एक स्वयंसेवक



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ११ मङ्सिर

अक्सर मानिसमा धन, सम्पत्ति र शक्तिप्रति आसक्ति हुन्छ । हुन् त यीनै कुराहरुले मानिसलाई प्रगतिको पथमा हिडाँउछ । दैनिक जीवन चलाउन, अरुलाई देखाउन वा अरुभन्दा अब्बल सावित हुन मानिसमा धन, सम्पत्ति र शक्तिप्रति औधि आसक्ति जाग्छ भनिन्छ ।

कसैले सहजै यी चिज प्राप्त गर्छन त कसैले चाहेर पनि पाउन सक्दैनन् । धन सम्पत्ति जोड्न, शक्तिमा आसिन हुन मानिसले के–के गर्छन् भन्ने तथ्यका कथाहरुले उपन्यास र महाकाब्य नै बन्दछन् । अपराधदेखि पुण्य कर्मसम्म धन सम्पत्ति र शक्तिका कथा भेटिन्छन् । कतिपयले ठान्छन् मानिसले जम्माधन, सम्पत्ति र शक्तिकै पछि लागेर जीवन समाप्त पार्छ ।

तर कुनै आस्था, विश्वास र विचारप्रति प्रतिवद्ध धन, सम्पत्ति र शक्तिका लागि मरिहत्ते गर्दैन । ऊ अरुको सेवामा, अरुको सुख र खुसीका लागि जीवन जिउँछ । जसले समाजको सेवालाई, समुदायको हितलाई, निमुखाको मुक्तिलाई र आवाजविहीनको प्रतिनिधित्वलाई आफ्नो खुसी ठान्छ, ऊ आफू जल्छ र अरुलाई उज्यालो दिन्छ ।

तर यस्ता मानिस कति होलान् ? जसले आफूलाई सिध्याएर अरुको सेवा गरोस् । जसले समुदायको हितलाई सर्वोपरी ठानेर आफ्नो पूरा जीवन विताओस् । जसले आफ्नो सहज जीवन यापनलाई भुलेर दुःख र मेहनत गरोस् । परिवारको, आफन्तको आलोचना र दबाव सहेर अरुको सेवा गरोस् । जसले आफ्नो स्वार्थ भुलोस्, अरुको स्वार्थका लागि काम गरोस् । हो, त्यस्ता मानिस एकदमै कम हुन्छन् । न सबै मानिस त्यस्तो हुन सकिन्छ, न कसैले त्यस्तो त्याग गर्ने दृढता नै कायम राख्न सक्दछ ।

सामाजिक सञ्जालमा अहिले सेवाका, दान र सहयोगका कथा र पटकथाहरु निक्कै चर्चित छन् । फलफूल खान देओस् वा दाल चामल । बच्चाहरुलाई कापी कलम देओस् वा इरेजर र पेन्सिल । मानिस प्रचारमा विश्वास गर्छ, आफ्नो सहयोग र सेवालाई महान कर्म ठान्छ । यही कुरा प्रचार गर्छ । आफ्नो सहयोगले सहयोग पाउनेको जीवन, ब्यवहारमा कति परिवर्तन आयो ? त्यो उसको चासो, चिन्ता र मतलबभन्दा बाहिरको कुरा हुन्छ ।

तर हाम्रै समाजमा त्यस्ता पनि मानिस छन्, जसले प्रचारमा विश्वास राख्दैनन् । अरुलाई गरेको सेवालाई आफ्नो कर्तब्य र मानवीय जिम्मेवारी ठान्छन् । दुःख होस् वा सुख सबैभन्दा पहिला आफू पुग्छन्, आफैँ जानेर सहयोग गर्छन्, आफैँ बुझेर समस्या समाधानको प्रयास र प्रयत्न गर्छन् । न आफूले यो–यो महान काम गरेँ भन्छन्, न भन्नै लगाउँछन् । न उनीहरु अरु जस्तो मौसमी छन्, जसले निश्चित उद्देश्यसम्म अरुको काममा, अरुको सहयोगमा, अरुको हितमा काम गरोस् । उनीहरु त एक दिन होइन्, एक हप्ता होइन्, होइन् महिना, वर्ष वा दशक । तीसौँ वर्षदेखि समाजको हितलाई आफ्नो कर्तब्य ठानेर हिँडेका छन् ।

धेरै मानिसका लागि यस्तो मानिसको जीवन वा ब्यवहारको ब्याख्या कोरा कल्पना लाग्छ । वा, आर्दश मानिसको उदाहरण लाग्छ । धेरैले ठान्छन्, समाजमा को यस्तो होला ? हुन् पनि हो, यो युगमा को त्यस्तो आदर्श वा त्यागी छ ? को निश्वार्थ र स्वयंसेवी छ ?

