
फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ६ मंसिर
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मौसम’ले नेकपासँग विकासका एजेण्डामा प्रतिस्पर्धा गर्न अन्य दलहरुलाई चुनौति दिनुभएको छ । नेकपाले विकास निर्माण र समृद्धिको आधार तयार गर्न गरेको प्रयास देखेर अन्य दल अत्तालिएको भन्दै उहाँले आफूहरुसँग विकासमा प्रतिस्पर्धा गर्न चुनौति दिनुभएको हो ।
आगामी मंसिर १४ गते हुन लागेको फाल्गुनन्द गाँउपालिकाको उपनिर्वाचनको सन्दर्भमा नेकपा फाल्गुनन्द–१ ले नवमीडाँडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेस पराजित हुने निश्चित भएको बुझेपछि नेकपामाथि भौतिक आक्रमण उत्रिएको वताउनुभयो । नवमीडाँडामा आमसभाका लागि नेकपाले मञ्च निर्माण गर्ने क्रममा काँग्रेसले आक्रमणको प्रयास गरेको वताउँदै उहाँले उक्त कदम पराजित मानसिकता भएको आरोप लगाउनुभयो ।
जनताको सेवा गर्ने, जनताले सेवा सुविधा दिने विषयमा नेकपासँग प्रतिस्पर्धा गर्न उहाँले अन्य दललाई सुझाव दिनुभयो । उहाँले फाल्गुनन्द गाँउपालिकाको विकास गर्न गाँउपालिकामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि अनिच्छुक देखिएको र विकास निर्माणमा अवरोध गरेको वताउनुभयो ।
प्रदेश र संघीय सरकारबाट योजना ल्याउनका लागि वडा र गाँउपालिकाले सिफारिस नदिने, असहयोग गर्ने गरेको, जनतालाई निरङ्कुशता र अन्धकारमा राख्न खोजेको उहाँको भनाई छ । खानेपानी, सिंचाई, विद्युतिकरण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा नेकपाले अर्बौँ बजेट भित्र्याएपछि काँग्रेस लगायत दल आश्चार्यमा परेर नेकपा विरुद्ध विभिन्न आरोप लगाउन थालेको उहाँको भनाई छ ।
कार्यक्रममा नेकपाका गाँउपालिका अध्यक्षका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले आफू फाल्गुनन्द गाँउपालिकामा अर्बौँ बजेट भित्र्याई समृद्ध गाँउपालिका निर्माणका लागि स्थानीय तह, प्रदेश र संघको पुल बन्न उम्मेद्वार बनेको वताउनुभयो ।