समावेशी विकासमा जोड दिँदै याङवरक गाँउपालिका



फिदिम, २२ मङ्सिर

याङवरक गाँउपालिकाले गाँउपालिकाको समग्र विकासका लागि समावेशी विकास गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । गाँउपालिकाको पाचौँ गाँउसभामा गाँउपालिका अध्यक्ष लेखनाथ घिमिरेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपछि गाँउ सभाले पारित गरेको हो ।

विभिन्न २४ शीर्षकमा रहेका नीतिहरुको माध्यमबाट गाँउपालिकालाई समृद्ध र उज्यालो बनाउने अभियानले सार्थकता पाँउने अपेक्षा गरिएको छ । गाँउ सभामा विगतको समीक्षा प्रस्तुत गर्नुहुँदै गाँउपालिका अध्यक्ष घिमिरेले गाँउपालिका भित्र विकासका सबै पूर्वाधारहरु खडा भई नसकेको, स्थानीय स्रोत र साधनको उचित तवरले परिचालन हुन नसकेको, यातायात, सञ्चार, खानेपानी, स्वास्थ्य, शिक्षा, बजारिकरण जस्ता क्षेत्रमा पुनःब्यवस्थापनको आवश्यकता रहेको औँल्याउनु भएको छ ।

यस्तै विकट भूगोलका कारण पूर्वाधार विकासले गति लिन नसकेको, रोजगारीका लागि अन्यत्र पलायनको अवस्था रोक्नैपर्ने आवश्यकता रहेको अध्यक्ष घिमिरेको ठम्याई छ । उहाँले गाँउपालिकाको आर्थिक विकासका निमित्त कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने, पशुजन्य ब्यवसाय, लघु उद्योगको प्रवद्र्धन, स्थानीय शीप र साधनबाट सञ्चालित परम्परागत ब्यवसायको संरक्षण र विविधिकरण, सहकारीको उचित ब्यवस्थापन तथा परिचालन, योजनावद्ध विकास, आधारभूत पूर्वाधार विकास तथा आम समुदायको परिचालनले मात्रै परिणाममुखी विकास सम्भव हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । गाँउपालिकाले आवधिक पञ्चवर्षीय योजना तयार पारिसकेकाले उक्त योजनाकै आधारमा वार्षिक योजनाहरु तयार पारिने जानकारी समेत गराउनुभयो ।

यस्ता छन मुख्य नीतिहरु

भौतिक पूर्वाधार तर्फ :–

याङवरक गाँउपालिकाले भौतिक पूर्वाधारतर्फ सडक सञ्जालको विस्तार मार्फत आर्थिक, सामाजिक विकास, ब्यापार विस्तार, विविधिकरण र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढिकरणमा टेवा पुर्याउन जोड दिने, ओझेलमा रहेका पर्यटकीय स्थलसम्म सडक पुर्याउने, सडकको पहुँच नपुगेका वस्तीमा सडक पुर्याउने, अन्तर गाँउपालिका जोड्ने सडक सञ्जाल विस्तारमा जोड दिने भएको छ । यस्तै यातायात सेवालाई सुरक्षित, सर्वसुलभ, प्रयोगकर्तामैत्री एवं ब्यवस्थित बनाउन पहल गर्ने भएको छ ।

गाँउपालिकाले मुख्य सडकहरुको डीपीआर तयार पार्ने, ती सडकहरुको क्रमागत विकास गर्ने र प्रदेश तथा संघीय सरकारसँग पहल गरी कालोपत्रे गर्ने नीति लिएको छ । गाँउपालिकाले गाँउपालिका भित्रका सबै सडकहरुमा नाली, सोलिङ, कजवे निर्माण गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन पहल गर्ने भएको छ । यस्तै गाँउपालिकाद्वारा सूचिकृत सडकहरुको छेउमा वृक्षारोपण गरिने भएको छ । गाँउपालिकाले गाँउपालिकाको केन्द्रबाट सबै वडासम्म यातायात ब्यवस्थालाई सहज बनाई सुचारु गराउन यातायात ब्यवसायीसँग समन्वय गर्ने भएको छ ।

