फाल्गुनन्दमा संघ र प्रदेशको २ करोड ७५ लाख विशेष बजेट



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १ मंसिर

प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तथा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको विशेष अनुदान कार्यक्रमबाट फाल्गुनन्द गाँउपालिकाले रु. २ करोड ७५ लाख विशेष बजेट पाएको छ ।

प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको अध्यक्षतामा गत कात्तिक ६ गते बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले स्थानीय तह र उपभोक्ताहरुको वित्तीय लागत साझेदारीमा सञ्चालन गर्ने योजना छनौट गरेको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फाल्गुनन्द–१ सुर्केनागी–पिपलबोटे मोटरबाटो स्तरोन्नति, सोही वडाको डाँडागाँउ सिरानबाट डाँडागाँउ कोफाबुङ मोटरबाटो स्तरोन्नति, सोही वडाको साविक नवमीडाँडा वडा नं. ९ मा शहीद खेलमैदान निर्माणका लागि १०/१० लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।

यस्तै फाल्गुनन्द–२ इम्बुङ विकासे कुलो मर्मत र सोही वडाको इम्बुङ खेल मैदान हुँदै कोलबुङ थरिडाँडा मोटरबाटो स्तरोन्नतिका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

फाल्गुनन्द–३ मा इच्छेगोलाई स्याङ्वा खोला महिला भवन हुँदै जाने मोटरबाटो स्तरोन्नति र सारताप सल्लेरी विजयटार मोटरबाटो स्तरोन्नति तथा निर्माणका लागि १०/१० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

यस्तै फाल्गुनन्द–४ साविक चिलिङ्दिन वडा नं. २, ३, ४ मुङलानचोक खेल मैदान निर्माण र सोही वडाको च्याप्लुङ पात्ले खुङलिवा खुप्वुङ मलवुङ पयुँबोटो मोटरबाटो निर्माणका लागि १०/१० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

फाल्गुनन्द–५ को मन्छुवा श्रीडाँडा कोप्चे खानपानी योजनाका लागि १० लाख रुपैयाँ र फाक्तेप युथ क्लबको खेल मैदान निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । फाल्गुनन्द–६ साविक आङसराङ गाविस वडा नं. ४ धुलपुजे माङओमाङ माङहिम मन्दिर निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी फाल्गुनन्द–७ मा ज्योति चिहानडाँडा खेल मैदान निर्माण, भट्टराई टोल जिरो प्वाइन्ट कायम गरी खोक्रा खोला जाने बाटो स्तरोन्नति र दब्सु सिरान चियावारी चोकमा न्यू लाइफ जनभवन निर्माणका लागि १०/१० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।

यसैगरी प्रदेश सरकारको विशेष अनुदान कार्यक्रमबाट गौरी कुलो निर्माण फाल्गुनन्द–६ सिस्नेरीका लागि १५ लाख रुपैयाँ, पात्ले पल्लके कुलो मर्मत तथा स्तरवृद्धि फाल्गुनन्द–५ का लागि १० लाख रुपैयाँ बजेटको ब्यवस्था गरिएको छ ।

यसैगरी इन्द्रेणी खेल मैदान निर्माण फाल्गुनन्द–४ साविक चिलिङ्दिन गाविस वडा नं. ७, ८, ९ का लागि १० लाख रुपैँया बजेटको ब्यवस्था गरिएको छ ।

यस्तै राई यायोख्खा मन्दिर निर्माण फाल्गुनन्द–३ का लागि १० लाख रुपैयाँ, राधाकृष्ण शिवालय मन्दिर निर्माण फाल्गुनन्द–१ का लागि १० लाख रुपैयाँ र सुनुवार सेवा समाज इम्बुङ भवन मर्मत तथा निर्माण फाल्गुनन्द–२ का लागि २० लाख रुपैयाँ बजेटको ब्यवस्था गरिएको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले फाल्गुनन्द गाँउपालिकालाई पठाएको पत्रमा उल्लेख छ ।

यस्तै जौबारी टोल–सुसुवा सडक स्तरोन्नति फाल्गुनन्द–२ का लागि १५ लाख रुपैँया, बाम्बापुङ–राँगाटार मोटरबाटो निर्माण फाल्गुनन्द–५ का लागि १० लाख रुपैयाँ र साविक इम्बुङ वडा नं. १–६ फाल्गुनन्द–२ मोटरबाटो ढुङ्गा सोलिङका लागि १५ लाख रुपैयाँ बजेटको ब्यवस्था गरिएको उक्त पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्