
फिदिम, १५ मङ्सिर
पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वारको अग्रता बढेको छ ।
यस अघिसम्म करीब दुई सय मतले अघि रहेका नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङको अग्रता बढेर ३७२ पुगेको छ । उहाँले तीन हजार ९३७ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले तीन हजार ५६४ मत प्राप्त गर्नुभएको छ । यस्तै समाजवादी पार्टीकी विमला आङदेम्बेले २०८ मत प्राप्त गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले १८० मत प्राप्त गर्नुभएको छ । अन्य दलको मत एक सयभन्दा कम छ ।
अब दुई हजार ७१८ मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएको छ । यहाँ १० हजार ८२३ मत खसेको थियो ।