शनिवार उपनिर्वाचनः पाँचथरमा २२ हजार आठ सय मतदाता, २१ जना उम्मेद्वार



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १३ मङ्सिर

शनिवार हुने उपनिर्वाचनमा पाँचथरमा २२ हजार ८५३ जना मतदाता मतदानमा सहभागी हुँदैछन् ।

यहाँको एक गाँउपालिका प्रमुख र दुई वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनमा उक्त संख्यामा मतदाता सहभागी हुन लागेका हुन् । पाँचथरमा फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनका लागि १६ हजार ५७७ जना मतदाता कायम भएका छन । यस्तै उपनिर्वाचन हुन लागेको फिदिम नगरपालिका वडा नं. १ मा तीन हजार ६७६ जना र हिलिहाङ गाँउपालिका वडा नं. ७ मा २ हजार ६०० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

उपनिर्वाचनका लागि मतदान केन्द्रमा आवश्यक प्रवन्ध मिलाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । उपनिर्वाचनका लागि फाल्गुनन्द गाँउपालिकामा १३ मतदान स्थल र १० मतदान केन्द्र गरी २३ ठाँउमा मतदानको ब्यवस्था मिलाइएको छ । यस्तै फिदिम नगरपालिका वडा नं. १ मा एक मतदान स्थल र तीन मतदान केन्द्रको ब्यवस्था गरिएको छ भने हिलिहाङ गाँउपालिका वडा नं. ७ मा तीन मतदान स्थल र एक मतदान केन्द्र कायम गरिएको छ ।

उपनिर्वाचनमा तीन पदका लागि २१ ज्नाले उम्मेद्वारी दिएका छन् । उनीहरु सबै राजनीतिक दलबाट उम्मेद्वार बनेका हुन् । यहाँ कुनैपनि पदमा स्वतन्त्र ब्यक्तिको उम्मेद्वारी छैन् । फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा आठ जनाको उम्मेद्वारी छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ, नेपाली काँङ्ग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा सात जनाले उम्मेद्वारी दिएका छन् । यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई, नेपाली काँग्रेसका सुवराज थापा, समाजवादी पार्टीका गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की कल्पना राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिककी जानुका थाम्सुहाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यही वडामा पाँचथर जिल्लाको सदरमुकाम फिदिम समेत पर्दछ ।

हिलिहाङ गाँउपालिका वडा नं. ७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेद्वारी छ । यहाँ वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गेहनाथ रिजाल, नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलप्रसाद पन्थाक, समाजवादी पार्टीका भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मुक्तिनाथ खनाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

तीन वटै स्थानका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको २०७५ माघ २६ गते निधन भएको थियो । यस्तै फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष हर्कबहादुर मोक्तानको २०७६ साउन ६ गते निधन भएको थियो भने हिलिहाङ गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको २०७४ चैत १६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्