिफारिस गरेको छु । विकास निर्माणका योजनाहरुको अनुगमन र मूल्याङ्कनले कुन योजनामा कति रकम खर्च भयो भन्ने अनुमान गर्न थालेको छु ।

यहाँ विकास निर्माणलाई प्रभावकारी र गुणस्तरीय बनाउने जिम्मा हाम्रै काँधमा छ । योजनाको अनुगमनअघि योजनाको स्टिमेट हेर्ने गरेको छु । कामदारले उचित रकम पाए नपाएको समेत हेर्छु । कतिपय योजनामा प्राविधिकहरुलाई पुनः परीक्षण गर्न लगाएको छु । इन्जिनियर नै लगेर पनि हेर्नुपर्ने अवस्था आयो कहिँकहिँ । यसरी काम गर्दा सबैको चित्त नबुझेको हुनसक्छ । जनताले नै राम्रो भयो भन्ने महशुस गर्नेगरी विकास निर्माण अघि बढाउने प्रयत्न गरिरहेका छौँ । तर अनुगमन अझै प्रभावकारी हुन सकेको छैन । मैले सबै ठाँउमा स्थानीयलाई आफैँ अनुगमन गर्नुस भन्ने गरेको छु । प्रभावकारी नियन्त्रण र अनुगमनले मात्रै काम उठ्ने मेरो निश्कर्ष छ ।

गाँउपालिकाभित्र सयौँ विकास निर्माणका योजनाहरु छन । सबै योजनाहरु उपभोक्ता समितिबाटै निर्माण भइरहेका छन । यसर्थ उपभोक्ता समितिहरु नै निर्माणको मेरुदण्ड रहेको पाइन्छ । याङवरक गाँउपालिका भित्र उपभोक्ता समितिहरुको काम कारबाहीको अवस्था कस्तो छ ? उपभोक्ता समिति कति उत्तरदायी र प्रभावकारी छन् ?

पहिलो वर्ष उपभोक्ता समितिहरुलाई तालिम वा प्रशिक्षण दिइएन । हामी पार्टीको नेता समेत भएकाले हामीले नै सबै गरिदिन्छौँ भन्ने सोच राख्नुभयो । धेरै समस्या पनि भयो । गत वर्षमा भने तालिम दियौँ । योजना निर्माणदेखि रकम निकासासम्मका सम्पूर्ण प्रकृयाबारे बुझायौँ । योजनाभित्रै स्थानीय अगुवा र जानकारहरु रहेको अनुगमन समिति गठन गर्ने र उक्त समितिको सिफारिसमा मात्रै योजनाको रकम निकासा गर्ने प्रवन्ध भयो । यसो गरेपछि दाँयाबाँया केही नहुने रहेछ ।

गाँउपालिकामा जति पनि पैसा छ, उपभोक्ता समितिमा बसौँ, काम गरेजस्तो गरौँ, पैसा निकलौँ, खाऔँ भन्ने चिन्तन पनि छ । उपभोक्ता समितिमा अध्यक्ष बस्छु भन्नेहरु धेरै निस्कनुहुन्छ । तर धेरै योजनाको काम गराई सन्तोषजनक छैन । केही योजनामा उपभोक्ता समितिले समेत रकम जुटाएर राम्रो काम गर्नुभएको छ ।

पहिला समितिमा बस्न मरिहत्ते गर्ने, पछि काम नै नगर्ने समस्याले सबैलाई अप्ठ्यारो पारेको छ । यस्तो अवस्थालाई चिर्न कामलाई टाइट गर्नैपर्ने अवस्था छ । प्राविधिक कर्मचारीबाट निर्भयपूर्वक तथ्यगत रिपोर्ट आवश्यक छ । यो योजनामा चाँही मिलाएर काम गर्दिऔँ, सबै काम गरेको देखाइदिऔँ भन्ने माग पनि हुन्छन । त्यस्तो चाँही पूरा गर्नै सकिँदैन । त्यसमा हामी प्रष्ट छौँ । जनताले नै राम्रो भयो भने बनाउनुपर्छ ।

अब याङवरक गाँउपालिकाले के कुरामा मूख्य रुपमा ध्यान दिन्छ ?

