कांग्रेसलाई भोट नहाले खानेपानी बन्द गरिदिने धम्की



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १० मंसिर

काँग्रेस नेता कार्यकर्ताले आसन्न उपनिर्वाचनमा काँग्रेसलाई भोट नदिए खानेपानीको मुहान प्रयोग गर्न नदिने धम्की दिएको भन्दै फाल्गुनन्द गाँउपालिका वडा नं. १, साविक नवमीडाँडा गाविस वडा नं. ९ माझीटारका स्थानीयलाई गुनासो पोखेका छन ।

स्थानीय राम आङ्देम्बेका अनुशार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहलमा तीन महिनाअघि यहाँका स्थानीयवासीका लागि पाइप ल्याई १२ घरलाई खानेपानीको ब्यवस्था मिलाइएको थियो । स्थानीयवासीले यहाँको मायङखोला भन्ने स्थानमा खेर गइरहेको पानी पाइपबाट गाँउसम्म पु¥याएका थिए । उनीहरु सबै गत मंसिर ६ गते नेकपामा प्रवेश गरेका थिए ।

तर त्यसको भोलिपल्ट काँग्रेसका उम्मेद्वार, वडाध्यक्ष लगायतको टोलीले आएको र स्थानीय चन्द्र आङदेम्बेले काँग्रेसमा भोट नहाले उक्त खानेपानी मंसिर १५ गतेपछि बन्द गरिदिने धम्की दिएको स्थानीयको गुनासो छ । स्थानीय राम आङ्देम्बेले तीन महिना अघि नेकपाको पहलमा खानेपानीको प्रवन्ध भएकाले सोही दलमा स्थानीयवासी प्रवेश गरेको वताउनुभयो ।

स्थानीयका अनुशार उक्त खानेपानीको मुहान रहेको स्थान ओइल्यानी जग्गामा पर्छ । यहाँको पानी विगतमा सिंचाईका लागि कुलो मार्फत अन्यत्रै लैजाने गरिएको थियो । तर पानी लगेर धान खेती गर्ने जग्गा तीन वर्षअघि बाँझिएपछि उपभोग नभएको पानी आफूहरुले प्रयोग गर्दै आएको स्थानीय नरेन सम्बाहाम्फेको भनाई छ । खेर गएको पानी आफूहरुले सदुपयोग गरेको र धम्की दिनुपर्ने कुनै कारण नरहेको स्थानीयवासीको गुनासो छ ।

“काँग्रेसको उम्मेद्वार सहित वडाध्यक्ष समेत गएर त्यो ठाँउलाई पानी बन्द गरिदिने भन्नुभएछ । यो कतिको जायज कुरा हो ? यसले के सन्देश लैजादो रहेछ ? किन यस्तो गरियो भन्दा धम्की दिइएको भन्ने बुझियो” स्थानीय राम आङ्देम्बेले भन्नुभयो । यस स्थानमा खानेपानीको समस्या छ ।

प्रतिक्रिया दिनुहोस्