फाल्गुनन्द गाँउपालिकामा एकै वर्षमा तीन करोड बेरुजु, बेथिति र अनियमितता बढ्दो



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ३० कात्तिक

आगामी मंसिर १४ गते गाँउपालिका प्रमुखको उपनिर्वाचन हुन लागेको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा वेथिति र अनियमितता बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्षमा फाल्गुनन्द गाँउपालिकाले प्राप्त गरेको रकमको ठूलो हिस्सा बेरुजु रहेको देखाएको छ । गत वर्ष उक्त गाँउपालिकाले संघीय वित्तीय समानिकरण अनुदानबाट रु. ९ करोड ४३ लाख ३१ हजार तथा प्रदेश वित्तीय समानिकरणबाट रु. ३३ लाख ३१ हजार रकम प्राप्त गरेको थियो ।

यसैगरी राजश्व बाँडफाँटतर्फ संघीय सरकारबाट रु. ५ करोड २९ लाख ८४ हजार ५६६ प्राप्त गरेको थियो । यसैगरी प्रदेशबाट राजश्व बाँडफाँटतर्फ रु. २० लाख ७८ हजार ९४६ प्राप्त गरेको थियो । यसप्रकार उक्त गाँउपालिकाले निशर्त अनुदानमा रु. १५ करोड २७ लाख २५ हजार ५१२ प्राप्त गरेको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनले उक्त गाँउपालिकामा उक्त निशर्त अनुदानबाट मात्रै रु. २ करोड ९४ लाख ४६ हजार ३६ रुपैँया बेरुजु रहेको देखाएको छ । बेरुजु रकम कुल निशर्त अनुदान (आम्दानी)को झण्डै २० प्रतिशत हो ।

निर्वाचन हुन लागेको यस गाँउपालिकामा यत्ति ठूलो रकम बेरुजु हुनुले गाँउपालिकामा बेथिति र अनियमितताले प्रश्रय पाएको स्थानीयवासीको भनाई छ । गाँउ कार्यपालिका तथा गाँउ सभामा नेपाली काँग्रेसको बहुमत रहेको यहाँ कानूनी प्रावधानहरुलाई वेवास्ता गर्दै कार्यकर्ता पोस्ने, एकै योजनामा विभिन्न शीर्षकमा रकम दिई निश्चित ब्यक्तिले आम्दानी गर्ने तथा काम नै नगरी रकम निकासा दिने गरिएको स्थानीयको भनाई छ ।

कतिपय काँग्रेसकै कार्यकर्ताहरुले गाँउपालिकामा कर्मचारीहरु दबाव तथा प्रभावमा राखेर रकम अनियमितता गर्ने गरिएकाले यत्ति ठूलो रकम बेरुजु देखिएको वताएका छन् । उनीहरुले कार्यकर्ता पोस्ने, विभिन्न तहका नेता तथा जनप्रतिनिधिले गाँउपालिकालाई कमाई गर्ने ठाँउ बनाउँदा भ्रष्टाचार मौलाएको वताएका छन् ।

दिवङ्गत गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङ रहुञ्जेल गाँउपालिकामा प्राय नियमसंगत नै काम हुने गरेको थियो । तर उहाँको निधनपछि बजेटलाई शतप्रतिशत दलीयकरण गर्न खोजिएको नाम उल्लेख नगर्ने शर्तमा काँग्रेसकै कार्यकर्ताहरुले नै बताएका छन् ।

प्राप्त रकमको २० प्रतिशत बेरुजु हुनुले यहाँ विकास निर्माण तथा सेवा प्रवाहको अवस्था अत्यन्तै कमजोर हुनसक्ने कतिपयले चिन्ता ब्यक्त गरेका छन् । संस्थागत रुपमै भ्रष्टाचार मौलाउँदै जाँदा गाँउपालिकाका गतिविधिमै प्रश्न उठ्न सक्ने उनीहरुको आशंका छन् ।

यस्तो अवस्थालाई चिर्न सम्वद्ध निकायले ठोस् कदम चाल्नुपर्ने, गाँउपालिकामा अल्पमतमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित यहाँ क्रियाशील सबै दलले चनाखो भएर अनियमितता विरुद्ध आवाज उठाउनुपर्ने उनीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्