तर तपाईँ नजिकबाट खोज्नुस्, जो प्रचारमै आएको छैन्, आउन चाँहदैन्, ऊ तपाईँले खोजे जस्तै हुन सक्छ । मानिसहरुले जे–जे भनेका छन्, जे–जे सुन्नुभएको छ, त्यस भन्दा अलग भएर अलि फराकिलो गरी सोच्नुस्, यहीँ तपाईँले खोजे जस्तो मानिस छ । त्यो हो, गजाधर भट्टराई अर्थात ‘काँल्दाइ’ ।

गजाधर भट्टराई, फिदिममा सबैको दुःख, सुखको पहिलो साथी हो, भलै ऊ सबैको दुःख सुखमा पहिले नपुग्ला । तर नपुगेको भने हुँदैन् । गजाधर भट्टराई फिदिममा आम समस्या समाधानमा पहल गर्ने ब्यक्ति हो । गजाधर भट्टराई नै सारा अवरोध पन्छाएर फिदिमका घर–घरमा खानेपानी पु¥याउन रात दिन नभनी प्रयत्न गर्ने ब्यक्ति हो ।

दशकौँदेखि आफ्नो खुसी नभनेर हिँडेको गजाधर भट्टराई नै अरुले भन्ने र गाली गर्ने मानिस पनि हो । नजिक हुनेहरुले, आफन्तहरुले, उहाँको हित चाहनेहरुले किन आफ्नो पूरा जीवन अरुका निम्ति जिउँने ? भनेर सोध्छन् । अनि उहाँको लोकप्रियता, विनम्रता र स्पष्टता देखेर जल्नेहरुले किन त्यत्तिकै समय विताउँथ्यो ? केही न केही अवश्य छ भनेर शंका गर्छन् । तर गजाधर भट्टराई नै अरु सुख होस् वा दुःख, आफ्नो नजिकको होस् वा टाढाको, सहयोग गर्न भने अवश्य पुग्छन् ।

गजाधर भट्टराईले चाहेको भए धन, सम्पत्ति र शक्तिको कमी हुने थिएन् । ब्यापार, ब्यवसाय, उद्योग, जागिर वा अरु केही । उहाँका लागि सबै ढोका खुल्ला थिए । फिदिमका रैथाने गजाधर भट्टराईसँग व्यक्तिगत जीवन सुख सुविधामा विताउने, प्रशस्त धन सम्पत्ति आर्जन गर्ने, शक्तिको पछि दगुरेर शक्तिमै पुग्ने बाटो कसैले छेक्न पनि सक्दैनथ्यो ।

तर आफ्नै आस्था, विश्वास र विचारले उहाँलाई त्यो बाटोमा लगेन् । बरु बामपन्थी राजनीति हुँदै समाज परिवर्तनको मार्गमा लग्यो । राजनीतिमा मात्रै पु¥याएन्, फिदिमवासीलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने मानिसको पहिचानमा पु¥यायो । काँल्दाइ भनेपछि सबैले आफूलाई सहयोग गर्ने, समस्या समाधानका लागि प्रयत्न गरिदिने मानिस भनेर सम्झने अवस्थामा पुर्यायो ।

त्यो भन्दा बढी गजाधर भट्टराईको योगदान फिदिममा खानेपानी ल्याउनमा भयो । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भट्टराईले वर्षौँ लगाएर प्रयत्न गरे खानेपानीको मुहान लिनलाई । त्यसपछि आयो लुङरुपा र रानीटार क्षेत्रका स्थानीयवासीको अवरोध । उक्त अवरोध हटाउन वर्षौँ प्रयास गर्नुपर्यो । भट्टराईले दिन रात भनेनन्, परिवार धन सम्पत्ति भनेनन्, आफ्नो सहज जीवन यापन सम्झेनन्, भीर पाखा र लाठी मुङ्ग्री गर्नेसँग जुधेनन् ।

हिउँद र सुख्खा समयमा घण्टौँ–घण्टा लाइनमा बसेर पानी थाप्नु पर्ने पीडा फिदिमवासीसामु ताजै छ । किनकी लामो पाइप लाइन, घरीघरी आइरहने समस्याले वृहत खानेपानी आयोजनामा समस्या सिर्जना हुने गरेको छ । जतिबेला फिदिममा खानेपानी थिएन्, शिवालय मन्दिर छेउको ट्याङ्की धारामा रातको १२ बजेपनि खानेपानी थाप्नेको लाइन टुट्दैनथ्यो । उज्यालो हँुदा फिदिमका धारामा पचासौँ मिटर लामो गाग्रीको लाइन लाग्थ्यो ।

