प्रतिवद्धता पूरा गर्ने आधार तयार भइसके, हामी जनतालाई हिसाब किताब बुझाउछौँः उपनेता नेम्वाङ



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ९ मंसिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनतामाझ ब्यक्त गरेका प्रतिवद्धताहरु पूरा गर्ने आधार तयार भइसकेको वताउनुभएको छ ।

संविधानको सफल कार्यान्वयन, जनताको माग र आकाङ्क्षाको परिपूर्ति र समृद्ध मुलुक निर्माणका लागि सरकारले आफ्नो २० महिने अवधिमा आधार तयार गरिसकेको नेम्वाङको भनाई छ । “हामीले ब्यक्त गरेका सबै प्रतिवद्धता पूरा गर्छौँ । प्रतिवद्धता पूरा गर्ने आधार तयार पारिसकेका छौँ” पाँचथरको फाल्गुनन्द गाँउपालिकामा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा सोमवार फाल्गुनन्द गाँउपालिका वडा नं. ३ पौवासारतापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले भन्नुभयो ।

आफ्नो अगुवाईमा सबैको प्रतिनिधित्व सुनिश्चित भएको संविधान निर्माण भएको स्मरण गर्दै उहाँले संविधानसम्मत सबै कानूनलाई बनिसक्न लागेको जानकारी दिनुभयो । संघीय ब्यवस्थाअनुशारका कानून निर्माणको क्रम अन्तिम चरणमा पुगेसँगै विकास निर्माणको नयाँ युग सुरु भएको उहाँको भनाई छ ।

नेकपा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्दै अबको तीन वर्षमा बैखाता बोकेर जनतासँग उपस्थित हुने उहाँले वताउनुभयो । “हामीले यो यो काम गर्यौ भनेर हिसाब किताब बुझाउनेछौँ । हामीसँग सम्पूर्ण हिसाब किताब तयार छ ।” नेता नेम्वाङले वृद्धभत्ता यही सरकारको पालामा मासिक रु. पाँच हजार पुर्याइने वताउनुभयो ।

नेकपाकै अगुवाईमा मुलुकलाई कहिल्यै नाकाबन्दी नहुने स्थितिमा पुर्याइएको नेता नेम्वाङको भनाई छ । अरु दलले नाकाबन्दीको न भनेर उच्चारण गर्न डराएको वताउँदै उहाँले नेपाल भूपरिवेष्ठितबाट भूजडित अवस्थामा पुगेको वताउनुभयो । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भूजडित भइसकेको वताएको स्मरण गर्दै उहाँले मुलुकको अर्थतन्त्र सवल बन्ने दिशातिर गएको वताउनुभयो ।

पूर्वमा तमोर जलाशययुक्त आयोजना, राँके रबी भेडेटार सडक, रबी दमक सडक, गुरु फाल्गुनन्दसँग सम्बन्धित स्थानहरुलाई पर्यटकीय क्षेत्र बनाउने, उत्तर दक्षिण सडक निर्माण गर्ने, पाइपलाइनबाट इन्धन ल्याउने, सुरुङ मार्ग निर्माण गर्ने कार्यको सुरुआत भएको वताउँदै उहाँले मुलुक हिँजोको अप्ठ्यारोबाट मुक्त हुने दिशामा अघि बढेको वताउनुभयो । उहाँले विप्लब समूहलाई पनि हामीले शान्तिपूर्ण माध्यममा आउन आग्रह गर्दै पार्टी मन परेन् नयाँ पार्टी बनाउन, विचार मन परेन नयाँ विचार निर्माण गर्न सुझाव दिनुभयो ।

फाल्गुनन्द गाँउपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विजय अवश्यम्भावी छ रहेको वताउँदै नेता नेम्वाङले नेकपाको विजयलाई कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो । जनताले यहाँको विकासका लागि प्रदेश र केन्द्रमा नेकपाको दुई तिहाईको सरकार भएको हेक्का राखेको उहाँको भनाई छ । पाँचथरको विकासका लागि नेकपाले पाँचथरबाटै प्रदेश र संघमा मन्त्री चयन गरेको वताउँदै पाँचथरवासी भाग्यमानी रहेको वताउनुभयो । “प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ वीरबहादुर कुरुम्बाङका योजना पूरा गर्न लागि पर्नुहुनेछ” नेम्वाङले भन्नुभयो “वीरबहादुर कुरुम्बाङको विजय अत्यावाश्यक छ ।”

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले नेकपाको विजयले समृद्ध फाल्गुनन्द गाँउपालिका निर्माणको योजना सार्थक हुने वताउनुभयो । उहाँले भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे, केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी लगायत नेताहरुले समेत सम्बोधन गर्नुभएको छ ।

सभामा फाल्गुनन्दका सात वटै वडाका नेकपाका नेता, कार्यकर्ता तथा समर्थकको ठूलो उपस्थिति थियो । कार्यक्रममा नेपाली काँग्रेस सहित विभिन्न दलबाट १४० जना भन्दा बढी स्थानीयवासी नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेकपा नेताहरुले अबिर, मालाद्वारा सम्मान गर्दै नेकपामा स्वागत गरे । उपनिर्वाचनको मिति नजिएसँगै यहाँ चुनावी माहोल तात्तिएको छ ।

प्रतिक्रिया दिनुहोस्