पाँचथरको फाल्गुनन्दमा नेकपा र काँग्रेसवीच तीब्र प्रतिस्पर्धा



फिदिम, १५ मङ्सिर

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसवीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ६ हजार ४११ मत गणना हुँदा नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले सानो मतान्तरले अग्रता हाँसिल गरिरहनु भएको छ । कुरुम्बाङले हालसम्म तीन हजार ६८ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेस वृजहाङ आङदेम्बेले २ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । दुई प्रतिस्पर्धीवीचको मतान्तर २०७ रहेको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएको छ ।

दुई उम्मेद्वारवीचको अग्रता २ सयको हाराहारीमा कायम रहिरहेको छ । १६ हजार ५७७ जना मतदाता रहेको फाल्गुनन्दमा १० हजार ८२३ मत खसेको थियो । यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले हालसम्म १७२ मत प्राप्त गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले १४३ मत प्राप्त गर्नुभएको । अन्य दलहरुले तीन अङ्कको मत हाँसिल गर्न सकेका छैनन् । यहाँ आज मध्यरात मतगणना सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्