शून्यबाट उठेको, पसिना र आँशुबाट उत्रिएर उचाईमा पुगेको एक योद्धा



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ११ मङ्सिर

झट्ट हेर्ने वित्तिकै हामी अरुबारे धारणा बनाउछौँ । कसैले कसैको बारे केही भन्दिए त्यही हो भन्छौँ । बाहिर सुनिएका हल्लाका भरमा पनि धारणा बनाउछौँ र भन्छौँ त्यो त यस्तो रहेछ, त्यस्तो रहेछ । हामीले यथार्थ र वास्तविकता पत्ता लगाउँदैनौँ । पत्ता लगाउने प्रयत्न पनि गर्दैनौँ । फेरी हामीले नै थाहा चाँही पाउँदैनौँ, आफूले कसैका बारे धारणा ब्यक्त गर्दा के पीर पर्यो भनेर ।

उपनिर्वाचनको मौन अवधि सुरु हुन केही समय मात्रै बाँकी छ । पाँचथरको फाल्गुनन्द गाँउपालिकामा हुने अध्यक्ष पदको उपनिर्वाचन पूर्वमा विशेष चासोको विषय छ । यहाँ विजय प्राप्त गर्ने विषयलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले प्रतिष्ठाको विषय वनाएका छन ।

यहाँ नेकपाबाट उम्मेद्वार हुनुहुन्छ, ५२ वर्षीय वीरबहादुर कुरुम्बाङ । अहिले धेरैले कुरुम्बाङबारे सकारात्मक र नकारात्मक कोणबाट टिप्पणी गरिरहेका छन् । उहाँले आफ्नो बुताले आज आफ्नो अवस्थालाई सशक्त बनाउनुभएको, चाहे त्यो आर्थिक÷सामाजिक होस्, चाहे राजनीतिक । तर उहाँको यो अवस्थालाई देखिसहन नसकेपछि धेरैले धेरै कुरा गरेका छन् । तर ज–जसलाई वीरबहादुर कुरुम्बाङ जीवन यथार्थ थाहा छ, ऊ एक पटक सोच्छ र आफैँलाई भन्छ वीरबहादुर साँच्चिकै वीर र बहादुर रहेछ भनेर ।

नरबहादुर कुरुम्बाङ छ वर्षको हुँदा बावुको निधन भयो । बावुको निधनपछि आमाले पनि छोडेपछि नरबहादुरले अरुको घरमा बसेर, सर–सहयोग गरेर हुर्किँदै गए । ठूलो भए, गोरु ब्यापार गर्नेहरुलाई सघाएर जीवन चलाए । क्रमशः दुई/चार पैसा कमाए अनि घर गृहस्थीमा प्रवेश गरे । उनै नरबहादुर वीरबहादुर कुरुम्बाङका बुवा हुनुहुन्थ्यो ।

वीरबहादुरको जीवन बाल्यकालदेखि नै संघर्षबाट उठ्यो । वास्तवमा वीरबहादुर शून्य अवस्थाको मान्छे हुनुहुन्थ्यो । न राम्रोसँग पढ्ने अवसर मिल्यो न त खाने लगाउने अवसर नै । उहाँका सहपाठी रहनुभएका संविधानसभा सदस्य ध्रुवराज आङ्देम्बे वीरबहादुरको बाल्यकाल सम्झँदै भन्नुहुन्छ “वीरबहादुर विद्यालयमा एकदमै सानो, कमजोर तर चलाख विद्यार्थी हुनुहुन्थ्यो । सधैँ केही नयाँ काम गरौँ भन्ने, साथीभाईसँग कहिल्यै झै–झगडा नगर्ने, साह्रै इमान्दार र निश्वार्थी प्रकारको मान्छे ।”

घरको जेठो छोरो । बावु रोगी र परिवार चलाउन सहयोग गर्नुपर्ने बाध्यता । ग्रामीण विपन्न जीवन । कुरुम्बाङको जीवन संघर्षको मैदानमा पौठेजोरी खेलेरै अघि बढिरहनु पर्ने थियो ।

