ग्रामीण सडक जत्तिको छैन् सदरमुकामको ठाडाेलाइन



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २ मंसिर

जिल्लाको सदरमुकाम । एकमात्रै नगरपालिकाको पनि केन्द्र । जिल्लाको मुख्य ब्यापारिक स्थान । त्यत्ति मात्रै नभई सरकारले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको आसपासमा निर्माण गरिरहेको १० नयाँ शहर मध्येको पहिलो शहर फिदिम ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुशार अहिले जिल्लामा करीब १० अर्व बजेट विकास निर्माणमा खर्च भइरहेको छ । ठूला विकास आयोजनाको निर्माणले नागरिकको मुहारमा आशा पलाएको त छ नै, यहाँका ग्रामीण वस्तीको रुप पनि फेरिँदै गएको छ ।

कतिपय ग्रामीण सडकमा तीन पाङ्ग्रे साना सवारीका साधन सञ्चालनमा आइसकेका छन । तर सदरमुकामको सडकको भने ‘हालत’ छ । यहाँ ठूला सवारी सञ्चालनमा समेत समस्या छ ।

फिदिममा मानिस तथा सवारी साधनको मुख्य चाप हुने सडक हो ठाडोलाइन । ठाडोलाइनबाटै वीपी मार्ग, भानु मार्ग, लखन मार्ग, वुद्ध मार्ग र हुलाक लाइन जोडिएका छन । नगरपालिकासँग गाँउपालिकाको भन्दा झण्डै दोब्बर बढी बजेट छ । नयाँ शहर आयोजना पनि विना बजेट अवश्य नहोला । तर यो सडकको दुरावस्था अझै उस्तै छ ।

ठाडोलाइनको अधिकांश सडक भत्किएको छ । सडकमा ठू–ठुला खाल्डाखुल्डी परेका छन । अन्यत्रभन्दा बढी मानवीय तथा सवारी चाप हुने यो सडक साँघुरो पनि छ । त्यही साँघुरो सडक पनि भत्किएपछि सवारी सञ्चालनमा कठीनाई छ ।

सडककै कारण यहाँ पैदल यात्रुले समेत कष्ट ब्यहोर्नुपरेको छ भने धुँवा र धुलोले स्थानीयवासी र ब्यवसायीलाई आक्रान्त पारेको छ । सामाजिक सञ्जालदेखि सभा समारोहमा समेत यो सडकको पुनर्निर्माणको प्रश्न उठेपनि सम्वद्ध स्थानीय तहको नजर पुगेको छैन् ।

प्रदेश र संघीय सरकारबाट अर्बौँको विकास बजेट जिल्लामा भित्रिएपछि गाँउ–गाँउका सडक चिल्ला हुँदैछन । स्थानीय तहहरुकै अगुवाईमा समेत ग्रामीण सडकको अवस्था सुधार्ने प्रयास भइरहेका छन । तर सदरमुकाम भित्रको मुख्य बजार रहेको ठाडोलाइनको कालोपत्रे गर्ने चिन्ता फिदिम नगरपालिकासँग देखिँदैन् ।

यहाँ जनप्रतिनिधि निर्वाचित भएको अढाई वर्ष वित्न लाग्यो । एक पटक नयाँ शहर आयोजनाले ठाडोलाइनका खाल्डा पुरेबाहेक अरु केही काम गरिएको छैन् । यो सडक फिदिम नगरपालिकाले स्तरोन्नति वा कालोपत्रे गर्नै नसक्ने लामो दुरीको समेत होइन् ।

कूल बजेटमा वृद्धि हुँदा नगर भित्रका वडाको बजेट सिलिङ आधा घटाई समपुरक कोष राखेर करोडौँ भित्र्याउने योजना बुनेका फिदिम नगर प्रमुखले यहाँ त्यसरी नै बजेट भित्र्याउन किन सकेनन्, वा चाहेनन् ? यो पनि आश्चार्यकै विषय छ ।

प्रदेश सरकारले यो सडकको कालोपत्रेका लागि चासो देखाउँदा दैनिक यही सडकबाट हिँड्ने नगरपालिकाका जनप्रतिनिधि कि त सडकको हालत देख्दैनन् वा त्यसको पुनर्निर्माण गर्न चाहँदैनन् । सडकको दुरावस्था देख्ने भए वा सडकको अवस्था सुधार्नुपर्छ भन्ने लागेको भए यत्तिका दिन यो हालत नहुने यहाँ ब्यवसाय गर्नेहरु वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्