फाल्गुनन्द गाँउपालिका भ्रष्टाचारको दलदलमा फसेको छः मन्त्री आङ्बो



फाल्गुनन्द खवर सम्वाददाता
फाल्गुनन्द, २८ कात्तिक

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उपनिर्वाचन हुन लागेको पाँचथरको फाल्गुनन्द गाँउपालिका भ्रष्टाचारको दलदलमा फसेको वताउनुभएको छ ।

गत वर्षको विकास बजेट र बेरुजुको विवरण पेश गर्दै मन्त्री आङ्बोले स्थानीय तहको असहयोगका कारण प्रदेश र संघीय सरकारले सोचअनुशार विकास निर्माण कार्य गर्न नसकेको वताउनुभयो । “गत वर्ष शसर्त बाहेक फाल्गुनन्दको बजेट रु. १५ करोडको हाराहारी थियो । तर, त्यसैमा रु. २ करोड ९४ लाख ४६ हजार बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले औँल्याएका छ” मन्त्री आङ्बोले भन्नुभयो । “यत्रो रकम कहाँ गयो ? यसकाे सबैले खाेजी गर्नुपर्ने बेला भएकाे छ ।” गाँउपालिकाको वर्तमान नेतृत्वप्रति आक्रामक देखिनुभएका आङ्बोले थप्नुभयो “१५ करोड बजेटमा तीन करोड बजेट बेरुजु बनाउने यो नेतृत्व अब चाहिँदैन् ।”

तत्कालीन अध्यक्ष अमरकुमार नेम्वाङ हुँदा गाँउपालिका सहि मार्गमा हिँडिरहेको भएपनि उहाँको निधनपछि यहाँको बजेटमा एक दलको राजनीतिकरण भएको आङ्बोको भनाई छ । महालेखापरीक्षकको कार्यालयले ठूलो रकम बेरुजु देखाएपछि जिल्ला प्रशासन कार्यालयले गाँउपालिकाको कार्यालयलाई बोलाई स्पष्टिकरण सोधेको उहाँले जानकारी दिनुभयो ।
बराहक्षेत्र (कात्तिके पूर्णिमा) मेला २०७६ पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलपछि फाल्गुनन्द गाँउपालिका–२ इम्बुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले फाल्गुनन्द गाँउपालिकामा रोजगारी सिर्जना, प्रदेश र केन्द्रबाट थप बजेट निकासा तथा भ्रष्टाचारको अन्त्यका लागि नेकपाको विजय अत्यवाश्यक रहेको वताउनुभयो ।

आफैँले बनाएको कानूनविपरित गाँउपालिका गएपछि शिक्षक नियुक्ती रोक्न बिद्यालय ब्यवस्थापन समितिले माग गर्दा नेकपामाथि थुप्रै भ्रम छर्न खोजिएको वताउँदै मन्त्री आङ्बोले शिक्षा ऐन र नियमावली विपरित विद्यालयलाई कार्यकर्ताको भर्ती केन्द्र बनाउँने विषयको विरोध गरिएको स्पष्ट पार्नुभयो । उहाँले उच्च अदालतको अन्तरिम आदेशले भाषा शिक्षा रोक्नु भनेको नभई शिक्षक नियुक्तीलाई कानुनसम्मत गर भनेको वताउनुभयो । उहाँले प्रचलित कानूनअनुशार पाँचथरका सबै स्थानीय तहमा भाषा शिक्षा लागू हुने, फाल्गुनन्दका ४० वटा विद्यालय भाषा शिक्षा सुरु गर्न प्रदेश सरकारले चाँडै बजेट उपलब्ध गराउने वताउनुभयो ।

फाल्गुनन्द गाँउपालिका वडा नं. २ का वडाध्यक्ष बहादुरसिंह नेम्वाङ वडाध्यक्ष नरहेको भनेर कुप्रचार गरिएको वताउँदै आङ्बोले नेम्वाङ त्यहाँका जनताको चाहनाले वडाध्यक्ष भएकाले उहाँको पद नरहने भन्ने कुरा भ्रम मात्रै रहेको स्पष्ट पार्नुभयो । फाल्गुनन्दवासीले मकैबारी फाँडेर धतुरोको खेती नगर्ने भन्दै आङ्बोले फाल्गुनन्द गाँउपालिका नेकपाको सरकार बन्ने दिशामा गएको वताउनुभयो । फाल्गुनन्दमा विकासको मुल फुटाउने वताउँदै उहाँले भ्रष्टाचारको विषयमा समेत अविलम्ब छानविन हुनेसक्ने संकेत गर्नुभयो ।

कार्यक्रमलाई संविधान सभाका सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपा फाल्गुनन्द अध्यक्षका उम्मेद्वार वीरबहादुर कुरुम्बाङ, कलाकार राजेश घतानी लगायतले समेत सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा काँग्रेस र समाजवादी पार्टीबाट दर्जनौँ स्थानीयवासी नेकपामा प्रवेश गरेका छन ।

प्रतिक्रिया दिनुहोस्