प्रदुषण न्यूनिकरणका लागि हेंवा घाटमा फोहोर जलाउन मिल्ने डस्विन



फिदिम, २१ मङ्सिर

बढ्दो वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न फिदिम नगरपालिका वडा नं. ४ स्थित हेंवा घाटमा फोहोर जलाउन मिल्ने डस्विन राखिएको छ ।

ग्रीन इन्टरनेशनल क्लब पाँचथरले रु. ६८ हजारको लागतमा उक्त डस्विन राखेको हो । बढ्दो जनसंख्याका कारण हेंवा घाटमा शव दहन गर्ने संख्या बढिरहेको छ । जसकारण फोहोरमैला र प्रदुषण समेत बढिरहेको छ । जलाउन मिल्ने फोहोर समेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदुषण बढेको पाइएपछि फोहोर जलाउन मिल्ने फलामको डस्विनको ब्यवस्था गरिएको ग्रीन इन्टरनेशनल क्लबका मिलन विश्वकर्माले जानकारी दिनुभयो ।

हेंवा घाट र घाट नजिकै खाजा बाँढ्ने स्थानमा एक÷एक वटा डस्विन तथा सूचना पाटी स्थापना गरिएको हो । शनिवार विहान आयोजित कार्यक्रममा क्लबले यी सामग्री फिदिम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश गुरुङलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेवेले युवाहरुले रुपान्तरण र सुधारका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ग्रीन इन्टरनेशनल क्लबले पाँचथरमा स्थानीय स्तरका समस्या समाधान, मानवीय सहयोग तथा जागरणका काम गरिरहेको पाइएको भन्दै सभापति थेबेले खुसी ब्यक्त गर्नुभयो ।
गत दीपावलीमा देउसी भैलो खेलेर सङ्कलित रकमबाट उक्त डस्विनको प्रवन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेको भनाई छ । यो क्लबले पाँचथरमा ‘जिवित रगत बैङ्क’ स्थापना गर्न लागेको जनाएको छ ।

हेंवा घाटमा सरकारी लगानीविना नै यहाँ नागरिक तथा जातीय संघ संस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् । घाटमा पूर्वाधार निर्माणमा सक्रिय हेटनारायण श्रेष्ठका अनुशार यहाँ शव जलाउने घाट नेवा दय दबु पाँचथरले निर्माण गरेको छ भने मलामी बस्ने चौतारो नेपाल मगर संघ पाँचथरले निर्माण गरेको छ । समाजसेवी मित्रप्रसाद काफ्लेले यहाँ स्वच्छ खानेपानीको प्रवन्ध मिलाउनुभएको । दैनिक प्रयोग हुने घाटमा पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया दिनुहोस्