छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु



फिदिम, २२ मङ्सिर

हिँजो प्रदेश नं. १ मा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

खोटाङको हलेशी तुवाचुङ नगरपालिका–१० बिजुलेधाप स्थित हलेशी दिक्तेल सडकखण्डमा अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा अटोचालकको घटनास्थलमै मृत्यु भएको छ । बिजुलेबाट दिक्तेलतर्फ आउदैँ गरेको को.२ ह ८३४६ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने बर्ष ३१ को टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थितमा प्लम्बर काम गर्ने क्रममा बन्दै गरेको २ तले नयाँ घरबाट लडेर १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा छिमेकी नर्सिङ लिम्बूको घरमा प्लम्बरको काम गर्न गएका बर्ष–४५ को श्यामकुमार रिजाल लडेर घाइते भएपछि उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा साढे ४ बजेको समयमा मृत्यु भएको हो ।

झापाको कमल गाउँपालिका–७ बाह्रघरे चोक स्थित पाडाजुगी गौरीगञ्ज भित्री सडकखण्डमा मोटरसाइकलमा सवार १ जनाको लडेर मृत्यु भएको छ । साढे ११ बजेको समयमा गरेको मे.११ प. १२२९ नम्बरको मोटरसाइकलमा स्थानीय ५२ बर्षिय तुलसीराम धिमाल र उनकी श्रीमती बर्ष ५३ की ज्ञानदेवी धिमाल उतरबाट दक्षिणतर्फ जाँदै गर्दा ज्ञानदेवी धिमाल मोटरसाइकलबाट लडेर घाइते भई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका–३ रातापानी सालबारीमा भर्याङबाट लडेर १ जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजेको समयमा आफ्नै घरको भर्याङबाट लडेर २७ वर्षीय जितेन्द्र चाम्लिङ राई गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्