फाक्तेपमा ६८ जना नेकपामा प्रवेश



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ७ मंसिर

उपनिर्वाचन हुन लागेको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा स्थानीयको आकर्षण बढ्दो छ । चुनावी अभियानसँगै दैनिकी दर्जनौँजना स्थानीयवासी नेकपामा प्रवेश गर्ने क्रम जारी छ ।

यही क्रममा शनिवार फाल्गुनन्द गाँउपालिका वडा नं. ५ साविक फाक्तेप गाविसमा आयोजित कार्यक्रममा ६८ जना नेपाली काँग्रेस, राप्रपा, राप्रपा संयुक्त, समाजवादी पार्टी लगायत दलका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । साविक फाक्तेप ५ पात्लेमा आयोजित कार्यक्रममा राप्रपा संयुक्तका क्षेत्रीय सदस्य अग्नी प्रसाद चेम्जोङ सहित काँग्रेस र राप्रपाका ४० जना कार्यकर्ता नेकपामा प्रवेश गरे । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’, नेकपाका प्रदेश तथा जिल्ला सदस्यहरु, नेकपाबाट फाल्गुनन्द गाँउपालिका अध्यक्ष पदका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ लगायतले स्वागत गर्नुभयो ।

यसैगरी फाल्गुनन्द ५ फाक्तेपको कोल्बुङमा शनिवार नै आयोजित कार्यक्रममा विभिन्न दलका २८ जना कार्यकर्ता नेकपामा प्रवेश गरे । फाल्गुनन्द गाँउपालिकाको विकास गर्न, सरकारी सेवा सुविधा सहज रुपमा प्रदान गर्न, विकास निर्माण र पूर्वाधार विकास तीब्र गतिमा अघि बढाउन नेकपा सक्षम भएकाले आफूहरु नेकपामा प्रवेश गरेको नवप्रवेशी चेम्जोङले वताउनुभयो ।
फाल्गुनन्द ५ मा आयोजित चुनावी सभामा मन्त्री आङ्बो, नेकपाका केन्द्रीय सदस्य, पाँचथर सहइन्चार्ज एवं पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे, प्रदेश सदस्यहरु अमरसिंह थापा, नरेन्द्र खड्का, दिनेश लावती, जिल्ला सचिवालय सदस्यहरु प्रेमप्रसाद रिजाल, शंखध्वज नेम्वाङ, नेकपाबाट फाल्गुनन्द गाँउपालिका अध्यक्ष पका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ लगायत नेताहरुले नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।

उहाँहरुले मतदाताको चाहनाअनुशार आफूहरुले काम गर्ने भन्दै फाल्गुनन्द गाँउपालिकालाई भ्रष्टाचार र वेथितिविहीन बनाउन नेकपाका उम्मेद्वारको विजय अत्यावाश्यक रहेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्