कालापानीबाट भारतीय फौज हटाउछौँ, नेपाली सैनिक क्याम्प राख्छौँः प्रधानमन्त्री ओली



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, १ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला ओलीले सरकारले विदेशी फौज फिर्ता गराउने वताउनुभयो । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको वताउनुभयो ।

उहाँले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भू–भाग फिर्ता लिन अहिलेको सरकार सक्षम स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको वताउनुभयो ।

तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “यस नाममा केही उछृङ्खल गतिविधि देखिए । कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन् । यसले समाधान हुँदैन । अहिलेको सरकार नेपाली जनताको सरकार हो । देशभक्त सरकार हो । यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन ।”

नेपाललाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले नोपलको जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गर्नुभयो । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उहाँले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने वताउनुभयो ।

“अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने समेत प्रष्ट पार्नुभयो । कतिपय मान्छेले नक्सा सच्याउ भनेर आन्दोलन गरिरहेको भन्दै उहाँले भन्नुभयो “नक्सा त प्रेसमा छाप्दा सच्याउन भइहाल्छ । हामी भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं । नक्सा सच्याउने कुरै होइन ।”

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको वताउनुभयो । उहाँले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्