सरकारले जेष्ठ नागरिकको सम्मानपूर्वक बाच्ने अधिकार स्थापित गर्छः उपसभामुख



झापा, २० मङ्सिर

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले जेष्ठ नागरिकको हकहितको रक्षा र सम्मान पूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागि परेको वताउनुभएको छ ।

जेष्ठ नागरिकको हक अधिकारलाई समेटेर विधेयक ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउँदै उहाँले जेष्ठ नागरिकको हक अधिकार संविधान, ऐन नियममा भएपनि जेष्ठ नागरिकलाई खुसी दिने पहिलो ठाउँ घर भएकाले सबै घरका जेष्ठ नागरिकको खुसीका लागि छोराछोरीको सबै भन्दा ठूलो कर्तव्य र भूमिका हुने हुँदा सोहि अनुरुपको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी बुद्धशान्ति–१ झापाले शुक्रबारबाट सुरु गरेको ब्रम्हाण्ड महापुराण तथा जेष्ठ स्तम्भ अनावरण कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले नेपालको संविधानमा नै जेष्ठ नागरिकले सम्मान पूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेकाले त्यसलाई थप व्यवस्थित बनाउन ऐन नियम निर्माण भइरहेको जानकारी दिनुभयो ।

उपसभामुख तुम्बाहाम्फेले कतिपय घरपरिवारमा जेष्ठ नागरिकले दुःख पाइरहेको जानकारी पाउँदा आफ्नो मन दुखेर आउने बताउँदै अहिले आफूले गर्ने व्यवहार पछि आफूलाई छोराछोरीले गर्ने हुँदा जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जेष्ठ नागरिकका क्षेत्रमा काम गर्ने संघ संस्थाले जेष्ठ नागरिकका ज्ञान, शीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नेगरिका कार्यक्रम तय गरेर सोही अनुरुप चल्न पनि अनुरोध गर्नुभयो ।

उपसभामुख तुम्बाहाम्फेले जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीलाई आप्mनो तर्फबाट सहयोगको प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले प्रत्येक शनिबार चौतारीमा भेला हुने जेष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्न प्रयास गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि शंकराचार्य साङबेद गुरुकुल साधुटारका संस्थापक पं. केदारनाथ खतिवडा, झापा क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल, जेष्ठ नागरिक संघ झापाका उपाध्यक्ष हरि ओली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साहरा नेपाल सामाजिक व्यक्तित्व महावीर अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

बुद्धशान्ति गाउँपालिका, वडा नम्बर १, जेष्ठनागरिक तथा अपाङ्ग भेटघाट चौतारी, स्थानीयको सकृयतामा जेष्ठ नागरिक स्तम्भ निर्माण गरिएको जेष्ठ नागरिक स्तम्भ निर्माण समितिका अध्यक्ष विभिषण वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्