लिङ्गीय जटिलता, नैतिकता र परिवर्तनको अभिभारा



मनिषा आचार्य

मनिषा आचार्य

झापादेखि पाँचथरसम्मको यात्राका क्रममा पश्चिम नेपालबाट पूर्वको धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन गर्न हिंडेकी एकजना महिलासँग मेरो भेट भयो । झापाको बिर्तामोडबाट पाँचथरको फिदिम आइपुग्न ट्याक्सीमा करिवन ५÷६ घण्टा लाग्छ । संयोगले हामी एउटै गाडीमा परेछौँ, अझ एउटै पङ्क्ती पनि । दुरी वढ्दै जाँदा हामीले एक–अर्काको परिचय लिने दिने गर्यौँ । पुख्र्यौली घर प्रदेश नम्बर ५ बताउने उनी हाल अमेरिका स्थित न्युयोर्क शहरमा बसोवास गर्दिरहिछन् ।

घुम्ने, समाज सेवा गर्ने उनका मुख्य रुचीका विषय रहेछन् । मैले आफ्नो परिचयमा आफू एक विद्यार्थी र आफ्नो पनि पहिलो रुचीको विषय समाज सेवा नै भएको वाताए पश्चात उनले आफू पनि सानैछदाँदेखि क्रान्तिकारी स्वाभावको भएको, परिवार र समाजमा अरुभन्दा अलिक फरक खालको बिचार भएको र अलिक बिद्रोही स्वभावको भएको बताइन । अरु सेवा भन्दा वढी उनको प्रेम राजनीतिमा रहेछ ।

व्यक्ति र समाजमा जरा गाडेर बसेका अनेकन कु–संस्कार, कुरिती, विभेद, अन्धविश्वास, अन्याय, अत्याचार र हिंसालाई निरुत्साहित गर्दै समतामुलक समाजको निर्माण गर्न आफ्नो तवरबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने चाहना जब उनले समाजलाई बुझ्न थालिन तबबाटै उनलाई त्यो किसिमको भावले ओतप्रोत गरायो रे ।

उनले बिस्तारै आफ्ना कुरा सुनाउदै लगिन क्रमश…. । ‘कुरा २०४६ सालतिरको हो, उतिवेला म १६ वर्ष पुगेकि थिए । प्लसटु पढ्दै गरेकी मलाई घरपरिवार आफन्तबाट बारम्बार विवाहको प्रस्ताव आउन थाल्यो । विपन्न परिवारमा जन्मिएकी मलाई शिक्षाको अवसर दिइए पनि शिक्षा पूरा गर्न नपाउँदै विवाहको दवाव आउनु मलाई विल्कुलै सैह्य थिएन । त्यसपश्चात म घरबाट भागेर फुपूको घरमा गएर वसेँ ।

उतैबाट स्कुल जान्थेँ, उतिवेला प्लसटुलाई क्याम्पस नै भनेर भनिन्थ्यो । कलेजमा पढ्दा विभिन्न विद्यार्थी संगठनहरु कमिटी गठन गर्न आउँथे । उनीहरुका एजेण्डाहरु उनीहरुले उठाएका मुद्दाहरु, उनीहरुले गरेका संकल्पहरु एकदमै राम्रा र प्यारा लाग्न थाले । त्यतिबेलादेखि नै कमिटेड हुँदै काम गर्न थालँे । विस्तारै यो कुरा एक–कान दुईकान हुदै परिवारसम्म पुग्यो, मेरो परिवारले राजनीतिलाई उति राम्रो नजरले हेर्दैनथ्यो ।

नेपाली समाज, दुरदराजमा रहेको एउटा गाँउ, त्यहि परिवेशमा हुर्केकी म, लिङ्गको आधारमा छोरी अनि रोजाई समाजसेवा र राजनीति, शिक्षाको अलिकति हिस्सामात्र बोकेको समाज र त्यहाँका मानिसहरुको बुझाई, राजनीतिमा लाग्नु त्यति सहज थिएन । गाउँको बिग्रेकी केटीको रुपमा मलाई समाजले दर्ज गर्न थाल्ने नै भयो । तर कतिपनि बिचलित नभई मैले आफ्नो मनमा खडा भएका परिर्वतनका ज्वाराभाटाहरुलाई क्रमशः निखार्दै दृढ संकल्पका साथ आफूले देखेको सपना र अप्ठ्यारो परिस्थितिका बीच रोजेको बाटोबाट गन्तव्यसम्म पुग्ने अठोट गरेँ ।