गाँउपालिकाले सुविधासम्पन्न बहुउपयोगी खेलकुद रङ्गशाला निर्माणका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल गर्ने नीति लिएको छ । गाँउपालिकाले गाँउपालिकाको भवन, आफ्नै कार्यालय नभएका वडाहरुमा वडा कार्यालय भवन निर्माणको थालनी गर्ने, जीर्ण अवस्थामा रहेका सरकारी भवनको मर्मत गर्ने भएको छ ।

यस्तै आवश्यकताका आधारमा सामुदायिक तथा अन्य भवन निर्माण गर्ने, निर्माण हुने सबै भवनहरुलाई भूकम्प प्रतिरोधी बनाइने भएको छ । याङवरक गाँउपालिकाले गाँउपालिका भित्रका बजारहरुलाई ब्यवस्थित बजारिकरण गर्ने भएको छ । यस्तै गाँउपालिका भित्रै १५ शैय्याको अस्पताल निर्माणका लागि संघीय सरकारसँग पहल गरिने भएको छ ।

लैङ्गिक समानता तथा महिला विकास तर्फ :–

याङवरक गाँउपालिकाले लैङ्गिक बजेट प्रणालीलाई संस्थागत गर्दै स्थानीय स्तरसम्म विस्तार गर्ने, गाँउपालिकाको प्रशासन तथा नीति निर्माण तहमा महिलाको पहुँचमा वृद्धि गर्ने, गाँउपालिकाका सम्पूर्ण संरचनामा महिलाको प्रतिनिधित्व बढाउने, महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विभेद र बहिष्करण विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने भएको छ ।

यस्तै अपाङ्गता भएका महिलाहरुमाथिको विभेद अन्त्य गर्नका लागि स्वरोजगार बनाउने, महिलाहरुलाई ब्यवसाय सञ्चालन तथा आयमूलक रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि सहुलियतमा ऋणतथा वित्तीय पहुँच पुर्याउन पहल गरिने भएको छ ।

यस्तै महिलाद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि गर्न तथा बजारमा पहुँच स्थापित गर्न सहयोग गर्ने, प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, किशोर किशोरीका लागि जीवनउपयोगी तालिम सञ्चालन गर्ने, महिला–पुरुष समविकास तालिम, सासु बुहारी अन्तरक्रिया सञ्चालन गर्ने गाँउपालिकाले नीति लिएको छ । यस्तै हिंसापीडित महिलाहरुको संरक्षणका लागि सेवा केन्द्र सञ्चालन गरिने भएको छ ।

कृषि र सिंचाईको विकास तर्फ :–

याङवरक गाँउपालिकामा कृषि तथा सिंचाईको विकासका लागि कृषि उत्पादनमा वृद्धि गर्न, कृषि उत्पादकत्व अभिवृद्धि गर्नका लागि उन्नत वीउ वीजनको प्रयोगमा प्रोत्साहन तथा अनुदान दिइने भएको छ । यस्तै कृषि क्षेत्रमा यान्त्रिकीकरण तथा ब्यवसायिकीकरण गर्ने, स्थानीय सम्भाब्यता अध्ययन गरी कृषि उत्पादनलाई क्षेत्रगत रुपमा पकेट क्षेत्रको विकास गरिने भएको छ । गाँउपालिका भित्रको खेतीयोग्य जमिनमा दीगो सिंचाईको प्रवन्धका लागि प्लाष्टिक पोखरी, साना सिंचाई, लगायत पूर्वाधार निर्माणमा जोड दिइने भएको छ ।

गाँउपालिका भित्र कृषि तथा पशुपंक्षी हाट बजार, संकलन केन्द्र लगायत पूर्वाधार स्थापना गरी तिनको बजारीकरणमा सहयोग गर्ने, उचित मूल्य प्राप्तिका लागि पहल गर्ने तथा यहाँको कृषि उपजलाई अन्यत्रसँग प्रतिस्पर्धी बनाइने नीति लिइएको छ । यसैगरी समयानुकुल उचित मूल्य प्राप्त गर्न कृषि उपजलाई प्राङ्गारिक प्रविधिबाट उत्पादनमा जोड दिने, माटोको उर्वराशक्ति बढाउन पारिस्थितिक पद्धतिमा आधारित जैविक विविधतालाई संरक्षण गर्ने नीति अवलम्बन गरिएको छ ।

