अध्यक्ष कुरुम्बाङको पहिलो निर्णयः फाल्गुनन्द भाषा शिक्षालय सञ्चालन, आवधिक योजना र भवन निर्माण



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १८ मङ्सिर

पाँचथरको फाल्गुनन्द गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले बुधवार पदभार ग्रहण गर्नुभएको छ ।

गाँउपालिकाको कार्यालय घुर्विसेपञ्चमीमा आयोजित कार्यक्रममा उहाँले पदभार ग्रहण गर्नुभएको हो । यसअघि उहाँले बुधवार नै जिल्ला न्यायाधीश एवं उपनिर्वाचनका मुख्य निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईबाट पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै गाँउपालिका अध्यक्ष कुरुम्बाङ महत्वपूर्ण पाँच वटा निर्णयहरु गर्नुभएको छ । उहाँले दुई वर्ष भित्रमा गाँउपालिकाको प्रशासकीय भवन निर्माण गर्ने निर्णय गर्नुभएको छ । गाँउपालिकाको कार्यालय अहिले घुर्विसेपञ्चमी माध्यमिक विद्यालयको भवनमा सञ्चालित छ ।

अध्यक्ष कुरुम्बाङले फाल्गुनन्द गाँउपालिकामा मातृभाषा शिक्षा सञ्चालनमा लागि मातृभाषा शिक्षकहरु उत्पादन गर्न फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । विगतमा फाल्गुनन्दमा मातृभाषा शिक्षक नियुक्ती प्रकृया कानूनसम्मत हुन नसकेको भन्दै ब्यापक विरोध भएको थियो । अध्यक्ष कुरुम्बाङले मातृभाषा शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं ब्यवस्थित गर्न पद वहालीकै दिन उक्त निर्णय गर्नुभएको छ ।

अध्यक्ष कुरुम्बाङले छ महिनाभित्र फाल्गुनन्द आवधिक योजना निर्माण गर्ने निर्णय पनि गर्नुभएको छ । पाँचथरको याङवरक लगायत स्थानीय तहहरुले आवधिक योजना निर्माण गरिसके पनि यहाँ आवधिक योजना निर्माण हुन सकेको थिएन् । पूर्वाधार विकासको कार्यलाई ब्यवस्थित, दीर्घकालीन एवं स्थानीयवासीको आवश्यकता र हितअनुकुल बनाउन तत्कालै आवधिक योजना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको अध्यक्ष कुरुम्बाङको भनाई छ ।

यस्तै पद बहालीकै दिन अध्यक्ष कुरुम्बाङले गरिबी निवारण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । उहाँले कृषि, उद्योग, ब्यापार र पर्यटन प्रवद्र्धन गर्दै सरकारी, गैरसकारी, निजी तथा सहकारीसँगको साझेदारीमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको हो । यसैगरी समावेशीकरण, लैङ्गिक समानता, सुशासन, सूचना प्रविधिको उपयोग मार्फत प्रभावकारी सेवा प्रवाहमा जोड दिने निर्णय समेत अध्यक्ष कुरुम्बाङले गर्नुभएको छ ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष कुरुम्बाङले फाल्गुनन्द गाँउपालिकाका दिवङ्गत अध्यक्ष अमरकुमार नेम्वाङको स्मरण समेत गर्नुभएको छ । नेम्वाङको दुःखद् निधनपछि कानूनी अड्चनका कारण आफू गाँउपालिका अध्यक्ष बनेको भन्दै अध्यक्ष कुरुम्बाङले दिवङ्गत नेम्वाङको स्मरण गर्नुभएको हो । अध्यक्ष कुरुम्बाङले जनतालाई सुखी बनाउने र फाल्गुनन्दलाई समृद्ध बनाउने कार्यमा सहकार्य तथा सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्