जिल्लामा विभिन्न खालका कमिटीहरु गठन हुन्थे । विभिन्न खालका सभा, सेमिनार, गोष्ठी र तालिमहरु सञ्चालन हुन्थे । जिल्लाका प्रत्येक कमिटीहरुमा महिलाको सहभाीगता न्यून मात्रामा थियो । हरेक क्षेत्रमा पुरुषको वाहुल्यता भएको जमातमा म एक्लै हिंड्दा समाजले मलाई फरक दृष्टिकोणले हेर्ने गर्दथ्यो । त्यतिमात्र होइन छर–छिमेक र आफन्तले मेरो कारणले बा–आमालाई निरन्तर कु–तर्कना गरेर पीडा दिइरहन्थे । जीवनका गतिहरु आफ्नै हिसावमा चलिरहेकै थिए, मेरो यात्रा जारी नै थियो । उतिवेला मैले प्लसटु पनि सकेँ, विविध आरोह र अवरोधका बीच मैले वैवाहिक जीवनको प्रारम्भ गर्न वाध्य भएँ ।

मैले, मलाई शिक्षा प्राप्तिको मोह र सामाजिक जटिलताप्रतिको संवेदनशिलताले वैवाहिक जीवनमा गृहणीको रुपमा परिवारमा कैद गर्न सकिन् । अनेकौँ अपमान जटिलता, आर्थिक कठिनाईका बावजुत पनि सामाजिक कार्यहरुमा निरन्तर अघि वढिरहे । यहि क्रममा विभिन्न व्यक्तिहरुसँग सहकार्य गरेर ग्रामीण महिलामा जटिल समस्या एवं उत्पीडनका विविध रुपबारे अध्ययन गर्दै आफ्नो अध्ययनको पूर्ण निश्कर्ष तत्कालीन समाजमा उठिरहेको वर्ग संघर्षको उत्कर्ष जनआन्दोलनमा सामेल भएर उत्पीडित वर्गको राज्य सत्ता प्राप्त गर्ने महान अभियानमा तन, मन, बचन र कर्मले तल्लिन भएँ ।

जनआन्दोलनको समाप्तिपछि मुलुक शान्ति प्रकृयामा पुगेर देश गणतन्त्रमय हुँदै थियो, हामीले उठाएका मुद्दाहरु हामीमाथि भएका दमनहरु अन्याय र अत्याचारहरु, समाजमा देखापरेका विसङ्गतिहरु र समुन्नत राष्ट्र निर्माणमा देखिएका वाधाहरु पन्छिएर मुलुक नयाँ दिशातर्फ अघि वढ्दै थियो । शान्ति प्रकृयाताका देशमा नयाँ सरकार बनिँदै थियो ।

सम्पूर्ण उत्पीडनमा परेका गुमनाम चिच्याहटहरुले बल्ल खुलेआम आफ्ना खुलेर राख्न सक्ने भएका थिए । म आफैँलाई पनि अझ जनताका सामु प्रत्यक्ष रुपमा उपस्थित भएर उनीहरुका गुनासाको सुनुवाई गर्ने अवसर त्यस बेला प्राप्त भएको थियो । जनताका काम गर्दा कहिले घर फर्कदा रातको १२ बज्थ्यो कहिले अरु कसैले घरसम्म छोडिदिन्थ्यो, समयक्रम यसरी नै चलेकै थियो, माइती पक्ष र घर पक्षबाट मलाई कुनै समर्थन थिएन ।

आफ्नै क्षमतालाई प्रयोग गरेर मेरो यात्रा जारी थियो, काम गर्ने सिलसिलामा मलाई धेरै अप्ठ्याराहरु आए । केही पुरुष मित्रसँग वोल्नै नहुने, हिंड्नै नहुने भयो । थरी थरीका कुराहरु फरक–फरक व्यक्तिहरुसँग जोडिएर मेरो नाम बाहिर आउन थाल्यो । सबैजसो क्षेत्र र निकायमा पुरुषहरुको सशक्त प्रतिनिधित्व भएका कारणले जुनसुकै काम गर्दा समन्वय उनीहरुसँग गर्नुपर्ने वाध्यता थियो ।