खाद्यान्न उत्पादन न्यून हुने क्षेत्रमा वैकल्पिक बालीको उत्प्दानमा जोड दिई खाद्य सुरक्षाको प्रत्याभूति गर्ने, एकीकृत खेती प्रणालीबाट दीगो विकासमा जोड दिने, कृषिकै माध्यमबाट गरिबी निवारणमा ठोस भूमिका खेल्ने, एकीकृत सुधारिएको करेशावारी निर्माणको अभियानलाई जोड दिने गाँउपालिकाको लक्ष्य छ ।

विपत ब्यवस्थापन तर्फ :–

याङवरक गाँउपालिकाले विपतका घटनाबाट प्रभावितहरुलाई तत्काल राहत, औषधी उपचार, खानपान तथा लत्ताकपडाको ब्यवस्था र आवश्यक सामग्री उपलब्ध गराउन विपत ब्यवस्थापन कोषको स्थापना गरेको छ । विपतपछि उद्धारका लागि उद्धार सामग्री र सुरक्षित बासस्थानका लागि बजेट छुट्याइएको छ ।

गाँउपालिकाले आगलागी नियन्त्रणका लागि बारुण यन्त्र खरिद गर्न पहल गर्ने भएको छ । भूकम्पप्रतिरोधी घर निर्माण जोड दिने, वडा स्तरमा विपत ब्यवस्थापन समिति गठन गरी उद्धार सामग्री वडा स्तरमै राख्ने नीति समेत गाँउपालिकाको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ :–

याङवरक गाँउपालिकाले विपन्न वर्गका महिला, बालबालिका, आदिवासी जनजाति, अपाङ्गता भएका ब्यक्तिहरु, जेष्ठ नागरिक, दलित लगायतका लागि आयआर्जन गर्ने तथा गरिबी न्यूनिकरण गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाँउपालिकाले शैक्षिक वेरोजगार तथा युवाहरुका लागि रोजगारीको विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै राज्यले सम्मान गर्ने भनि तोकिएका ब्यक्तिको घरैमा पुगेर परिचयपत्र वितरण गर्ने, जेष्ठ नागरिकहरुको सम्मान तथा कदर गर्ने, अपाङ्गता भएका ब्यक्तिहरुलाई आयआर्जनमा जोड्ने नीति लिएको छ ।

बालबालिका तर्फ :–

याङवरक गाँउपालिकाले पोषणसम्बन्धी, खोप तथा आधारभूत स्वास्थ्य सेवाको विस्तार सम्बन्धी, बालसहभागिता अभिवृद्धिसम्बन्धी, बाल हिंसा रोकथामसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै हिंसा प्रभावितको संरक्षण र उनीहरुका लागि निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, बेचविखन, बालश्रम लगायत हिंसामा परेका बालबालिकाहरुका लागि सहयोग गर्ने नीति तय गरेको छ ।

गाँउपालिकाले बालविवाह विरुद्ध सामाजिक जागरण थाल्ने, बालश्रम न्यूनिकरण र निषेध गर्ने, बालबालिका तथा किशोर किशोरीहरुका लागि आवश्यक परामर्श दिने प्रवन्ध गर्ने, खेलकुदमा जोड्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा तर्फ :–

याङवरक गाँउपालिकाले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माणको पहल गर्ने, दक्ष जनशक्तिको ब्यवस्था गर्ने, उपकरण, प्रविधि लगायतले स्वास्थ्य संस्थालाई सक्षम बनाउने, स्वास्थ्य विमा कार्यक्रम सञ्चालनका लागि पहल गर्ने, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिको पहल गर्ने, पोषण प्रवद्र्धनमा विशेष जोड दिने, प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने भएको छ । यस्तै शिशू मृत्युदर, मातृ मृत्युदर शून्यमा झार्ने प्रयत्न गरिने भएको छ ।