प्राविधिक एवं गुणस्तरीय शिक्षा अवको हाम्रो मुख्य प्राथमिकता हो । त्यसपछि स्वास्थ्य सेवको पहुँच विस्तार र प्रभावकारितामा जोड दिएका छौँ । विकास निर्माणमा दुई तीन वर्षको बजेटले ठूलो फड्को मारेको छ । अव गाँउपालिकावासीको आर्थिक स्तर उकास्ने कार्यक्रमहरु सञ्चालन गर्नुको विकल्प छैन । यसैले कृषि र पशुपालनमा विशेष जोड दिएका छौँ । यसले स्वास्थ्य र पोषणको अवस्था सुधारमा समेत सघाउ पुर्याउने रहेछ । पर्यटन विकास, पूर्वाधार निर्माण, सुशासनमा समेत उचित ध्यान दिइन्छ । मुख्यत गाँउपालिकालाई सक्षम बनाउन आर्थिक समृद्धिमा जोड दिनुको विकल्प छैन ।

दीगो प्राविधिक जनशक्ति उत्पादन गर्न नसकेसम्म कृषि र पशुपालनलाई ब्यवसायिक बनाउन सकिँदैन । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सके युवा जनशक्ति गाँउमै रहन्छ । युवाहरुबाट कृषि र पशुपालनमा ब्यवसायिकता निर्माण गर्न सहज हुन्छ । त्यसैले मैले एक लाख रुपैयाँभन्दा कम बजेटका योजनामा स्थानीयले काम गर्ने ब्यवस्था गर्नुपर्छ भन्ने प्रस्ताव गरेकी छु ।

यसले स्थानीय स्तरमै रोजगारी पनि भयो, योजना पनि प्रभावकारी भयो, विकास निर्माणमा स्थानीयले अपनत्व महशुस गर्ने स्थिति पनि तयार गर्छ । विदेश जाने त गइहाले यहाँ बस्ने क्यारेमबोर्ड खेलेर, फेसबुक चलाएर समय काटिरहेका छन । जग्गा बाँझिइरहेका छन । गाँउपालिकाको आम्दानी घट्दो, जनसंख्या घट्दो छ । अव विकासलाई यी समस्या समाधानको लागि तालमेल गर्ने वनाउनु पर्नेछ ।

स्थानीय तह भित्रका समग्र क्षेत्रको विकास भन्दापनि सडक विस्तारमा स्थानीय तहहरु केन्द्रीत भएको आरोप छ नि ? याङवरक गाँउपालिकाको अवस्था कस्तो छ ?

यो आरोप होइन् । यो यथार्थ तस्वीर हो । तर, अव सधैँ यस्तै अवस्था रहन दिनु हुँदैन भनेर हामी लागेका छौँ । मलाई त्यो सम्भव हुन्छ भन्ने पनि लागेको छ । अव समग्र क्षेत्रको विकासले मात्रै गाँउपालिकाको विकास हुन्छ भन्ने जनप्रतिनिधिहरु सबैमा पर्दै गएको छ । हिँजो हामीले वडाध्यक्षदेखि वडा सदस्यसम्म, नेता कार्यकर्ता र समर्थकको दबाव खेप्नुपर्दा पूर्वाधारमा बढी जोड दिइयो । तर, अव हामीसँग पार्टी छ । पार्टीमा पनि छलफल सुरु भएको छ ।

याङवरक गाँउपालिकाको आवधिक योजना निर्माणमा पार्टीकै मूख्य भूमिका थियो । वडाध्यक्षहरुले पनि अझै पूर्वाधारमै विशेष ध्यान दिनुभएको देखिएको छ । जनप्रतिनिधिहरुलाई समेत विकासको अवधारणाबारे सचेत तुल्याउनुपर्ने आवश्यकता छ । यहाँहरुमा विकाससम्बन्धी अवधारणा परिवर्तनको गर्ने कार्यशाला नै गर्नुपर्छ कि भन्ने मैले सोचेकी छु । तर विगतजस्तो समस्या हामीलाई नहुने र हामी गएपछि पनि नहुने भयो । किनकी हामीले पाँच वर्षे आवधिक योजनामार्फत गाँउपालिकालाई एउटा सिस्टममा पुर्याइसक्यौँ । अव अघि बढ्न सहज छ, बाटो प्रष्ट छ ।

याङवरक गाँउपालिका भित्रका सम्भावनाका क्षेत्रहरु के–के हुन् ? यहाँका सम्भावनाका क्षेत्रहरुमा यहाँहरुले के कति काम गर्नुभयो ?

