फाक्तेप युथ क्लबद्वारा रु. पाँच लाख सहयोग सङ्कलन



युद्धबहादुर बोहोरा
घुर्विसेपञ्चमी, २० मङ्सिर

हरेक क्षेत्रमा सहयोग गर्दै आएको फाक्तेप युथ क्लबले लिलामाया नेम्बाङ चेम्जोङको उपचार खर्चको लागि पाँच लाख १४ हजार छ सय २० रुपैयाँ सङ्कलन गरेको छ ।

क्लबको सकृयतामा जम्मा गरिएको रकम फाल्गुनन्द गाँउपालिका वडा नं. ५ निवासी ३७ वर्षीया चेम्जोङको उपचारका लागि हस्तान्तरण गरिएको क्लब अध्यक्ष पञ्च कुमार चेम्जोङले जानकारी दिनुभयो । २०७६ साल असार ३ गते विरामी भएकी नेम्बाङलाई विर्तासिटी अस्पताल विर्तामोड झापाले रेफर गरेपछि त्रीवी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पु¥याइएको थियो ।

शिक्षण अस्पतालमा गत असार ३१ गते न्यूरो सर्जन डा.अमित प्राधानाङ्गको अप्रेसन टिमले ‘हेड इन्ज्युरी’ को अप्रेसन गरेर चेम्जोङको स्वास्थ सुधार भएको छ । आर्थिक अवस्था कम्जोर भएको उनको परिवारले नौ लाख भन्दा बढी रुपैयाँ जम्मा गर्न मुस्किल परेका कारण सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको स्थानीय सामाजिक अभियान्ता केबी चेम्जोङले वताउनुभयो ।

चेम्जोङको उपचारमा सहयोगका लागि कोरियाबाट राजकुमार चेम्जोङ, अइन्द्र चेम्जोङ र भीमराज चेम्जोङको पहलमा दुई लाख रुपैयाँ, कतारबाट अर्जुन चेम्जोङको पहलमा १५ हजार दुई सय ५० रुपैयाँ साथै मलेसियाबाट अरुण चेम्जोङ र मित्र चेम्जोङ ‘मिक्सन’ को पहलमा ७४ हजार चार सय रुपैयाँ र स्थानीय स्तरमा समेत सहयोग सङ्कलन गरिएको क्लबका अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो ।

त्यस्तै, क्लबले स्थानीय मुटु रोगी १५ वर्षीय आयुस राईको मुटुको अप्रेसन भइरहेको हुँदा उनको उपचार खर्चका लागि दुई लाख रुपैयाँ गरिसकेको छ । अझै विरामीहरुको उपचार खर्च आवश्यक परेको हुँदा इच्छुकले क्लब मार्फत सहयोग गर्न आग्रह गर्दै जम्मा भएको रकम सदुपयोग गरिने क्लबको प्रतिवद्धता छ ।

‘एकीकृत विकासको अभियान’ को नाराका साथ अघि बढेको यस क्लबले खेलकुद, सामाजिक कार्य, विकास निर्माणका काम, दैवीप्रकोप, अनाथ, अपाङ्ग, कमजोर आर्थिक अवस्थाका परिवारलाई सहयोग तथा उपचार खर्च लगायतमा हातेमालो गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्