खानेपानी तथा सरसफाई सेवा तर्फ :–

याङवरक गाँउपालिकाले खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी कार्ययोजना तयार पारी खानेपानी र ढल निकासीका आयोजनाहरु सञ्चालन गर्ने, सुख्खाग्रस्त क्षेत्रहरुको पहिचान गरी ती स्थानमा खानेपानीका आयोजना निर्माण गर्ने, एक घर एक धारा तथा एक घर एक शौचालयको अभियानलाई ब्यवस्थित रुपमा अघि बढाउने भएको छ । गाँउपालिकाले निर्माणाधीन सबै खानेपानी तथा सरसफाईका योजनाहरुलाई पूरा गर्ने, सबै वडामा खानेपानी र सरसफाईको आवधिक योजना निर्माण गर्ने भएको छ ।

सार्वजनिक नीति तथा कार्यक्रमअनुसार गाँउपालिका भित्रका आर्थिक सामाजिक एवं साँस्कृतिक महत्वका नदी नाला तथा अन्य पानीका पोखरी र ताल तलैयाको संरक्षण र वातावरणीय व्यवस्थापनको कार्य सुरु गर्ने, सार्वजनिक स्थान र मानिसको चहलपहल बढी हुने स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने, जलबावु अनुकुलन आयोजना निर्माण गर्ने, जलाधार क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको पुनःभरणको कार्यक्रम अघि बढाइने भएको छ । यसैगरी खानेपानीको विवेकशील प्रयोगका निम्ति जनचेतना फैलाउने तथा परिवर्तित सरसफाई अभियानलाई बढावा दिने जस्ता नवीनतम योजना समेत याङवरक गाँउपालिकाले लिएको छ ।

शिक्षा तर्फ :–

याङवरक गाँउपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राख्दै धेरै कार्यक्रमहरु अघि बढाउने तय गरेको छ । गाँउपालिकाले रोजगारी र उद्यमशिलता विकास गर्ने प्राविधिक एवं ब्यवसायिक शिक्षाको विस्तामा जोड दिँदै सबै तहको शिक्षाको गुणस्तर सुधार्न प्रत्येक विद्यालयमा एक एक वटा बालमैत्री कक्षा ब्यवस्थापन गर्ने, विपन्न, लोपोन्मुख, सिमान्तकृत समुदाय र अपाङ्गता भएका ब्यक्तिको शिक्षामा पहुँच सुनिश्चित गर्ने, शिक्षालाई सबैको पहुँचयोग्य, प्रतिस्पर्धी एवं अनुसन्धानमुलक बनाउने लक्ष्य नीति तथा कार्यक्रम मार्फत लिइएको छ ।

यसैगरी शिक्षक पुनर्मिलान एवं शिक्षक संख्यामा समायोजन गर्ने, मातृभाषाका पाठ्य सामग्री तथा शिक्षकको ब्यवस्था मिलाउने, प्राविधिक एवं ब्यवसायिक शिक्षा र तालिमको अवसर विस्तार गर्ने, साक्षरतालाई शतप्रतिशत बनाउने नीति लिएको छ । यसैगरी विद्यालयमा वाल मैत्री वातावरण निर्माण गरी भभर्ना दर, उत्तिर्ण दरमा वृद्धि गर्ने, कक्षा दोहोरोर्याउने तथा विद्यालय छाड्ने दर शून्यमा झार्ने, सिकाई उपलब्धिको निरन्तर मूल्याङ्कन गर्ने, विद्यार्थीको नतिजाका आधारमा शिक्षकहरुलाई पुरस्कृत गर्ने, समयानुकुल भवन निर्माणमा जोड दिने याङवरक गाँउपालिकाको कार्यक्रम छ ।

गाँउपालिकाले नीति तथा कार्यक्रममार्फत सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई पोषाक भत्ता प्रदान गर्ने, कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराउने, गाँउपालिकामा त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस स्थापनाका लागि पहल गर्ने, भौगोलिक विकटता, अति विपन्नता एवं सडक बालबालिकाका लागि आवाशीय विद्यालय निर्माण गर्ने गाँउपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

खेलकुद तर्फ :–

याङवरक गाँउपालिकाले खेलकुदका पूर्वाधारहरुलाई सुधार गर्ने, विद्यालयहरुमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिने, स्थानीय सम्भाब्यताका आधारमा खेल प्रतिष्ठान र प्रशिक्षण केन्द्र स्थापना गर्ने, प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म प्रशिक्षण लिने प्रवन्ध मिलाउने नीति लिएको छ ।

