नवमीडाँडामा कांग्रेसबाट १०२ जना नेकपामा प्रवेश



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ६ मंसिर

पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. १ मा नेपाली काँग्रेसका १०२ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपा फाल्गुनन्द वडा नं. १ कमिटीले फाल्गुनन्द–१ नवमीडाँडाको सुर्केनागीमा आयोजना गरेको चुनावी कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य, पाँचथर जिल्ला इन्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’, केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपा प्रदेश र जिल्लाका नेताहरु, नेकपाबाट फाल्गुनन्द गाँउपालिका अध्यक्षका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ लगायतले स्वागत गर्नुभयो ।

सिद्धेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जयनारायण दुलाल, स्थानीय अगुवाहरु नन्दिकेशर हुमागाँई, पदम प्रसाद दुलाल, चन्द्रबहादुर ढकाल, कर्मा मोक्तान, सुकबहादुर आङदेम्बे, रामकुमार आङदेम्बे, सुकमाया तामाङ, सुमति ढकाल, सागर चापागाई, दुर्गाप्रसाद चापागाई, लक्ष्मीप्रसाद चापागाई, प्रेमबहादुर राई, नेवि संघका पूर्व क्षेत्रीय सदस्य साजन आङदेम्बे लगायत नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नन्दिकेशर हुमागाँईले आफूहरुले पुस्तौँदेखि पीडा सहँदै आएको र यहाँका समस्या समाधानमा नेकपाले अग्रसरता देखाएकाले आफूहरु नेकपामा प्रवेश गरेको वताउनुभयो । उहाँले खानेपानी, विद्युत, सडक जस्ता अत्यावाश्यक पूर्वाधार नहुँदा बसाई सर्ने अवस्था नेकपाले अन्त्य गर्न लागेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

प्रदेश सरकारले आफूहरुले अपेक्षा गरेभन्दा बढी बजेट दिएको वताउँदै उहाँले नेकपालाई काम गर्ने अवसर दिनुपर्ने वताउनुभयो । “हामीलाई धन सम्पत्ति पैसा चाहिएको होइन् । हाम्रै घर जग्गा जमिन छ । हामीलाई सेवा सुविधा मात्रै चाहिएको हो” उहाँले भन्नुभयो ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेकपाका जिल्ला इन्चार्ज आङ्बोले जनताको मागअनुशार आफूहरु विकासको काम गर्दै जाने वताउनुभयो । उहाँले काँग्रेसले आफूलाई विकास विरोधी कित्तामा उभ्याएको वताउँदै काँग्रेसले जति विरोध गरेपनि विकासको लहर नरोकिने वताउनुभयो । नेकपाका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले फाल्गुनन्दवासीको विकासको अपेक्षालाई पूरा गर्न आफू अघि बढेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्