शनिवार हटियामा टहरा निर्माण हुने



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १ मंसिर

फिदिम नगरपालिका वडा नं. १ शिवालय मन्दिरछेउमा प्रत्येक शनिवार लाग्दै आएको हटियालाई ब्यवस्थित गरिने भएको छ ।

शनिवार हटियाको ब्यवस्थापन तथा टहरा निर्माणका लागि प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बजेट छुट्टयाएसँगै हटिया ब्यवस्थित हुने भएको हो । गत कात्तिक ६ गते सांसद् नेम्वाङको अध्यक्षतामा बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले हटिया ब्यवस्थापनका लागि रु. १० लाख बजेट छुट्टयाउने निर्णय गरेको हो ।

फिदिम बजार निर्माणसँगै लाग्दै आएको यो परम्परागत हटिया कृषकहरुले सिधै उपभोक्तालाई आफ्ना उत्पादन विक्री गर्ने माध्यमको रुपमा रहँदै आएको छ । हटिया ब्यवस्थापन तथा टहरा निर्माणको कार्य फिदिम नगरपालिकाको समपुरक कोषको रकममा लागत साझेदारी मार्फत निर्माण हुनेछ ।

शिवालय–माथिल्लोगाँउ–साम्दिन सडकको आसपास तथा खाली जग्गामा लाग्दै आएको हटिया हालसम्म एकदमै अब्यवस्थित थियो । फिदिम नगरपालिकाले टेण्डर मार्फत यहाँ कृषि उपजको विक्री गर्ने कृषक तथा ब्यवसायीहरुबाट साप्ताहिक शुल्क उठाउँदै आएको भएपनि यसको ब्यवस्थापनमा उचित चासो दिएको थिएन ।

यहाँ वर्षायामको समयमा हिलो तथा हिउँदमा धुलोका कारण कृषक तथा ब्यवसायीहरुलाई आफ्ना उत्पादन तथा सामग्री विक्री गर्न समस्या छ भने उपभोक्ताहरुले समेत समस्या भोग्दै आएका छन् । केही स्थानीयको पहलमा हटिया लाग्ने ठाँउ सम्याउन कार्य हालै सम्पन्न भएको छ । तर फिदिम नगरपालिका बनेको चार वर्ष तथा जनप्रतिनिधि चुनिएको साढे दुई वर्ष वितिसक्दा समेत यसको उचित ब्यवस्थापनमा कसैको ध्यान पुगेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्