भ्रम धेरै दिन टिक्दैन्, संविधानमा सबै समुदायका अधिकार लेखाउन संघर्ष गर्ने व्यक्ति मै हुँः अइन्द्रसुन्दर नेम्वाङ



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ३० कात्तिक

संविधानसभाका सदस्य अइन्द्रसुन्दर नेम्वाङले उपनिर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)विरुद्ध विभिन्न भ्रम छर्न खोजिएको भन्दै भ्रम धेरै दिन नटिक्ने वताउनुभएको छ ।

संविधानसभामा आदिवासी जनजाति, महिला, दलित लगायत समुदायको अधिकार तथा मौलिक हक सुनिश्चित गर्न आफूले निरन्तर संघर्ष गरेको स्मरण गर्दै नेम्वाङले अधिकारका लागि लड्ने आफ्नो पार्टीले कुनैपनि समुदायको अधिकार रक्षाका निम्ति पनि उत्तिकै संघर्ष गर्ने वताउनुभयो । फाल्गुनन्द–२ इम्बुङमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका नेम्वाङले जनता भ्रम र यथार्थ छुट्टयाउन सक्षम भइसकेको वताउनुभयो ।

संविधान निर्माणका क्रममा संविधान मस्यौदा समिति अन्तर्गतको मौलक हक, कर्तब्य तथा राज्यका निर्देशक सिद्धान्त उपसमितिको संयोजक रहेर आफूले संविधान निर्माणमा गरेको योगदानको स्मरण गर्दै उहाँले संविधानमा अधिकार लेखाउन आफूहरुजस्तो संघर्ष गरेर देखाउन चुनौति दिनुभयो । “हरेक ठाँउ सबै क्षेत्रको, सबै जातिको, सबै वर्गको अधिकारका लागि लड्दै आयौँ । सत्तामा भएपनि सडकमा भएपनि जनतालाई अधिकारसम्पन्न बनाउने अभियानमा कहिल्यै तलमाथि भएनौँ” नेम्वाङले भन्नुभयो ।

नेम्वाङले अधिकारका लागि लड्दैगर्दा नेकपाले सबै प्रकारका विकृति, वेथिति, अनियमितता र अराजकता विरुद्ध लड्ने वताउनुभयो । फाल्गुनन्द गाँउपालिकामा मातृभाषा शिक्षा प्रवद्र्धनको अभियानलाई प्रभावकारी बनाउन, विद्यालय ब्यवस्थापन समितिहरुको अधिकारको रक्षा गर्न, गाँउपालिकाकै शिक्षा नियमावली पालना गराउन पहल गर्दा नेकपामाथि भ्रम छर्ने प्रयत्न भएको वताउँदै नेम्वाङले नेकपाकै नेतृत्वमा यहाँका सबै विद्यालयमा मातृभाषा शिक्षा सञ्चालन गरेर देखाउने उद्घोष पनि गर्नुभयो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा पाँचथरमा इन्चार्ज इन्द्रबहादुर आङ्बो ‘मौसम’ले घोषणा गरेअनुशार फाल्गुनन्दका ४० वटै विद्यालयमा चाँडै मातृभाषा शिक्षा सुरु हुने उहाँले स्पष्ट पार्नुभयो ।

फाल्गुनन्द गाँउपालिकाको निर्माणमा समेत भूमिका खेलेको, जिल्लादेखि केन्द्रसम्म डेलिगेसन गएको स्मरण गर्दै उहाँले एजेण्डाविहीन भएपछि केही दलहरुले भ्रमको खेती सुरु गरेकाे वताउनुभयो । उहाँले आफूले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई भेटेर आग्रह र अनुरोध गरेर फाल्गुन्द गाँउपालिकामा बजेट र योजना भित्र्याउँदै आएकाे वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्