‘एजेण्डाविहीन भएपछि काँग्रेसद्वारा चरित्र हत्या गर्ने र भ्रम छर्ने प्रयास’



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ७ मंसिर

प्रदेश नं. १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले नेकपालाई प्रतिवाद गर्ने कुनैपनि एजेण्डा नभएपछि काँग्रेसले नेकपा तथा नेकपाका नेताहरुको चरित्रहत्या गर्ने तथा विभिन्न प्रकारका भ्रम छर्ने प्रयत्न गरेको वताउनुभएको छ । पाँचथरको फाल्गुनन्द गाँउपालिकामा हुन लागेको उपनिर्वाचनमा जनतासँग प्रस्तुत गर्ने कुनैपनि एजेण्डा नभएपछि काँग्रेसले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने प्रयास गरेको उहाँको स्पष्टोक्ति छ ।

फाल्गुनन्द गाउपालिकामा गरिएको गैरकानूनी शिक्षक नियुक्तलाई कानूनी बनाउने प्रयत्न गर्दा भाषा विरोधीको आरोप लगाएर काँग्रेसले थालेको भ्रमको खेती अहिले आएर मन्त्री फेरबदलमा पुर्याएको उहाँको भनाई छ । “भाषा शिक्षाका विषयमा नेकपा विरुद्धको भ्रम जव हामीले चिर्यौँ, त्यसपछि नेकपा नेता एवं फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिंह नेम्वाङको विषयमा भ्रम छरियो” मन्त्री आङ्बोले भन्नुभयो “त्यसपछि कानूनसम्मत अघि बढेका विकास आयोजना रोक्न आचारसंहिताको भ्रम छरियो । हामी कानूनसम्मत रुपमा फाल्गुनन्द र जिल्लाको स्वरुप बदल्न लागेपछि उहाँहरु विचारविहीन भई भ्रमको छर्ने प्रयत्नमा उद्यत हुनुहुन्छ ।”

आफूहरु नेकपाको जिम्मेवार नेता भएको स्मरण गराउँदै मन्त्री आङ्बोले भ्रम छरेर दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार ढाल्ने दिवासपना काँग्रेसले देखेको वताउनुभयो । “केही पेशाकर्मीको रङ्गमा हामी विरुद्ध छरिएका भ्रमहरु क्षणभरमा समाप्त हुनेछन्” पाँचथरको फाल्गुनन्द–५ फाक्तेपको कोल्बुङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “यो काँग्रेसको हारपछिको अभिब्यक्ति हो । पराजयको पीडाको अभिब्यक्ति हो ।”

जिल्लाको विकास निर्माणले, नागरिकलाई सहज सेवा उपलब्ध गराउने नेकपाको अभियानले काँग्रेस अत्तालिएको उहाँको भनाई छ । मन्त्री आङ्बोले हिँजो आफू एक्लैले मात्रैपनि अर्बौँ बजेट भित्र्याउँदा आत्तिएका विपक्षीहरु पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि झुठ र भ्रमको साहरा लिन पुगेको वताउनुभयो । “यतिले नपुगेर पैसा, चामल, सिरक, ब्लाङ्केट, विजुलीका पोल बाँढ्दै हिँड्दैछ” उहाँले भन्नुभयो “हामीले सबै नागरिकलाई समृद्ध बनाएपछि काँग्रेसले के बाँढ्ला ? जनताले के लिनुहोला ?”

अर्बौँ बजेट भित्र्याई पाँचथरको विकास अघि बढाउँदा काँग्रेसका शीर्षस्थ नेताहरु जिल्ला आएर यसरी किन विकास गरेको ? यसरी विकास गर्न पाइन्छ ? भन्दै उफ्रिएको आफूले सुनेको मन्त्री आङ्बोले वताउनुभयो । “तर विराटनगर विमानस्थलमा भेट्दा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले हामीले चुनाव भएर मात्रै त्यसो भनेका हौँ, तपाईँले पाँचथरमा धेरै ठूलो प्रयत्न गर्नुभएको रहेछ भन्नुभो” मन्त्री आङ्बोले केही दिन अघिको घट्ना स्मरण गर्दै भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्