फाल्गुनन्दमा छरिएका पाँच भ्रम, शून्य यथार्थ



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ८ मंसिर

यही मंसिर १४ गते गाँउपालिका प्रमुख पदमा उपनिर्वाचन हुन लागेको फाल्गुनन्द गाँउपालिकामा चुनावी माहोल तात्तिएको छ । यो गाँउपालिकाको विजयलाई दलहरुले प्रतिष्ठाको विषय बनाउनु स्वभाविकै हो । तर चुनावमा जसरी पनि जित हाँसिल गर्ने उद्देश्यले यहाँ अस्वस्थ राजनीतिक अभ्यास गर्ने प्रयत्न भएको छ ।

फाल्गुनन्दमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकातिर र नेपाली काँग्रेस सहित अन्य दल अर्कोतिर जस्तो देखिएको छ । समाजवादी पार्टी, लिम्बुवान मञ्च, राप्रपा, राप्रपा संयुक्त, जनमुक्ति, मंगोल नेशनल अर्गनाइजेसन पनि चुनाव प्रचारमा नभएका भने होइनन् ।

सबै दललाई नेकपामा विरुद्ध उभ्याउने विषय हो भाषा शिक्षाको सवाल । जव यहाँ मातृभाषा शिक्षक नियुक्त गर्दा विद्यालय ब्यवस्थापन समितिको अधिकार खोसियो, ४५ वर्षका ब्यक्तिलाई पनि शिक्षकको नियुक्ती दिइयो तब विब्यसले आफ्नो अधिकार खोज्यो, आफैँले बनाएको कानून गाँउपालिकाले पालना गर्नुपर्छ भन्ने मत राख्यो, त्यसपछि मातृभाषा शिक्षालाई गुणस्तरीय बनाउन र विद्यालयमा भएको कार्यकर्ता भत्र्ती रोक्न बिद्यालय ब्यवस्थापन समितिले चालेको कदमलाई नेकपा मातृभाषाको विरोधमा छ भनियो । बलियो नेकपा विरुद्ध सबै एक भए । जब प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले फाल्गुनन्दका सबै विद्यालयमा मातृभाषा शिक्षा लागू गर्न प्रदेशले बजेट उपलब्ध गराउने घोषणा गर्नुभयो, त्यसपछि यो भ्रम अन्त्य भयो । जनता नेकपाको पक्षमा उभिए ।

आचारसंहिता लागू हुनुपूर्व कानूनसम्मत रुपमा यहाँ विकास आयोजनाहरु अघि बढाइए । काँग्रेस लगायत दलले आचारसंहितको कुरा उठाए । प्रदेशको रातो किताबमा रहेका योजना अघि बढाइनु आचारसंहिता विपरित नहुने कुरा प्रष्ट भएपछि यो भ्रम पनि टुट्यो । बरु केही नेताहरुले फाल्गुनन्दमा किन यत्रो विकास गरेको ? यसो गर्न पाइन्छ ? भन्दै आफ्नो विकास विरोधी कित्ता प्रष्ट पारे ।

त्यसपछि आयो बहादुरसिंह नेम्वाङको प्रसंग । नेम्वाङ फाल्गुनन्द २ इम्बुङका वडाध्यक्ष हुनुहुन्छ । तत्कालीन माओवादी केन्द्र, राप्रपा लगायत दलको समर्थनमा उहाँ मालेबाट वडाध्यक्ष चुनिनुभई बाम गठबन्धनमा प्रवेश गर्नुभएको थियो । माले केन्द्रीय कमिटीले निर्वाचन आयोगलाई पत्र लेखी उहाँलाई वडाध्यक्षबाट हटाउन माग गर्यो । तर उक्त दलले चाँहदैमा जनप्रतिनिधिको पद खारेज हुन सक्ने अवस्था छैन् । अन्ततः यो भ्रम पनि अन्त्य भयो । अन्यथा भ्रम छर्नेहरुले उहाँ पदमुक्त भएको देखाउन सक्नुपर्ने स्थानीयको आवाज छ ।

नेकपा विरुद्ध भ्रम छर्ने तेश्रो विकल्पले काम नगरेपछि चौथो अस्त्र आयो । अनि यहाँका बजारी इलाकामा नेकपालाई किन भोट हाल्ने ? भन्दै केही बुँदा राखेर बेनामे र कुनै ब्यक्ति वा दलको नाम उल्लेख नगरी पर्चा बाँढियो । स्थानीयले खोजे यो कसले बाँढ्यो ? उक्त वेनामे पर्चाका धेरै विषय नेकपाभन्दा बढी काँग्रेससँग सम्वद्ध थिए । नेकपालाई भोट नहाल्नु भन्ने, निराधार र कपोलकल्पित भ्रम फिजाउँनेहरुले आफ्नो परिचय दिन सकेनन् । अन्ततः यो अस्त्रले समेत काम गरेन् ।

र, अन्त्यमा आयो प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मन्त्रीबाट हटाउने भन्ने कपोलकल्पित समाचार । फाल्गुनन्द गाँउपालिका सहित जिल्लाको विकासमा अर्बौँ बजेट भित्र्याउनुभएको मन्त्री आङ्बोमाथि प्रहार गरेर चुनाव जित्ने दाउ काँग्रेसले रचेको मन्त्री आङ्बोले प्रष्ट पारिसक्नु भएको छ भने मुख्यमन्त्री शेरधन राईको सचिवालयले आङ्बो मन्त्रीबाट हट्ने कुरा कल्पनाभन्दा बाहिरको विषय रहेको जनाएपछि यो भ्रमको अस्त्रले समेत काम काटेन् ।

अन्ततः भ्रम छर्ने सबै प्रयासहरु असफल भए । कुनैपनि भ्रममा एक प्रतिशत पनि सत्यता नरहेको प्रष्टियो ।

दिनहुँ नेकपामा भइरहेको स्थानीयको प्रवेशले नेकपालाई अरु दलभन्दा सशक्त देखाएपनि अन्य दलले यस प्रकारको अफवाह फैलाउनु उनीहरु स्वयंकै लागि घातक हुने स्थानीयवासीको मत छ । नेकपाजस्तै विकासको लहर ल्याउन, नजिकैबाट जनताको सेवा गर्न र विकास, समृद्धि र सुशासनको एजेण्डा जनतासम्म लैजानसके यस प्रकारका गैरराजनीतिक प्रयत्न गर्नै नपर्ने स्थानीयवासीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्