फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङको शानदार विजय



फाल्गुनन्द खवर सम्वाददाता
घुर्विसेपञ्चमी, १६ मङ्सिर

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ ।

आइतवार राती २ बजे सकिएको मतगणनाअनुशार कुरुम्बाङले ५३६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गर्नुभएको छ । कुरुम्बाङले ८०६ मतको अन्तरले विजय हाँसिल गर्नुभएको हो ।

यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा १७९ मत बदर भएको निर्वान अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपनिर्वाचन भएको हो । यसअघि नेपाली काँग्रेसले जितेको यस गाँउपालिकाका साविकका धेरै गाविसहरुमा विगतमा काँग्रेस र राप्रपाको वर्चस्व हुने गरेको थियो । काँग्रेसको गढ मानिएको फाल्गुनन्दमा नेकपाका कुरुम्बाङले शानदार विजय हाँसिल गरेसँगै नेकपा यहाँ नयाँ उचाईमा पुगेको छ ।

कुरुम्बाङ विजयी हुनुपूर्वदेखि नै नेकपाका कार्यकर्ताहरुले कठ्याङ्ग्रिदो जाडोमा घण्टौँदेखि नाराबाजी गर्दै हर्षोल्लास मनाइरहेका छन् । उनीहरुले ‘नेपाल कम्युनिष्ट पार्टी, भत्ता दिने पार्टी, बुढेसकालको साथी, बुढो रुख ढालियो’ जस्ता नारा लगाएका छन् ।

२०२४ बैशाक २७ गते पाँचथरको आङसराङ गाविसमा स्व. बुवा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराको रुपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको थियो । तीन बहिनी र एक भाईका दाजु कुरुम्बाङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । २०५२ सालमा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

३ छोरा र १ छोरीका पिता कुरुम्बाङ सरल, मिजासिलो, साहषि र संघर्षशील नेताको रुपमा स्थापित हुनुहुन्छ । कुरुम्बाङलाई निक्कै बोल्ड नेतृत्वको रुपमा हेरिन्छ । सामाजिक, राजनीतिक र आर्थिक रुपमा सवल मानिनुभएका कुरुम्बाङको जीवनको संघर्षको गाँथा भने एकदमै हृदयस्पर्शी र दुःखद् छ ।

उहाँले निर्वाचनका क्रममा सबैलाई मिलाएर लैजाने वताउँदै आउनुभएको छ । भ्रष्टाचार, बेथिति, विकास निर्माण र सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य गर्ने उहाँको दृढ प्रतिवद्धता छ । स्थानीयको आयआर्जन वृद्धि र पूर्वाधार निर्माणमा विशेष जोड दिने कुरुम्बाङको योजना छ ।

प्रतिक्रिया दिनुहोस्