कुरुम्बामा सुन्तला महोत्सव



फिदिम, २० मङ्सिर

सुन्तला उत्पादक कृषकहरुलाई ब्यवसायिक बनाउने तथा सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ५ कुरुम्बामा आजबाट सुन्तला महोत्सव सुरु भएको छ ।

महोत्सवको प्रदेश नं. १ प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले उद्घाटन गर्नुभयो । सुन्तला खेतीमा रोग किराको प्रकोप बढिरहेका बेला सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव तीन दिनसम्म चल्ने मिक्लाजुङ गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष अविसन लावतीले जानकारी दिनुभयो ।

कुरुम्बामा पाँच दर्जन बढी घर परिवारले ब्यवसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अधिकांशले सुन्तलाबाट वर्षेनि लाखौँ आम्दानी गर्ने गरेका छन् । यहाँ ब्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पु¥याएर विक्री गर्ने गरेका छन् । जिल्लाका अधिकांश स्थानमा आंशिक रुपमा सुन्तला उत्पादन हुने भएपनि कुरुम्बामा भने सघन रुपमा उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्