
फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १० मंसिर
यही मंसिर १४ गते हुने फाल्गुनन्द गाँउपालिकाको उपनिर्वाचनलाई केन्द्रीत गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको संख्या बढिरहेको छ ।
यही क्रममा फाल्गुनन्द गाँउपालिका वडा नं. ३ पौवासारतापमा आइतवार आयोजित नेकपाको वृहत चुनावी आमसभामा गाँउपालिका भित्रका १४० जना स्थानीयवासी नेकपामा प्रवेश गरेका छन । नवप्रवेशीहरु मध्ये अधिकांश नेपाली काँग्रेसबाट नेकपामा प्रवेश गरेका हुन् ।नेकपा फाल्गुनन्द गाँउपालिकाका इन्चार्ज प्रेमप्रसाद रिजालका अनुशार नवप्रवेशीहरु मध्ये सबैभन्दा बढी फाल्गुनन्द–३ पौवासारतापबाट छन् । बाँकी नवप्रवेशीहरु अन्य वडाका छन् ।
नवप्रवेशीहरुलाई उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा संसदीय दलका उपनेता एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा पाँचथरका इन्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’, पाँचथर सहइन्चार्ज एवं पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे, पाँचथर सहइन्चार्ज एवं संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ सहित प्रदेश, जिल्ला र गाँउपालिकाका नेताहरुले स्वागत गरे ।
नवप्रवेशीहरु स्वयंले यहाँ आयोजित कार्यक्रमको ब्यवस्थापन र मञ्च निर्माण गरेका थिए । स्वस्फुर्त नेकपामा प्रवेश गर्न तयार भएका स्थानीय युवाहरुले नेकपा उम्मेद्वार वीरबहादुर कुरुम्बाङलाई विजयी गराएमात्रै गाँउपालिकाको विकास सम्भव हुने देखेको वताएका छन् । फाल्गुनन्दमा चुनावी अभियान सुरु भएपछि झण्डै सात सय स्थानीयवासी नेकपामा प्रवेश गरेको गाँउपालिका इन्चार्ज रिजालले वताउनुभयो ।