जनप्रतिनिधि नहुँदापनि विकासको अगुवाई गरेँ, फाल्गुनन्दमा अर्बौँ बजेट भित्र्याँएः वीरबहादुर कुरुम्बाङ



वीरबहादुर कुरुम्बाङ

फाल्गुनन्द खवर सम्वाददाता
फाल्गुनन्द, २८ कात्तिक

आसन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका उम्मेद्वार वीरबहादुर कुरुम्बाङले आफू जनप्रतिनिधि नभएपनि फाल्गुनन्द गाँउपालिकाको विकासको अगुवाई गरेको वताउनुभएको छ ।

फाल्गुनन्द गाँउपालिकामा आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहलमा प्रदेश र संघीय सरकारबाट अर्बौँ बजेट भित्रिएको तथ्याङ्क पेश गर्दै कुरुम्बाङले आफू अध्यक्ष निर्वाचित भए थप बजेट भित्र्याउने दाबी गर्नुभयो । नेकपा पाँचथरका सचिवालय सदस्य एवं फाल्गुनन्द गाँउपालिका कमिटीको अध्यक्ष समेत रहनुभएका कुरुम्बाङले सडक, भवन, खानेपानी लगायत पूर्वाधार विकासमा प्रदेश र संघीय सरकारले अघि बढाएका दर्जनौँ मुख्य आयोजनाहरुको सूचि पेश गर्नुभयो ।

“बरु स्थानीय तह प्रदेश र संघीय सरकारका योजना कार्यान्वयनमा असक्षम देखियो”, कुरुम्बाङले भन्नुभयो “उपभोक्ता समिति निर्माणमा अवरोध गर्ने, समितिहरुबाट कमिसन माग्ने, समयमा टेण्डर नलगाउने जस्ता प्रवृत्ति यहाँ देखिएका छन् । यसलाई चिर्नु अत्यावाश्यक छ ।” दक्षिणी पाँचथर सहित पूर्वी पहाडको विकासको मेरुदण्ड राँके–रबी–भेडेटार सडक निर्माणको कार्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अगुवाईमा अघि बढेको र यसले फाल्गुनन्दको रुप बदलिने कुरुम्बाङको भनाई छ ।

फाल्गुनन्दमा फिदिम–चोकमागू–नवमीडाँडा सडक संघीय सरकारको लगानीको अघि बढेको छ । यस अतिरिक्त प्रदेश सरकारले फाल्गुनन्द गाँउपालिकामा अर्बौँका विकास आयोजना अघि बढाएको कुरुम्बाङले वताउनुभयो । सिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक, गुम्बाडाँडा–इम्बुङ सडक, उत्तरे–यासोक सडक, नवमीडाँडामा लिफ्टिङ खानेपानी आयोजना, डेरीभञ्ज्याङ–चिलिङ्दिन–आङसराङ सडक, दर्जन बढी खेल मैदान निर्माण लगायत कार्य नेकपाको अगुवाईमा अघि बढेको उहाँको भनाई छ ।

कुरुम्बाङले उपनिर्वाचनका कारण प्रदेश र संघका केही योजनाहरु रोकिएको जानकारी दिँदै निर्वाचन लगत्तै यी योजना अघि बढाउन पार्टीले पहल गर्ने वताउनुभयो । उहाँले दुई वर्षभित्र फाल्गुनन्दमा विद्युतिकरण सम्पन्न गर्ने, एक घर एक खानेपानी धारा निर्माणको ब्यवस्था गर्ने, सबै विद्यालयमा मातृभाषा शिक्षा लागू गर्ने, सबै विद्यालयका जीर्ण भवनहरु हटाई नयाँ भवन निर्माण गर्ने, छात्रामैत्री तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने आफ्नो योजना रहेको कुरुम्बाङको भनाई छ ।

गाँउपालिका अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेपछि बुधवार फाल्गुनन्द गाँउपालिकाको केन्द्र घुर्विसेपञ्चमीमा आयोजित सभालाई सम्बोधन गर्दै कुरुम्बाङले गाँउपालिकाको बजेटलाई स–सानामा योजनामा लगाई तिनीहरु पूरा नगरी वर्षेनि सिमित ब्यक्तिले गोजी भर्ने अवस्था आफू अध्यक्ष निर्वाचित भए सदका लागि अन्त्य गर्ने घोषणा समेत गर्नुभयो । कार्यक्रमलाई प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ, संविधान सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ लगायत नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्