योजनावद्ध विकासलाई अघि बढाउँछु : मन्त्री नेम्वाङ



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १३ मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनावद्ध रुपमा अघि बढाइने वताउनुभएको छ ।

पूर्वाधार निर्माणमा छिटो भन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको वताउँदै मन्त्री नेम्वाङले यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले योजनावद्ध रुपमा विकासका काम अघि बढाउने वताउनुभयो । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला पाँचथर आउनुभएका मन्त्री नेम्वाङले कार्यकर्तासँगको अनौपचारिक भेटघाटका क्रममा उक्त धारणा राख्नुभएको हो ।

मन्त्री नेम्वाङले निर्माण र सुधारका सानादेखि ठूलासम्म योजनाहरु अघि बढाउनुपर्ने दायित्व आफ्नो मन्त्रालयमा रहेको वताउनुभयो । उक्त दायित्वअन्तर्गत नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो । आम नागरिकमा विकासको गति तीब्र हुने अपेक्षा रहेको आफूले महशुस गरेको वताउँदै मन्त्री नेम्वाङले भन्नुभयो “आम नागरिक, मतदाता र पार्टीको अपेक्षा र दिशा निर्देशअनुशार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउनेछु ।”

सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न धेरै चुनौति र अप्ठ्याराहरु रहेको वताउँदै मन्त्री नेम्वाङले यस महान कार्यमा सबै नागरिकलाई सरकारलाई सहयोग गर्नुपर्ने वताउनुभयो । नेकपाका कार्यकर्ताको जगमा सरकार र यो लक्ष्य निर्धारण भएको वताउँदै उहाँले उक्त लक्ष्य प्राप्त गर्न पनि नेकपाकै कार्यकर्ताले अगुवाई गर्नुपर्ने वताउनुभयो । मन्त्री नेम्वाङलाई गृहजिल्ला प पाँचथरको फिदिममा कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्