यस्तै परम्परागत, साहशिक, पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने, अपाङ्गता भएका ब्यक्तिहरुले समेत खेलकुदमा भाग लिनसक्ने अवस्था निर्माण गर्ने, खेलाडी तथा खेलकुद क्षेत्रका ब्यक्तिहरुलाई प्रोत्साहन गर्ने, स्काउट कार्यक्रमलाई प्रभावकारी परिचालन गर्ने गाँउपालिकाको नीति छ ।

वातावरण तर्फ :–

याङवरक गाँउपालिकाले वातावरण संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम, वृक्षारोपण कार्यक्रम, धुँवारहित भान्सा घर निर्माण कार्यक्रम, वातावरण प्रदुषण रोक्ने, गाँउपालिकालाई स्वच्छ एवं हराभरा बनाउने, जैविक विविधता संरक्षण एवं वातावरणीय स्वच्छता कायम गर्ने, फोहोरमैला ब्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्यटन तर्फ :–

याङवरक गाँउपालिका पर्यटन विकासका दृष्टिले महत्वपूर्ण छ । पाँचथर जिल्लाकै धेरै महत्वपूर्ण पर्यटकीय स्थलहरु याङवरक गाँउपालिकामा पर्दछन । याङवरक गाँउपालिकाले पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक निजी, सहकारी सामुदायिक क्षेत्रसँग साझेदारी गर्दै पर्यटन क्षेत्रबाट हुनसक्ने लाभ स्थानीय स्तरसम्म पुर्याउने नीति लिएको छ ।

गाँउपालिकाले पर्यटन क्षेत्रबाट लाभ लिने वातावरण निर्माणका लागि पर्यटक आकर्षित गर्ने होम स्टे (घरबास) कार्यक्रम सञ्चालनमा ल्याउने तथा विस्तार गर्ने भएको छ । यस्तै पर्यटन प्रवद्र्धनका लागि तिम्बुङपोखरी, गुप्तेश्वर महादेव मन्दिर, लामपोखरी, चिवाभञ्ज्याङ, बाउन्न मौलो, कालापानी लगायत क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने भएको छ ।

यस्तै सीमा क्षेत्रको विकासको विकास, तिम्बुङपोखरी, लामपोखरीको विकासका लागि विस्तृत अध्ययन र पर्यटन पूर्वाधार निर्माणको कार्य थाल्ने गाँउपालिकाको नीति रहेको छ ।

संस्कृति संरक्षण, सम्वद्र्धनतर्फ :–

याङवरक गाँउपालिकाले गाँउपालिका भित्रका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको पहिचान र लगत संकलन गरी संरक्षणको कार्यक्रम सञ्चालन गर्ने, साथै तिनको दीगो विकास र ब्यवस्थापनका लागि गुरुयोजना बनाउने, साँस्कृतिक पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरी संस्कृति सम्वद्र्धनमा जोड दिने, गाँउपालिका भित्रका सबै जातिका भाषा, धर्म, संस्कृति, परम्परा, जात्रा, उत्सव पर्व, बाजागाजा लगायतको संरक्षण एवं प्रवद्र्धन गर्ने, गाँउपालिका भित्र बोलिने लिम्बू, माझी र सुनुवार भाषाको संरक्षणमा विशेष जोड दिने, साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा जोड दिने नीति लिएको छ ।

राजश्व सङ्कलन तथा कर तर्फ :–

याङवरक गाँउपालिकाले समयमै कर तिर्ने करदातालाई सम्मान गर्ने, कर प्रणालीलाई लगानीमैत्री एवं ब्यवसायीमैत्री बनाउने, करको वृद्धि नगरी करको दायरा फराकिलो पार्ने, कर तिर्ने प्रणालीको सहजताका लागि घर–घरमा स्वयंसेवक परिचालन गर्ने, करको दायरामा नआएको क्षेत्र वा करदाता पहिचान गरी करको दायरामा ल्याउन अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पशु सेवा तर्फ :–