भनिन्छ, गरिव भएर जन्मनु अपराध होइन् तर गरिब भएरै मर्नु अपराध हो । वीरबहादुरले आफूलाई यथास्थितिमा राख्न सक्नुभएन् । चलाख मानिस भएका कारण उहाँले सधैँ नयाँ–नयाँ कुराको खोजी गर्नुभयो । विद्यार्थी जीवनदेखि नै बामपन्थी राजनीतिमा झुकाव राख्नुभएका उहाँले कसरी आफ्नो जीवन सहज बनाउने भन्नेतर्फ सोच्नुभयो ।

आज तपाईँ हामीले देखेकै त्यही वीरबहादुर हो, जसले दुई वर्ष त भारी बोकेर आफ्नो जीवन चलायो । “मधुमल्ला र दमकबाट भट्टितेल बोकेर ल्याउँथे । घुर्विसेपञ्चमी, नवमीडाँडा र यासोकमा मट्टितेल बेच्थेँ । अनि दुई÷चार पैसा आम्दानी गरेर परिवार चलाउँथे” कुरुम्बाङले आफ्नो विगत सम्झँदै भन्नुभयो । यसरी भारी बोकेर उहाँले २ वर्ष विताउनुभयो ।

त्यसपछि उहाँले ब्यापार, ब्यवसायमा हात हाल्नुभयो । १० वर्ष भन्दा बढी समय उहाँले खसि, गोरु लगायत पशु चौपायाको ब्यापारमा जीवन वताउनुभयो । पहाडका सबै कुना कन्दराको दुःख र पीडा सहरे आजको वीरबहादुर बन्यो ।

संघर्षको कथा अझै सकिएन् । सडक विस्तार हुन थालेपछि उहाँले ट्याक्टर किनेर कुदाउन समेत पछि पर्नुभएन् । अरु ब्यापार ब्यवसायबाट आम्दानी गर्दै उहाँले २०५७ सालमा ट्रक लिनुभयो । केही समय उहाँले ट्याक्सी पनि कुदाउनुभयो । “मैले धेरै दुःख गरेर आर्थिक अवस्था उठाएपछि सबै कामको अनुभव लिनुपर्छ जीवनमा भन्ने सोचले सकेसम्म र भ्याएसम्म सबै काम गरेँ” कुरुम्बाङले आफ्नो संघर्षपूर्ण जीवन सम्झँदै भन्नुभयो ।

यसपछि उहाँले गोलियाको ब्यापार थाल्नुभयो । गोलियाको ब्यापारबाट आर्थिक अवस्था सुधार गरेपछि उहाँले भेनियर उद्योग स्थापना गर्नुभयो झापामा । बावुलाई सघाउन छोराहरु पनि सक्षम भइसकेका थिए । श्रीमतीले गाँउमा ब्यापार चलाउँथिन् । यो परिवारको अर्को यात्रा सुरु भयो प्लाईउडको उद्योग स्थापना गरेर ।

सुन्दर कमलको फूलपनि कमजोर धरातलकै माथि फूल्छ । अनि त्यसैले दिन्छ सुवास । देखिन्छ अलौकिक र सुन्दर । हो, पसिना र आँशुको सागरमा पौडिएर सगरमाथाको शीरमा पुगेको त्यस्तै सुन्दर, शालिन र सशक्त मान्छे हो, वीरबहादुर कुरुम्बाङ ।

जहाँ पुगोस्, जे–जे गरोस्, पार्टी संगठित सदस्यता लिँदा खाएको सपथ जस्तै वीरबहादुरले मुलुकको परिवर्तन र आफूजस्तै शून्यबाट उठेका र शून्यमा रहेका निमुखाको पक्षमा बोल्न, उनीहरुको हित गर्छु भन्ने पार्टीमा सक्रिय हुन पनि छाडेको थिएन् । गाँउ कमिटीबाट उठ्दै गएको कुरुम्बाङको यात्रा तत्कालीन नेकपा (एमाले)को जिल्ला सचिवालय सदस्य र हालको नेकपाको जिल्ला सचिवालय सदस्यमा पुगेको पनि छ ।