जव फिदिममा घर–घरमा खानेपानी आयो, कसैले सँम्झे त्यो त्यत्तिकै आएको हो । पानीमा उपभोक्ता समितिको परिश्रम कहिँ देखिएन् । उपभोक्ता समितिले निर्माणको कामगर्ने सम्पूर्ण ब्यवस्था मिलाइदियो । सधैँ कामबाट भाग्न खोज्ने ठेकेदारलाई सबै प्रकारको सहयोग ग¥यो ।

जब घर–घरमा विहान बेलुकी भनेजति पानी आयो, केही मानिसहरु भन्नथाले – खानेपानीको महसुल महंगो भयो, उपभोक्ता समितिमा अनियमितता भयो । तर कसैले थाहा पाएन् पानीको महसुल बढी हुनुको कारण । कसैले खोजेन् उपभोक्ता समिति सही छ वा गलत । भन्नेले भनिदियो भ्रष्टाचार भयो, अनियमितता भयो, सुन्नेले सुन्यो त्यही फुक्दै हिँड्यो ।

हुन त माथिल्लो गाँउमा पानी झरेको त्यो दिन पहिलो पटक त्यहाँ पुगेकाहरुले पनि सामाजिक सञ्जालमा भनिदिए “आजबाट फिदिममा खानेपानी झारियो । अबपानीको दुःख रहेन् ।”

उपनिर्वाचन आयो, काँल्दाइ उम्मेद्वार भए । आजसम्म विना जिम्मेवारी सेवा गरेका काँल्दाइ अब सरकारी जिम्मेवारीमा पुगेर सेवा गर्ने मनसायमा पुग्नु न अनौठो थियो, न कसैले गाली गर्नुपर्ने कुरा नै । राजनीतिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला सचिवालय सदस्य उहाँले अरु उचाई वा जिम्मेवारीमा पुगेर चुनावी मैदानमा आउनुपर्ने अवस्था पनि छैन ।

‘गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु’ भनेजस्तो काँल्दाइले के गरे र ? सबै हामीले गर्यौँ र सम्यायौँ भन्नेको भीड लाग्यो । तैपनि काँल्दाइ सबैसँग हाँसेर हिँडिरहेका छन्, सबैलाई भनिरहेका छन् – “यो फिदिमको, फिदिमका घरदेखि कोठा–कोठामा बस्नेहरुको, आसपासका गाँउहरुको, २÷४ पैसा आम्दानी गरेर ब्यवसाय चलाउने ब्यापारीहरु, श्रमिक र मजदूरहरुको कुरा मैले तीसौँ वर्षदेखि नजिकबाट सुनेको छु । दुःख सुखमा साथ दिने प्रयास गरेको छु ।”

नजिकबाट बुझ्नेहरु भन्छन् काँल्दाइले आफूसँग भएको सबैकुरा सिध्याए । जग्गा, जमिन, धन सम्पत्ति सबै सकिनुको कारण सधैँ अरुको सेवामा हिँड्नुको उपज थियो । अरुभन्दा सानो हुन् वा ठूलो, काँल्दाइ नै सबैको अभिभावक भए । अनि आफू जलेको थाहा पाएनन्, अरुलाई उज्यालो भएको हेरेर हर्षमा रमाए । चुनावमा काँल्दाइहरुको प्रयत्नबाट आएको खानेपानी एउटा एजेण्डा बनेपछि फिदिम स्पोर्टिङ क्लबका पूर्व अध्यक्ष किरण श्रेष्ठले सामाजिक सञ्जालमा प्रश्न गर्नुभयो “खानेपानीको मुहानसम्म पुगेका छन् के उम्मेद्वार ? कता पर्छ मुहान, पूर्व कि पश्चिम?”

वास्तवमा भट्टराई एक नेता, अगुवा र सहयोगी मात्रै नभएर एक स्वयंसेवकको रुपमा स्थापित हुनुहुन्छ । त्यही भएर उहाँ फिदिमलाई परिवर्तन गर्ने, यहाँ प्रदेश र केन्द्रबाट ठूलो बजेट भित्र्याउने, साँच्चिकै नयाँ शहर बनाउने, जनतालाई नजिकबाट सहज सेवा उपलब्ध गराउने कुरा गरिरहनुभएको छ न कि कसैलाई गाली गलौज ।

प्रतिक्रिया दिनुहोस्