याङवरक गाँउपालिका पशुपालन मार्फत स्थानीयवासीको आयआर्जन सबल बनाउ उपयुक्त स्थान मानिँदै आएको छ । गाँउपालिकाले पशुपालनलाई आधुनिक, ब्यवसायिक र उत्पादनमुलक बनाउने नीति लिएको छ । गाँउपालिकाको नीति तथा कार्यक्रमअनुसार निर्वाहमुखी पशुपालन प्रणालीलाई आधुनिक, ब्यवसायिक एवं नाफामुलक बनाउने, पशु विमा तथा कृतिम गर्भाधानलाई अनुदानमा आधारित बनाउने र आवश्यक उपकरणको प्रवन्ध गर्ने, ब्यवस्थित गोठ र भकारो सुधार कार्यक्रमलाई विस्तार गर्ने नीति लिएको छ ।

गाँउपालिकाले पशुपंक्षीपालन सम्बन्धी नीति तर्जुमा गरी ब्यवस्थित गर्ने, पशुपंक्षीजन्य प्राकृतिक प्रकोप, महामारी नियन्त्रणका लागि तयार रहने, विभिन्न फर्म तथा पशुपालक कृषकहरुको ब्यवस्थित, गुणस्तरीय र दीगो जिविकोपार्जनका लागि एकीकृत ब्यवसाय प्रणाली अवलम्बनमा जोड दिने भएको छ । यस्तै दूग्ध पदार्थ र मासुको स्वच्छताका लागि ‘वधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ र ‘गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ दूध’ नीति विस्तार गर्ने र पशुजन्य उत्पादनको गुणस्तर सुधारका लागि चिस्यान केन्द्र निर्माण तथा मासुपसलको गुणस्तर सुधारमा पहल गर्ने नीति लिएको छ ।

सहकारी तर्फ :–

याङवरक गाँउपालिकाले आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारीको माध्यमबाट स्थानीय स्रोत, साधन, श्रम, शीप र पुँजी परिचालन गर्ने, सहकारीहरुसँग सहकार्ग गरी कृषि, पर्यटन, उद्योग, उर्जा लगायत क्षेत्रमा लगानी गर्ने, ‘टोल टोलमा सहकारी, घर घरमा रोजगारी’ भन्ने नाराका साथ प्रत्येक टोलमा सहकारीको विस्तारमा जोड दिने, सहकारीमा बचत तथा ऋणसम्बन्धी मापदण्ड बनाउने, सहकारीहरुलाई प्रविधिमैत्री बनाउने, सहकारीहरुको क्षमता अभिवृद्धिमा सघाउ पु¥याउने गाँउपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

वन तथा भू–संरक्षण तर्फ :–

याङवरक गाँउपालिकाले वन जंगलको विस्तार तथा भू–क्षय नियन्त्रणका लागि वृक्षारोपणलाई प्रभावकारी बनाउने, नर्सरी स्थापनामा जोड दिने, वन जंगलको संरक्षण, सदुपयोग र जगेर्नालाई स्थानीयको आयआर्जनसँग जोड्ने, सामुदायिक वन उपभोक्ता समूहहरुको प्रभावकारी परिचालन मार्फत वन क्षेत्र बढाउन जोड दिने, वनफडानी, आगजनी र चोरी निकासी रोक्ने उचित पहल गर्ने, बहुमूल्य जडिबुटी तथा रुखको संरक्षणमा नीति निर्माण गरी अघि बढ्ने नीति लिएको छ ।

संस्थागत विकास र सेवा प्रवाह तर्फ :–

याङवरक गाँउपालिकाले गाँउपालिकाको केन्द्रमा ‘क’ वर्गको प्रहरी चौकी स्थापनाका लागि पहलगर्ने, प्रत्येक वडामा प्रहरी चौकी स्थापना र प्रहरी चौकीहरुलाई मजबुद बनाउन पहल गर्ने, प्रहरी चौकीको भौतिक पूर्वाधार विकासमा जोड दिने, सीमा सुरक्षाका लागि पहल गर्ने, सामुदायिक सेवा केन्द्रलाई मजबुद बनाउन पहल गर्ने नीति लिएको छ ।

