उपनिर्वाचनः विकासका सवालको ब्यवहारमा उत्तर



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २८ कात्तिक

एक गाँउपालिका प्रमुख र दुई वडाध्यक्ष पदमा उपनिर्वाचन हुने भएपछि पाँचथरमा चुनावी सरगर्मी बढेको छ । विगतका निर्वाचनमा झैँ यो उपनिर्वाचनमा पनि समृद्धि दलहरुको मुख्य एजेण्डा बनेको छ । यस अतिरिक्त पहिचानको सवाल समेत उठिरहेको छ ।

करीब दुई वर्ष प्रदेश नं. १ र संघीय सरकार सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने पाँचथर विकास र समृद्धिका सवालको ब्यवहारमा उत्तर दिन थालेको छ । यहाँ ठूला विकास आयोजना अघि बढ्नुका साथै स्थानीयवासीको मागका आधारमा मझौला र साना विकास योजनाका लागि प्रशस्त बजेट छुट्टिन थालेको छ । विशेषत पूर्वाधार विकासका कार्य अघि बढेपछि नेकपाले तथ्याङ्कमै अन्य दललाई जवाफ दिन थालेको हो ।

जिल्लाको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनलाई दुई मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले प्रतिष्ठाको विषय वनाएका छन । विगतमा यहाँ काँग्रेसका अमरकुमार नेम्वाङ गाँउपालिका प्रमुख हुनुहुन्थ्यो । उहाँको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यस गाँउपालिकामा पहिचान पक्षधर समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपस्थिति समेत सशक्त छ । तर वर्तमान सरकारकै अगुवाईमा पूर्वी पहाडको विशेष महत्वका ठूला आयोजना अघि बढेपछि नेकपा विकास एजेण्डामा हाबी देखिएको हो ।

पाँचथर, इलाम र धनकुटाको ठूलो क्षेत्रलाई समेट्ने राँके–रबी–भेडेटार सडक निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष २० गते पाँचथरको मिक्लाजुङ गाँउपालिका–४ रबीका शिलान्यास गर्नुभएको १०१ किलोमिटर लामो यो सडकको कूल बजेट रु. ३ अर्ब ७० करोड छ । भारतको सहयोगमा निर्माणमा हुने यो सडकले फाल्गुनन्दका तीन वटा वडालाई समेट्छ ।

पूर्वी पहाडमा विशेष महत्व राख्ने तमोर जलाशययुक्त आयोजना निर्माण हुने हालै निश्चित भएपछि यहाँ खुसियाली थपिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले विशेष चासो राख्नुभएको यो आयोजना निर्माणका लागि पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको नेतृत्वमा सरोकार समिति गठन भई सक्रिय थियो । उपनिर्वाचनकाे प्रचारका क्रममा प्रतिनिधि सभा सदस्य एवं उक्त सराेकार समितिका संयोजक नेम्वाङले तमोर जलाशययुक्त आयोजना निर्माणको सुनिश्चितता आफूहरुकै कारण भएको उद्घोष गर्दै आउनुभएको छ ।

पाँचथरमा संघीय सरकार र प्रदेश सरकारले करीब रु. १० अर्बको विकास आयोजना अघि बढाइरहेका छन् । पूर्वी पहाडलाई द्रुत मार्गबाट तराईसम्म जोड्ने तमोर कोरिडोर निर्माणको कार्य तीब्र गतिमा छ । पाँचथरमा संघीय र प्रदेश सरकारले फिदिम–फालोट सडक, फिदिम–नवमीडाँडा सडक, फिदिम–यासोक सडक, गुम्बाडाँडा–इम्बुङ–नवमीडाँडा सडक, यासोक–उत्तरे लगायत सडकको कालोपत्रे तथा स्तरोन्नतिको कार्य चलिरहेको छ । यी सडकमा मात्रै तीन अर्बभन्दा बढी बजेट विनियोजन भएको छ ।

यहाँ चार वटा ठूला खानेपानी आयोजना निर्माण भइरहेका छन । शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा समेत संघ र प्रदेशको करोडौँ बजेट भित्रिएपछि यहाँ विकासको लहर नै चलेको छ । पछिल्लो दुई वर्षमा अर्बौँ बजेट भित्र्याएर कयौँ आयोजना सम्पन्न गरेपछि नेकपाले ब्यवहारमा उत्तर दिन थालेको हो । पाँचथरको साविक आङसराङ गाविसका पूर्वअध्यक्ष देउप्रसाद आङ्देम्बेले भन्नुभयो “अव चुनावमा कार्य प्रगतिको विवरण र भावी योजनाको खाका पेश गर्न सक्नुपर्छ ।” गाली गरेर चुनाव जित्नेले उल्लेख्य काम समेत गर्न नसक्ने आङ्देम्बेको भनाई छ ।

आफूहरुले दुई वर्षमै जिल्लामा गरेका कामको पूर्ण विवरण जनतालाई पेश गरिरहेको र भावी योजनाको स्पष्ट मार्गचित्र देखाउने गरेको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको भनाई छ । “हामी कसैलाई गाली गर्दैनौँ । बरु प्रतिवद्धताअनुशार के कारणले कुन काम गर्न सकिएन् भनेर जनतालाई बुझाउछौँ । जनताका गुनासा सुन्छौँ” नेम्वाङले भन्नुभयो ।

नेकपालाई छोटो समयमा धेरै काम गर्न अवसर मिलेकाले यहाँ यो दल अरुभन्दा फरक देखिएको हो । चालु आर्थिक वर्षमा पाँचथरमा मात्रै चार अर्बभन्दा बढी बजेट भित्र्याएर लोकप्रियता कमाउनुभएका प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो कतिपय स्थानीय तहका कारण बजेट खर्च गर्न समस्या भएको सुनाउनुहुन्छ । “बजेट खर्च गर्न अवरोध गर्ने, उपभोक्ता समितिबाट रकम माग्ने, टेण्डर प्रकृयामा अवरोध गर्नेजस्ता प्रवृत्ति स्थानीय तहमा देखिएका छन्” मन्त्री आङ्बोले भन्नुभयो “यस्तो अवस्थालाई चिर्नैपर्ने अवस्था छ ।”

पूर्वको दुर्गम पहाडी जिल्लामा राष्ट्रिय महत्वका आयोजना निर्माण हुन थाल्नु र अर्बौँको लागतका योजनाहरु अघि बढ्नुले सत्तारुढ दललाई नयाँ उचाईमा पु¥याएको स्थानीयवासीको भनाई छ । कतिपय स्थानीयवासी अहिलेजस्तै विकासको रफ्तार रहनसके जिल्लाको मुहार फेरिन लामो समय नलाग्ने धारणा राख्छन् ।

प्रतिक्रिया दिनुहोस्