नाम्दू र ढोडेनीमा मन्त्री आङ्बोलाई भब्य स्वागत, २३ परिवार नेकपामा प्रवेश



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, ३० कात्तिक

उपनिर्वाचन हुन लागेको फिदिम नगरपालिका वडा नं. १ को नाम्दू तथा ढोडेनीमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ सहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्तालाई भब्य स्वागत गरिएको छ ।

नेकपा वडा कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री आङ्बो सहित नेकपा नेता हर्कबहादुर नेम्वाङ ‘मिक्सो’, प्रदेश सभा सदस्य आशारत्न जवेगू, नेकपाका वडाध्यक्षका उम्मेद्वार गजाधर भट्टराई, नेकपा फिदिम नगर इन्चार्ज राधाकृष्ण न्यौपाने लगायतलाई स्थानीयले स्वागत गरेका थिए । स्थानीयले नाम्दू तथा ढोडेनी टोल सहित समग्र जिल्लाको विकासमा नेकपाले ऐतिहासिक छलाङ मारेको पाएकाले आफूहरु सोही पार्टीमा आवद्ध हुन चाहेको वताउँदै नेकपामा प्रवेश गरेका थिए ।

सो अवसरमा दुर्गाप्रसाद खत्री, बृखबहादुर विश्वकर्मा, विजुलीदास मगर, रत्न तामाङ सहित २३ परिवार स्थानीयवासी नेपाली काँग्रेसबाट नेकपामा प्रवेश गरेको नेकपा फिदिम वडा नं. १ का अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । नवप्रवेशीहरुले फिदिमको विकासमा र स्थानीयको समस्या समाधानमा अहोरात्र खट्ने नेकपाका उम्मेद्वार गजाधर भट्टराईलाई विजयी गराउनु आवश्यक रहेको वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्