उपनिर्वाचनका लागि यस्तो छ मतदान केन्द्रमा तयारी



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १३ मङ्सिर

शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता आफ्नो अमूल्य मतदानका लागि व्यग्र प्रतिक्षामा छन् ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि ती जिल्लामा तयारी पूरा भएको छ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेको र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा कर्मचारीको खटनपटन भइसकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल पाँच हजार ५३२ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि यसअघि आचारसंहिता लागू भइसकेको छ भने अहिले मौन अवधि जारी छ । यही मङ्सिर ११ गते रातिदेखि मौन अवधि शुरु भएकाले सामाजिक सञ्जालमा समेत प्रचार–प्रसार निषेध गरिएको छ ।

निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी खटनपटन भइसकेको छ । सुरक्षाको तयारी र समीक्षा गर्न आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आज सिंहदरबरमा बैठक सम्पन्न भएको छ । शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।

गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन् । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्या्दित र निष्पक्ष तुल्याउन संविधानविरोधी एवं अराजक गतिविधि हुन नदिन सुरक्षा सतर्कता र कडाइ अपनाइएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ । मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।

निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहनेछ । सुरक्षालगायत अन्य तयारी पूरा गरेको आयोगले मतदातालाई ढुक्क भएर आफ्नो अमूल्य मत मतपेटिकामा रुपान्तरण गर्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्