राजनीतिज्ञ एवं साहित्यकार वीरेन्द्र ‘प्रतिक’को निधन



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १ मंसिर

पाँचथरका अग्रज राजनीतिज्ञ, साहित्यकार एवं पत्रकार वीरेन्द्रकुमार तुम्बापो ‘प्रतिक’को ५५ वर्षको उमेरमा आज निधन भएको छ ।

फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लीलाराज तुम्बापोका अनुशार उहाँको उपचारको क्रममा आज दिउँसो १ बजे विराट नर्सिङ होम विराटनगरमा निधन भएको हो । मधुमेह लगायत विभिन्न रोगबाट पीडित तुम्बापो लामो समयदेखि नियमित चेकजाँच तथा उपचारमा हुनुहुन्थ्यो । पछिल्लो पटक उहाँलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको हो ।

तुम्बापो दोश्रो स्थानीय निकायको निर्वाचनमा २०५४ सालमा तत्कालीन चोकमागू गाँउ विकास समितिको अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँले सुकुम्बासी समस्या समाधान आयोगमा जिल्ला प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।

हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य एवं फिदिम नगर कमिटीको अध्यक्ष रहनुभएका उहाँ एक शालिन, वौद्धिक एवं तिक्ष्ण क्षमताका राजनीतिज्ञ हुनुहुन्थ्यो ।

उहाँले कविता लेखनमा लामो समय साधना गर्नुभएको थियो । २०२१ साल असार २९ पाँचथरको चोकमागूमा स्व.बलबहादुर र आमा स्व.छबिहाङ्मा तुम्बापोको सन्तानको रुपमा उहाँको जन्म भएको थियो । उहाँले भारतको मेघालयमा रहेको शिलोङ विश्व विद्यालयबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।

उहाँका विभिन्न पत्र–पत्रिकामा प्रशस्तै फुटकर रचनाहरु प्रकाशित भएका छन् । उहाँको कृति भने बजारमा आएको पाइदैन् । उहाँले अंग्रेजी, हिन्दी र उर्दु भाषामा लेखिएका साहित्यिक रचनालाई समेत नेपालीमा अनुवाद गर्ने दक्षता समेत राख्नुहुने निकटवर्तीको भनाई छ ।

उहाँसँग आफ्ना रचनामा सामाजिक यथार्थ र मानवीय संवेदनालाई मनोवैज्ञानिक ढंगले उतार्ने क्षमता थियो । उहाँले पाँचथरबाट सुस्केरा, अप्रेशन, मालसिरी जस्ता पत्र–पत्रिकाको सम्पादन पनि गर्नुभएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्