यही वाध्यताले दुनियाँलाई नानाथरी टिक्का टिप्पणी र आरोप लगाउन मार्ग प्रशस्त गरिदियो । यस्ता खालका आरोप र प्रत्यारोपलाई जति नै खण्डन गरेपनि मैले सकिन । अन्ततः मैले राजनीतिक÷सामाजिक जीवनलाई तिलाञ्जली दिएँ । जब मैले राजनीति छोडे र केही वर्षपछि हामी स–परिवार अमेरिकातिरै लाग्यौँ ।’

उनका कुरा सुनेपछि मेरा मनमा लाखौँ प्रश्नहरुले डेरा जमायो । के यस्तै आरोपहरुको खण्डन गर्न नसकेर क्षमता भएका मानिसहरु अबिचलित नभएका छैनन् ? राजनीतिमा मात्र होइन हरेक क्षेत्रमा महिला पुरुषलाई यस्तै खालका आरोपहरु लाग्ने गर्छन ? कि मानिसहरुको क्रियाकलाप आरोप लागे जस्तै प्रकारको छ ? हरेक देखिने क्षेत्रमा यी र यस्ता खालका समस्याको के एकजना महिला वा पुरुषले समाधान के हुनसक्छ ? जस्ता प्रश्नै प्रश्नमा फिदिम आइपुगेको पत्तै भएन । हामीले एक–आपसमा इमेल र फोन नम्बर साटासाट गरेर छुट्टियौँ ।

वास्तवमा यो घटना त एउटा प्रतिनिधि घटना मात्र हो । राजनीतिमा मात्र होइन हरेक राज्यका हरेक संगठन, गैर–सरकारी तथा सरकारी संगठनहरुमा यी र यस्ता खालका घटनाहरु दिनप्रतिदिन घटिरहन्छन् । हामी कुनै न कुनै माध्यमबाट विभिन्न व्यक्तिहरुलाई जोडेर यस्ता खालका आक्षेपहरु सुनिरहेका हुन्छौँ । कतिपय आक्षेपहरुमा सत्यताको पुष्टि समेत हुन्छ भने कुनै धेरैजसो यस्ता घटनाहरु महिलासँग वढी जोडिएर आउने गरेका छन । कुनै एक क्षेत्रमा सफल भएकी महिलाले शतप्रतिशत यस्तो आरोप सहेकी छिन् ।

एउटा मान्छे आफैँमा कुनै एक क्षेत्रमा अब्बल हुन सक्छ । साँच्चिकै अब हामीले यस्ता गलत आरोपहरुलाई खण्डन गर्ने सामथ्र्य र चेतना राख्नुपर्छ र गलत बाटो अपनाएर सफल हुन चाहनेहरुले बेलैमा सचेत बन्नुपर्छ किनकी गलत बाटो समाएर चाँडै सपना पूरा गर्ने आकाङ्क्षा प्रायः मानिसमा रहेको पाइन्छ । तर हामीले सचेत हुनुपर्ने कुरा के हो भने गलत बाटोबाट सही लक्ष्यमा पुग्न सकिन्न ।

बढीजसो यस्ता घटनाक्रमहरु÷समाचारहरु युवा पिँढीहरुमा जोडिएर हामी उमेरको गणनामा मात्र युवा होइन साँच्चिकै मन र मस्तिस्कबाट युवा भएको आफू स्वयंले महसुश गर्न र अरुलाई प्रत्याभूत गराउन सक्नुपर्छ । अघिको घटनामा जस्तै पुनश्चः हामी आफ्नै सपनालाई कुण्ठित गरेर गन्तव्यमा पुग्ने पाइलालाई रोकेर त्रासदिपूर्ण जीवन गुजारिरहेका त छैनौँ ? अबको समय भनेको कसैले–कसैको निम्ति भञ्ज्याङ लगाएर कसैलाई माथि उकाल्ने र तल झार्ने भन्ने समय होइन ।

यो समय भनेको केवल राय सल्लाह लिँदै आफ्नो क्षमता र वौद्धिकतालाई निखारेर काम प्रतिको निष्ठा, दृढता इमान्दारिता र कार्यकौशलतालाई हतियार बनाएर आफ्नो भविष्यको खाका आफैँ कोर्ने हो । राज्यका विभिन्न तहमा पुगेका महिला÷पुरुष माथि पटक पटक एकअर्कोसँग जोडिएर आउने गरेका नामहरु नभएका होइनन् । तर कुनै एक व्यक्तिकै कारणले मात्र प्राप्त गरेको भनेर खण्डन गरिनुले विभिन्न खालका समस्याहरु निम्त्याएका छन् ।

