

फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २९ कात्तिक
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका निलम्बित सांसद् मोहम्मद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रबार अदालतको अन्तरिम आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा थुनछेक बहस भएको थियो । मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना अधिवक्ताहरुले बहस गरेका थिए ।
ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए । आलमविरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो ।
शुक्रबार वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, विनोद पटेलले बहस गरेका थिए । यसअघि अलामको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ताहरु युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेलगायत १५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण गरी तीनवटा अभियोगमा पक्राउ परेका आलमको मुद्दामा गत सोमबारदेखि बहस हुँदै आएको थियो ।
२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इटा भट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।
पक्राउसँगै प्रहरीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो । सो घटनामा संलग्न अन्य १० जना भने फरार छन् । वि.सं. २०६४ साल चैत २८ गते भएको संविधानसभाको निर्वाचनमा आफूले विजय प्राप्त गर्न आलमले मतदानस्थल नजिकै बम विस्फोट गराउने योजना बनाएका थिए ।
बम बनाउने बिस्फोट भई आलमलाई निर्वाचनमा सघाउन हिँडेका काँग्रेसकै कार्यकर्ता सहित भारतीय नागरिकहरुको मृत्यु भएको थियो । यद्यपी यसको यकिन संख्या अझै स्पष्ट छैन् । विस्फोटपछि आलम पक्षले प्रमाण लुकाउन घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी घाइते तथा प्रत्यक्षदर्शीहरुलाई समेत आफ्ना आफन्तको इटाभट्टामा हाल्न निर्देशन दिएका थिए ।
पीडितहरुको पक्षमा बहस गर्नुभएको पूर्व महान्याधिवक्ता डा. युवराज संग्रौलाले आलम पुर्पक्षका लागि थुनामा गएको वताउँदै यसका लागि ठूलो मेहनत गर्नुपरेको उल्लेख गर्नुभएको छ । उहाँले समाजले एउटा सन्देश पाएको भन्दै अब माथिल्लो अदालतमा समेत पीडितको पक्षमा थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।