प्रदेश मन्त्रीमण्डल पुनर्गठनको हल्ला कपोलकल्पित र भ्रामक हो : मुख्यमन्त्रीको सचिवालय



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ८ मंसिर

प्रदेश नं. १ को मन्त्रीमण्डल पुनर्गठन हुने हल्ला कपोलकल्पित रहेको मुख्यमन्त्री शेरधन राईको सचिवालयले जनाएको छ ।

“प्रदेश सरकार र प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’को समृद्ध प्रदेश निर्माण गर्ने नीति, कार्यक्रम तथा बजेटबाट अत्तालिएर केही शक्तिले कपोलकल्पित प्रचार गरिरहेका छन्” मुख्यमन्त्री शेरधन राईलाई उदृत गर्दै उहाँको सचिवालयले भन्यो “पाँचथर सहित प्रदेश एक मा हुने उपनिर्वाचनमा नेकपाले सबै स्थानमा नेकपाले विजय हाँसिल गर्ने भएपछि यस्तो हल्ला फैलाइएको हो ।”

मुख्यमन्त्रीको सचिवालयले प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुनसक्ने तर वहालवाला मन्त्रीहरु परिवर्तन हुने कुनै सम्भावना नरहेको जानकारी दिएको हो । “प्रदेश सरकारका सबै मन्त्री ज्यूहरुको कार्यसम्पादनबाट मुख्यमन्त्री ज्यू एकदमै सन्तुष्ट हुनुहुन्छ” मुख्यमन्त्रीको सचिवालयले फाल्गुनन्द खवरसँग कुरा गर्दै भन्यो “प्रदेश सरकारका सबै मन्त्रीहरु मुख्यमन्त्री तथा आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगको समझदारी र पूर्वसहमतिमा काम गरिरहनु भएको छ । तत्कालै मन्त्री हेरफेर गर्ने कुरा मुख्यमन्त्री ज्यूको कल्पनाभन्दा बाहिरको विषय हो । सबै कपोलकल्पित र भ्रामक प्रचार हो ।”

मुख्यमन्त्रीको सचिवालयले प्रदेश सरकारका सबै मन्त्रीहरु नेकपाका केन्द्रीय कमिटीका सदस्य भएको जनाउँदै चुनावलाई प्रभावित पार्न गरिएको हल्ला हास्यास्पद् रहेको वताएको छ । साथै प्रदेश सरकारले प्राथमिकताका आधारमा नेकपा र नेकपा संसदीय दलको अनुमतिमा विकासका योजनाहरु अघि बढाएको सचिवालयले स्पष्ट पारेको छ ।

यता आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले विचार र राजनीतिमा पराजित भएपछि प्रतिक्रियावादीहरुले भ्रमको साहरा लिएको प्रतिक्रिया दिनुभएको छ । “पराजित मानसिकताबाट अत्तालिएका शिखण्डी र विकास विरोधीहरुको चाहना असफल हुने नै छ” मन्त्री आङ्बोले भन्नुभयो “उनीहरु अझ जनतामा नाङ्गो हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्