याङवरक गाँउपालिकाले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गर्ने, गुणस्तरीय जनशक्ति उत्पादनका लागि पहल गर्ने, आन्तरिक बजारको मागअनुसार ब्यवसायिक एवं शीपमुलक तालिम सञ्चालन गर्ने, गाँउपालिका तथा वडामा उपयुक्त भौतिक पूर्वाधार तयार गरी सेवा प्रवाहलाई अझै सहज बनाउने नीति लिएको छ ।

यस्तै नवीनतम प्रविधिको अधिकतम प्रयोगमा जोड दिने, सेवा प्रवाहलाई छिटो छरितो बनाउन इमेल इन्टरनेटको प्रयोग गर्ने, गाँउपालिकामा भएका काम कारबाहीलाई पारदर्शी बनाउन सञ्चारकर्मीसँग समन्वय गरेर प्रकाशन प्रशारण गर्ने, गाँउपालिकाको वेवसाइटलाई थप ब्यवस्थित गर्ने, इ–हाजिरीलाई थप विस्तार गर्ने, फ्रि वाइफाई जोन बनाउने, जनप्रतिनिधिहरुलार्य प्रविधिमैत्री बनाउने, गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको पोष्टर, पम्प्लेट, पोष्टकार्ड निर्माण गर्ने, विद्युतीय आवेदन प्रणालीमा जोड दिने, विद्यालयमा प्रविधिको प्रयोगमा सघाउ पु¥याउने नीति लिएको छ । यस्तै पुराना घटनाहरुलाई समेत डिजिटल बनाउने, घरधुरी तथ्याङ्क अद्यावधिक गर्ने गाँउपालिकाको नीति छ ।

याङवरक गाँउपालिकाले मुख्य पर्यटकीय स्थलहरुबारे अध्ययन गर्ने, सामाजिक आर्थिक विकासका लागि सम्भावित क्षेत्रहरुको पहिचानका लागि अध्ययन गर्ने, अनुसन्धानसम्बन्धी दक्षता अभिवृद्धिमा सघाउ पु¥याउने, एक गाँउ एक उत्पादनको नीति लिँदै गाँउपालिका भित्र लोक्ता, जडिबुटी, तरकारी, फलफूल, दूग्ध उत्पादन, पशुपालन, कृषि उपज उत्पादनको सम्भावनाको अध्ययन गर्ने, गाँउपालिका भित्रका आम क्षेत्रहरुको अध्ययन गर्ने, कागज, सस, जुश र डेरी उद्योग स्थापनाका लागि सम्भाब्यता अध्ययन गर्ने नीति लिएको छ ।

यस्तै गाँउपालिकाका गतिविधि गाँउपालिकावासीलाई सूसुचित गर्ने, सार्वजनिक नीति निर्माण, निर्णय र योजना निर्माणमा सरोकारवालाको सहभागिता गराउने, सबै पक्षको उत्तरदायित्व अभिवृद्धिमा जोड दिने, सेवा प्रवाहलाई आधुनिक बनाउने प्रयत्न गर्ने, सार्वजनिक गतिविधिबारे नागरिकलाई सूसुचित गर्ने, सार्वजनिक आयलाई पारदर्शी बनाउने, विकास कार्यमा सरोकारवालालाई जिम्मेवार बनाउने, गाँउपालिका तथा वडा कार्यालयको सेवालाई सहज, चुस्त दुरुस्त, सेवाग्राहीमैत्री बनाउन जोड दिने, न्यायिक समिति र मेलमिलापकर्तालाई न्याय सम्पादनका लागि सघाउ पु¥याउने, सामाजिक परीक्षणमा जोड दिने, अनुगमनलाई अझै प्रभावकारी बनाउने, आन्तरिक लेखा परीक्षणलाई अझै प्रभावकारी बनाउने, नागरिक अनुगमन तथा तेश्रो पक्ष अनुगमनमा जोड दिने, सार्वजनिक सुनुवाई कार्यक्रमको विस्तार र प्रभावकारितामा जोड दिने नीति लिएको छ ।

