यस्तो छ दुनियाको मन जितेको भारतको इन्काउण्टरको घट्ना



फिदिम, २० मङ्सिर

भारतमा १५ दिन अघि भएको बलात्कार र हत्याको घटना आज आइपुग्दा भारतीय चलचित्र जस्तै बनेको छ । र, यहाँ नायक बनेको छ भारतीय प्रहरी । भारतीय प्रहरीले एक पशु चिकित्सकको बलात्कार र जिउँदै जलाएर मार्ने घटनामा सम्लग्नहरुलाई गोली हानी हत्या गरेको छ । घटनालाई प्रहरीले ‘इन्काउन्टर’ भनेको छ ।

भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको हो । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो ।

ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो । शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो ।

घटनास्थलमा पुगेपछि ती अभियुक्तले प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा दुई जना प्रहरीहरू पनि घाइते भएको जनाइएको छ । गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो ।

घटना के भएको थियो ?

हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन् । उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो । त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रहेछ । रात परिसकेको थियो । नजिकै वर्कसप थिएन । उनी त्यहीँ अड्किएकी थिइन् ।

प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए । उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो । उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन् । भनिन् “म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु ।”

केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो । छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी थाल्यो । रातभरि केही पत्ता लागेन ।

बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए । प्रहरी घटनास्थलमा पुग्यो । त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो ।

घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए । प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए ।

अन्ततः प्रहरीले इन्काउन्टरको नाममा बलात्कार र हत्यामा सम्लग्नलाई गोली हान्यो । कतिपयले मानवअधिकारको कुरा उठाएपनि धेरैले भारत लगायत दक्षिण एसियामा बढ्दो बलात्कार र यौन हिंसाका लागि प्रहरी क्रुर बन्नुपर्ने धारणा सामाजिक सञ्जालनमा ब्यक्त गरेका छन् ।

यस घटनाको भारतभर विरोध प्रर्दशन भएको थियो । सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो । संसदमा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई सजाय दिनुपर्ने समेत टिप्पणी गरेकी थिइन् । संसदमै फाँसी दिनुपर्ने भन्दै कुरा उठेको थियो ।

तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाको सुरक्षित नभएको चिन्ता व्यक्त गर्दै पक्राउ परेका चारै अभियुक्तलाई फाँसी दिनुपर्ने बताएकी थिइन् । उता रक्षामन्त्री राजनाथ सिंहले समेत यस किसिमको घटनाले लज्जित बनाएको बताएका थिए ।

चार अभियुक्तको प्रहरी कारबाहीमा मारिएपछि मृत महिलाकी बहिनीले प्रहरीको यो इन्काउन्टर उदाहरण बन्ने प्रतिक्रिया दिएकी छन् । युवतीका पिताले पनि प्रहरी इन्काउन्टर उचित रहेको बताउँदै भनेका छन् ‘तिलंगना सरकार, पुलिस र मेरो साथमा उभिने सबैलाई धन्यवाद ।’

रक्सी पिएर यी चार अभियुक्तहरुले ती महिलालाई सात घण्टासम्म बलात्कार गरेका थिए । मारिएका चारै जना ट्रक ड्राइभर हुन् । एक जनाको उमेर २६ वर्ष छ भने बाँकी तीनै जना २० वर्षभन्दा मुनिका छन् । भारतमा बलात्कारका घटना डरलाग्दो रुपमा देखापर्दै आएका छन् । उत्तर प्रदेशमा गत मार्चमा बलात्कार भएपछि उजुरी दिन अदालत जान लागेकी महिलामाथि आगो लगाइएको थियो । उनी अहिले अस्पतालमै उपचाररत छिन् ।

सन् २०१२ को डिसेम्बरमा दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएको थियो । सन् २०१७ को तथ्याङ्क अनुसार भारतमा दैनिक ९२ वटा बलात्कार घटना सार्वजनिक हुने गरेका छन् । २०१७ मा मात्रै ३३ हजार ६ सय ५८ वटा बलात्कार घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्