शहरसम्मै आलम आतंकः प्रत्यक्षदर्शीलाई बन्धक बनाएर बयान फेर्न लगाइयो



बम विस्फोटमा घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमार ।

फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २६ कात्तिक

रौतहटको राजपुर फरदहवामा बम विष्फोटको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता, सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा एक जना प्रत्यक्षदर्शी र घाइतेले बाध्य भएर बयान फेर्न आएको बताएका छन् ।

सोमबार रौतहट जिल्ला अदालतमा आलमको थुनछेक बहस चलिरहँदा बम विस्फोटमा घाइते भएका भारतीय नागरिक गौरीशंकर राम चमारले बयान फेरेका थिए । आलमसहित ११ जनामाथि मुद्दा दायर भएपछि आलमका आफन्तले ४ दिनसम्म बन्धक बनाई झुठो बोल्न लगाएको घाइते चमारले बताएका छन् ।

वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षी बनेर गएका चमारले आफ्नो बयान एकाएक फेरिएपछि प्रहरीले चमारलाई पक्राउ गरेको थियो । आलमका वकिलको साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

सरकारी साक्षीका रुपमा रहेका चमारले बयान बयान फेर्दै अदालतमा आएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएको सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर ‘स्टोभ’ पड्केर घाइते भएको कागजात पेस गरेका थिए ।

यसअघि विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन् । २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन् ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी थिइन् । उनले पनि दबाबमा परेर बयान फेर्न बाध्य भएको बताएकी छिन् ।

४ दिनअगाडि भारत सीतामढीकै मुसाचौकस्थित आफ्नो घरमा बसिरहेको बेला ४–५ जना मानिस जीप लिएर आइ केही काम छ भनी अपहरण गरी आलमका सम्धी शिवहर विधानसभा क्षेत्रका विधायक सरफुद्दिन सेखको घरमा बन्धक बनाइ राखेको बताए ।

त्यसपछि आइतबार मात्रै चमारलाई भारतको सीमावर्ती बजार बैरगनियाको पटेल चोकमा छोडिएको थियो । त्यहाँ पहिलेदेखिनै दुईवटा मोटरसाइकल लिएर पर्खिरहेका तरुणदल रौतहटका अध्यक्ष सेख नौसादसहित तीनजनाले चमारलाई गौरस्थित अभियुक्त आलमको घरमा ल्याएका थिए । चमारलाई ज्यान लिनेसम्मको धम्की दिँदै ‘तिमी अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर जलेको भनी बयान दिनु’ भनी सिकाएपछि सोमबार जिल्ला अदालत रौतहटको गेटमा छाडेका थिए । तर, प्रहरीले अदालतभित्र जाने अनुमति नभएको भन्दै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्