युवा तथा रोजगारतर्फ :–

याङवरक गाँउपालिकाले प्राविधिक शिक्षा र क्षमता अभिवृद्धिबाट उद्यमशीलता विकास गर्ने, समाजमा विभिन्न तवरले योगदान पु¥याएका युवाहरुलाई प्रोत्साह गर्ने, गाँउपालिकामै रोजगारीका अवसर सिर्जना गर्ने, युवा स्वरोजगार कोषलाई प्रभावकारी रुपमा परिचालन गर्ने, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउन तालिम र परामर्श दिने नीति लिएको छ ।

यस्तै पम्परागत पेशाको प्रवद्र्धन गर्दै आधुनिक पेशामा रुपान्तरण गर्ने, उत्पादित सामग्रीको बजार पहुँचको ब्यवस्था गर्ने र यस्तो पेशामा आवद्ध युवाहरुलाई प्रोत्साहन एवं सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्ने, समाज रुपान्तरण र परिवर्तनमा युवाहरुलाई सामेल गराउने, विकास निर्माणको सम्पूर्ण प्रकृयामा युवाहरुको सहभागिता प्रवद्र्धन गर्ने, खेलकुदका कार्यक्रममा आकर्षित गर्ने, समाज र राष्ट्रप्रति उत्तरदायी भावनाको विकास गर्ने नीति लिएको छ । यसैगरी युवाहरुलाई लोकसेवा आयोगको परीक्षा तयारी कक्षा सञ्चालन गर्ने, गाँउपालिकाको रोजगार सेवा केन्द्रलाई सुदृढ बनाउने, रोजगारी सेवासम्बन्धी सम्पूर्ण सूचना र शिक्षा उपलब्ध गराउने नीति गाँउपालिकाले लिएको छ ।

जेष्ठ नागरिक तर्फ :–

याङवरक गाँउपालिकाले जेष्ठ नागरिक स्वयंले प्राप्त गर्नका लागि सामाजिक सुरक्षा भत्तालाई बैङ्किङ गर्ने, स्वास्थ्य केन्द्रहरुमा जेष्ठ नागरिकको उपचार शुल्कमा छुट गर्ने, जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालन गर्न प्रोत्साहन गर्ने, विशेष जोखिममा रहेका जेष्ठ नागरिकहरुका लागि राहत तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ नागरिक सम्मान र समुदायसम्म सचेतना कार्यक्रम सञ्चलन गर्ने, सार्वजनिक भवन तथा भौतिक संरचनाहरुलाई जेष्ठ नागरिकमैत्री बनाउने नीति लिएको छ ।

अपाङ्गता तर्फ :–

याङवरक गाँउपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार संरक्षणर सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, पूर्वाधार र सेवालाई अपाङ्गमैत्री बनाउने, अपाङ्गताको प्रकृति हेरी उपयुक्त हुने शीपमुलक तालिम सञ्चालन गर्ने, अपाङ्गता भएका ब्यक्तिहरुको पालनपोषणमा ध्यान दिन परिवारका अन्य सदस्यलाई अभिप्रेरित गर्ने, अपाङ्गता परिचयपत्रलाई सर्वसुलभ बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामाजिक सुरक्षा तर्फ :–

याङवरक गाँउपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई सहज बनाउने, सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउने, विपन्न, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई आधारभूत शिक्षा तथा स्वास्थ्य सेवाहरु निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

याङवरक गाँउपालिकाले शीर्षकविहीन विभिन्न अन्य नीतिहरु समेत तय गरेको छ । गाँउपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाँउपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने, गाँउपालिका भित्रका मुख्य बजारहरुलाई ब्यापारिक केन्द्रको रुपमा विकास गर्ने, भारतको सिक्किम, दार्जिलिङसँग ब्यवस्थित ब्यापारका लागि पहल गर्ने, गाँउपालिकाका सबै कार्यक्रमलाई गरिबी निवारणसँग जोड्ने, जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास एवं नवीनतम ज्ञान, शीप र प्रविधि सिक्नका लागि अवलोकन भ्रमण गराउने, स्वदेशी तथा विदेशी तालिममा सहभागी हुँदा जनप्रतिनिधिहरुका लागि विशेष ड्रेस कोड तोकी सोही बमोजिमको पोशाकको प्रवन्ध गर्ने नीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्