चेलीहरु छाएको दिन



फिदिम, २० मङ्सिर

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गतको पाँचौ दिनको स्वर्णको खाता नेपालले बिहीबार महिला खेलाडी निमा घर्तीमगरको स्वर्णबाट खोलेको थियो । त्यसपछि दिनभरि नेपालले ७ स्वर्ण जित्दा नेपाली चेलीहरु छाइरहे । जसमा ५ स्वर्ण महिला खेलाडीकै नाममा रहे ।

१) निमा घर्तीमगरः लगातार दुई स्वर्णको इतिहास

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा उसुअन्तर्गतको थाउलोको महिला नान्दोमा कूल १८.९१ अङ्क जोड्दै निमाले बिहानै नेपाललाई स्वर्ण दिलाइन् । यो उनको सागमा लगातार दोस्रो स्वर्ण पनि हो । यसअघि सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन । उसुमा लगातार सागमा दुई स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडी समेत बनिन ।

जितपछि निमाले भनिन् “एकदम खुशी लागिरहेको छ । पछिल्लो पटक भारतमा जितेको थिएँ । यसपटक नेपालमै परिवार, साथीभाईको अघि जित्न पाएँ । यसले अझै राम्रो गर्दै जाने प्रेरणा मिलेको छ ।’

२) लक्ष्मी मगरः पहिलो स्वर्ण

साइक्लिङमा अघिल्लो दिन नै नेपालले दुई स्वर्ण जितिसकेको थियो । बिहीबार साइक्लिङमा तेस्रो स्वर्ण जिताइन लक्ष्मी मगरले । काठमाडाँैको गोकर्णमा बिहीबार क्रस कन्ट्रीको चार किलोमिटर दूरी १ मिनेट २०.२० सेकेण्डमा पार गर्दै उनले स्वर्ण जितेकी थिइन । यो उनको सागको पहिलो सहभागितामै स्वर्ण थियो ।

यो स्वर्णसँगै यसपटक नेपालले आठौं सागमा हालसम्मकै सर्वाधिक ३१ स्वर्ण जितेको कीर्तिमानको बराबरी गरेको थियो । अघिल्लो दिन बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा पनि नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए । लक्ष्मीकै विधामा नेपालकी उषा खनालले बिहीबार नै रजत पदक जितेकी थिइन । उनले १ मिनेट ३५.५२ सेकेण्डमा दुरी पूरा गरेकी थिइन ।

३) गौरिका सिंह, खेलमै पहिलो व्यक्तिगत स्वर्ण

गौरिकाले बिहीबार हात पारेको स्वर्ण नेपाली पौडीको ऐतिहासिक स्वर्ण थियो । उनले नेपाली पौडीको अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पहिलो एकल स्पर्धामा स्वर्ण जितेकी थिइन । सातदोबाटोस्थित पौडी पोखरीमा उनले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै इतिहास रचेकी हुन् ।

“सबैजनाले हुटिङ गरेको देख्दा मेरो त सातो उड्यो । ओलम्पिक जस्तो अनुभव भयो” स्वर्ण जितेपछि गौरिकाले भनिन् “जहिलेपनि प्रतिस्पर्धामा उत्रिदा गाह्रो नै हुन्छ । तपाईले आफ्नो सक्दो राम्रो मात्रै गर्नसक्ने हो । आज मैले मेरो राम्रो गर्न सकेँ त्यसमा खुशी छु ।”

खुशीसँगै उनको मन दुखाई पनि थियो । बेलायतै आमाबुबासँग बस्दै आएकी उनलाई कतिले नेपाली नै हैन् भन्ने पनि उनले सुनेकी रहिछन् । राष्ट्रिय गान बज्दा आँशु झारेकी गौरिकाले भनिन् “धेरैमान्छे तिमी नेपाली हैन भन्छ । तर म त नेपाली हो यो मेडल नेपाललाई हो । यो मेडल नेपाललाई समर्पित गर्न चाहन्छु ।”

४) सन्जु चौधरीः खेलमै पहिलो स्वर्ण जित्ने महिला

भारोत्तोलनकी सञ्जु चौधरीले बिहीबार यस खेलमा पहिलो स्वर्ण जित्ने महिलाको इतिहास रचिन । महिला ५९ केजी तौल समूहमा सञ्जु श्रीलङ्काले खेलाडीलाई पछि पार्दै स्वर्ण जितिन । सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ) सहित स्वर्ण जितेकी हुन् ।

एक वर्षअघि मात्र नेपाल प्रहरीमा प्रवेश गरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेकी हुन् । साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो । यसअघि दशौँ संस्करणको कमलबहादुर अधिकारीले जितेको स्वर्ण सागमा नेपालले भारात्तोलनमा जितेको एकमात्रै स्वर्ण थियो ।

यस्तै भारोत्तोलनमा नै सङ्गीता राईले कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरिन । उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको कीर्तिमान भङ्ग गरेकी थिइन । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी थिइन ।

यसअघि छनोट चरणमा करिनाले नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको राष्ट्रिय कीर्तिमान राखेकी थिइन । जुन संगिताले भंगल गरिन ।

५) जुनु राईः पहिलो स्वर्ण

उसुको महिला स्पर्धामा नेपालकी जुनी राईले अर्को स्वर्ण पदक हासिल गरिन । उनले उसुको सान्सौंतर्फ ५६ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । फाइनलमा जुनीले श्रीलङ्काकी मधुमलीलाई २–० अङ्कले पराजित गर्दै उसुबाट पाँचौ स्वर्ण दिलाइन । त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जितेकी थिइन ।

६) सावित्रा भण्डारीः नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल

नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले बिहीबार नेपालका लागि सर्बाधिक गोलकर्ताको बनेर इतिहास रचिन । पोखरा रंगशालामा बिहीबार भएको खेलमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गोल गर्दै उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

सावित्राले पूर्वकप्तान अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ३८ पुर्याएकी छिन् । कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने सावित्राले बताइन ।

उनले भनिन् “मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।” (नेपालखवरबाट)

प्रतिक्रिया दिनुहोस्