वीरबहादुर कुरुम्बाङ

श्रीमतीको सुन वेचेर होस् वा छिमेकीसँग नुन पैँचो मागेर किन नहोस्, वीरबहादुरको संघर्षको यात्रा कहिल्यै रोकिएन् । कहिल्यै थाकेन् । किनकी उसले समाजमा फूलाउनु थियो, न्याय र समानताको फूल । बाल्नु थियो उज्यालो, समृद्ध र विकसित समाजको ज्योती । अनि सबैलाई भन्नुथियो, म तपाईँहरुको सेवक ।

हो, यही सपना र पृष्ठभूमिबाट वीरबहादुर कुरुम्बाङ जन्यो, उठ्यो र शीखरतर्फ लम्क्यो । कहिल्यै थाकेन्, कहिल्यै इमानबाट विचलित भएन् । कहिल्यै राष्ट्रको परिवर्तन र विकास तथा आफूजस्तै जनताको अधिकारको लडाईँबाट भागेन् ।

तर यही वीरबहादुर कसै–कसैका आँखामा पच्दैन् । उनीहरुलाई थाहा छ, वीरबहादुर त संघर्षको मैदानबाट, अभाव र पीडाबाट, पसिना र आँशुको सागरबाट उठेको योद्धा हो । उ कहिल्यै भाग्दैन्, ऊ कहिल्यै थाक्दैन् ।

आज वीरबहादुरलाई नजिकबाट नबुझि भनिदिएको छ उसको वर्तमान हेरेर । जसले वीरबहादुरको विगत कोट्याउँछ अनि यथार्थमा पुग्छ, उसले त वीरबहादुरको बहादुरीलाई सलाम गर्छ र भन्छ “तिमी साँच्चै बलियो योद्धा हौ । सगरमाथा जस्तो शीर र सागर जत्रो छाती कसैको छ भने तिम्रो मात्रै छ ।”

हिँजो स्थानीय तहको पहिलो निर्वाचनमा वीरबहादुर पहिलो हुन नसकेकै हो । तर उहाँ दोश्रो भएर के भयो यो फाल्गुनन्द गाँउपालिकामा ठूला आयोजना अघि बढाउन वीरबहादुर नै नायक बन्नुभयो । फाल्गुनन्दका वस्ती–वस्तीले, जन–जनले नजिकबाट चिनेको वीरबहादुर फाल्गुनन्दको पवित्र नाम भएको ठाँउमा पवित्र कार्य गर्ने सच्चा कर्मशील मानिस हो । र हो, यहाँको उज्यालो भविश्य पनि ।

फाल्गुनन्द आएर आफ्नो ओजपूर्ण भनाई राख्ने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले, फाल्गुनन्दमा हप्तौँ विताउनुभएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले, पूर्वमन्त्रीद्वय डम्बरसिंह सम्बाहाम्फे र श्रीप्रसाद जवेगूले, संविधानसभा सदस्यद्वय अइन्द्रसुन्दर नेम्वाङ र ध्रुवराज आङ्देम्बेले त्यसै वीरबहादुरको प्रसंशा गर्नुभएको अवश्य होइन् । सबैले भूत र भविश्य सोचेकै सम्झेकै हुन्छ ।

आज फाल्गुनन्दमा वीरबहादुर नै चाहिन्छ भन्नुमा गाँउपालिका अध्यक्षमा पराजित भएपछि झन सक्रियताका साथ खटेको, विकास योजनाको फाइल लिएर, गाँउपालिकामा, टोलमा वस्तीमा जनताले पानी खान पाएनन्, विजुली पाएनन्, सडक पुगेन् भनेर प्रदेशको राजधानी विराटनगर र संघको राजधानी काठमाण्डौ धाएको वीरबहादुरको विकल्प शायदै अरु कोही हुन सक्दैनथ्यो र सक्दैन् पनि ।

वीरबहादुर आज साँच्चै भरोसाको केन्द्र पनि बन्नुभएको छ । ठोस् निर्णय लिनसक्ने क्षमता भएको, स्पष्ट बोली र अडान भएको, कसैको पनि अहित होस् भन्ने नचाहने एउटा आकर्षक ब्यक्तित्वले उहाँलाई मुलुकको महत्वपूर्ण जिम्मेवारीसम्म पुर्याउन बल पुर्याइरहेछ ।

प्रतिक्रिया दिनुहोस्