

फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १३ मङ्सिर
उपनिर्वाचनका क्रममा शनिवार मतदान हुँदैछ ।
पाँचथरमा तीन पदका लागि १७ मतदान स्थलका ३१ मतदान केन्द्रमा मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानका लागि आवश्यक सम्पूर्ण प्रवन्ध मिलाइएको, ब्यवस्थापनको कार्य सम्पन्न भएको र शनिवारबाटै सुरक्षाकर्मी परिचालन गरिएको उक्त कार्यालयले जनाएको छ ।
पाँचथरमा फाल्गुनन्द गाँउपालिकाको प्रमुख, फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष र हिलिहाङ गाँउपालिका वडा नं. ७ को वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा २२ हजार ८५३ जना मतदाता मतदानमा सहभागी हुँदैछन् । पाँचथरमा फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनका लागि १६ हजार ५७७ जना मतदाता कायम भएका छन । यस्तै उपनिर्वाचन हुन लागेको फिदिम नगरपालिका वडा नं. १ मा तीन हजार ६७६ जना र हिलिहाङ गाँउपालिका वडा नं. ७ मा २ हजार ६०० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
मतदान स्थलमध्ये सुरक्षाका दृष्टिले १२ वटालाई अति संवेदनशील, तीन वटालाई संवेदनशील र २ वटालाई सामान्यमा राखिएको छ । निर्वाचनको सुरक्षाका लागि करीब १५ सय जना सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको टोली सुरक्षार्थ खटिनेछ । उपनिर्वाचनमा तीन पदका लागि २१ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । (तस्वीरः मितेरी डटकमबाट ।)