भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियूले फहरायो राष्ट्रिय झण्डा



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ३० कात्तिक

सन्दकपुरमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूले राष्ट्रिय झण्ड फहराएको छ ।

करिब ४० जनाको संख्यामा इलामबाट गएका अखिल इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएका हुन । सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियू इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसँग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

अखिलका केन्द्रीय सदस्य रवीन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए । केही समयअघि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यू टावर निर्माण अवरुद्ध गरि भारतले उक्त क्षेत्रलाई कब्जा गरेको थियो ।

सुवेदीले भने “भ्यू टावरको काम अगाडि बढाउन त दिएनन् दिएनन्, त्यहाँ प्रवेश निषेधको बोर्ड राखेका रहेछन् भारतीय सीमा सुरक्षा बलले ।’ अनेरास्ववियूका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्ड समेत फालिदिएको उनले बताए ।

सन्दकपुर गाउँपालिकाले सूर्योदयको दृश्यावलोकनका लागि भ्यू टावर बनाउन लागेको थियो । सुवेदीले भने “शनिवार बिहान पनि केही पर्यटकहरुलाई उक्त क्षेत्रमा प्रवेश गर्न दिएनन् । हामी हेरिरहेका थियौं ।”

सो कब्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो । “उक्त अतिक्रमित क्षेत्रमा एकजना मात्र एसएसबीका जवान थिए पहिला” अखिलका केन्द्रीय सदस्य सुवेदीले भने “हामीलाई तर्साउन अलि ठूलो समूह आयो फेरि । उनीहरुले ढुंगा मुडा पनि गरे । हामीले प्रतिकार गर्यौं र हाम्रो राष्ट्रिय झण्डा फहरायौं ।” कव्जा गरिएको जमीनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नारा जुलुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्