कृषि, पर्यटन, पशुपालन लगायत क्षेत्रमा यस पटकबाट बजेट बढाएर प्रवद्र्धन गर्दै स्थानीयको आयआर्जको बलियो माध्यम निर्माण गर्नु नै यहाँको मुख्य सवाल हो । हामीकहाँ पर्यटन विकासमा धेरै राम्रो सम्भावना छ । हामीले पर्यटकीय क्षेत्रहरु सूचिकृत गर्दै पर्यटन गुरुयोजना मार्फत विकासको पहल थालेका छौँ ।

याङवरकमै सुनखानी समेत भएको पुष्टि भइसकेको छ । यसको अध्ययन र उत्खननका लागि संघीय सरकारसँग पहल गर्ने तयारी भइरहेको छ । यदी त्यस्तो खानी थियोभने हामीले संवैधानिक ब्यवस्थाअनुशार नै ठूलो आन्तरिक आम्दानी गर्न सक्थ्यौँ । त्यसले गाँउपालिकामा धेरै कार्य गर्न सकिन्थ्यो । तर हामीकहाँ संघ र प्रदेश सरकारबाट पर्याप्त आएका छैनन् । आएका पनि कार्यकर्तामुखी छन । यहाँ लगानी बढाउन हामीले पहल गरिरहेका छौँ । खेलकुद, सरसफाई, साहित्य, कला संस्कृतिको जगेर्ना र प्रवद्र्धन, सञ्चार र प्रविधिको प्रवद्र्धन, पानी शुद्धिकरणमा समेत ध्यान दिएका छौँ ।

गाँउपालिकाका कार्य अघि बढाउने सन्दर्भमा आफू सम्वद्ध पार्टी, जनप्रतिनिधिहरु, कर्मचारीहरु, गाँउपालिकावासी लगायतसँग कस्तो सम्बन्ध रह्यो ?

सिकाईको क्रम रहेकाले पहिलो वर्ष चाँही सबैवीच खटपट नै भयो । दोश्रो वर्षबाट समस्या भएन । कर्मचारीबाट सहयोग पाएरै गाँउपालिकालाई अनलाइन ब्यक्तिगत घट्ना दर्ता गाँउपालिका बनाइयो । अहिले स्वास्थ्य र पोषणमा धेरै काम भइरहेको छ, सामाजिक सुरक्षा भत्ता वितरणलाई बैङ्किङ गर्ने प्रयत्न जारी छ, आवधिक योजना बनेको छ । यसमा कर्मचारीबाट ठूलो सहयोग मिलेको छ । अव कमिटी बनेपछि गाँउपालिकाका महत्वपूर्ण निर्णयबारे हामीले पार्टीसँग सम्वाद गर्न पाएका छौँ, पार्टी कमिटीले पूर्ण सहयोग गरेको छ । अव सबै कुरा क्रमशः ट्रयाकमा पुगेको अनुभूति हुन्छ ।

हालसम्म भोग्नुपरेका मुख्य चुनौतिहरु के के हुन् ?

गाँउपालिकामा जनप्रतिनिधि, कर्मचारी र प्राविधिकका लागि भौतिक ब्यवस्था हुन नसक्नु, ऐन कानून नहुनु, ऐन कानून निर्माणमा जानकारीको अभाव हुनु, विकास निर्माणका कार्य समयमा पूरा नहुनु, दृष्टिकोणमा समेत फरक आउँदा मतान्तर हुनु मुख्य चुनौति हुन् ।

गाँउपालिकावासीलाई यहाँको सन्देश के हो ?

गाँउपालिकावासीले धेरै आशा, अपेक्षा र भरोसा गरेर हामीलाई चुन्नुभएको हामीले विर्सेका छैनौँ । अव गाँउपालिकामा जनताले चाहेजस्तै काम गर्नका लागि दोहोरो सम्बन्ध आवश्यक छ । हामीलाई सकारात्मक सुझाव र सहयोग आवश्यक छ । यसो भयो भने अझै सहज रुपमा काम गर्न सकिन्छ । गाँउपालिकाका गतिविधिमा सबैको साथ र सहयोग भयो भने हाम्रो साझा सङ्कल्प पूरा गर्न सम्भव हुन्छ । सबैले एकापसमा सहकार्य गरौँ, याङवरक गाँउपालिकालाई हामीले चाहेजस्तै बनाऔँ ।

प्रतिक्रिया दिनुहोस्