वास्तवमा सफलता आफैँमा आकर्षक शब्द हो । हामी आफ्नो जीवनमा कुन कुरालाई सबैभन्दा महत्वपूर्ण ठान्छौँ ? सफलता धेरै हदसम्म त्यसैमा निर्भर रहन्छ । आफ्नो समय तथा शक्तिको प्रयोग गरिरहेका छौँ । त्यसमा हामी आफैँ अग्रसर भएका छौँ की छैनौँ भन्ने हो । कुनै पनि व्यक्तिले सफल बन्ने सपना देखेको हुन्छ । सुरुआती दिनमा सपनाहरु अपत्यारिला, अनौठा हुन सक्छन् । तर समय परिर्वतनशील छ । त्यसैले मान्छेले असम्भव जस्तो कुरा केही नभएको बुझ्न थालेका छन् ।

चाहे त्यो सपना ठूलो, ३४० इसापूर्वको अलेक्जेन्डर महानको विश्व विजयी सपना होस् या त २१ औँ शताब्दीको एलोन मस्कको बिना चालक पनि चल्न सक्ने सवारी साधनको । एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पुग्छु भन्नु, रोनान्ड रेगनले चन्द्रमामा पनि मानिस जान सक्छ भन्नु उतिबेला हास्यापद नै थिए । तर ती सबै कुरा मानिसले प्राप्त गरे । सपना देख्नु र त्यसलाई प्राप्त गर्नु त्यति सजिलो विषय पक्कै होइन । मानिसले जोखिम नलिने, मिथ्या आरोपसँग भाग्ने, स्पष्टिकरण नदिने, नयाँ काम वा परिस्थितिको सामना गर्न डराउने हो भने पृथ्वीमा आज विकास भएका कुनै साधन व्यवस्था हुने नै थिएन नी होइन र ?

अहिले नैतिकताको आयामलाई फरक रुपमा हेर्ने गरिन्छ । सार्वजनिक सेवा प्रवाहमा नैतिकताको आयाम जोडिएको छ । शासकीय मामलामा नैतिकताको विषय उठ्नु सुखद छ । समाजलाई व्यवस्थापन गर्ने सन्दर्भमा आपसी विश्वास आदीलाई नैतिकताका कुरालाई जोडेर हेर्ने गरिन्छ । यो विषय मानव जीवनमा महत्वपूर्ण रुपमा आँउछ । मानिसले दैनिक जीवनका अनेक क्रियाकलापलाई उसले प्राप्त गरेको र अवलम्बन गरेको नैतिकताको विषयले ठूलो असर पार्दछ ।

सार्वजनिक रुपमा रहनेहरुले त यो विषयलाई अझ महत्व दिनुपर्ने हुन्छ । समाज अगुवाको हरेक क्रियाकलाप व्यवहारलाई अन्य व्यक्तिहरुले नियालिरहेको सन्दर्भमा त्यस्ता अगुवाको व्यवहार उच्च नैतिक चरित्रको हुनु आवश्यक छ । नैतिकताको प्रवद्र्धनले सुशासनलाई टेवा पु¥याउछ साथै नैतिकतासँगै सदाचार पनि जोडिएर आउँछ । नैतिकता र सदाचारलाई व्यक्तिको उत्प्रेरणा र सद्व्यवहारको सुचालकको रुपमा लिन सकिन्छ । सार्वजनिक सेवा प्रवाहका लागि उत्प्रेरित भई सो सेवामा प्रवेश गर्ने सबैले शुरुका दिनदेखि नै उच्च मनोवलका साथ नैतिकताको मार्गमा हिंड्न जरुरी छ ।

व्यक्ति स्वयंको लगनशिलताले मात्र सफलता सम्भव छ । साथै हरेक सफलताको पछि असफलता संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कदर हुन्छ । अनावश्यक चिजका लागि परनिर्भर हुनुभन्दा आफ्नो स्वाभिमान वचाउन आत्मनिर्भर सबैले बन्नुपर्छ । याद गरौँ जसको सपना हुन्छ त्यसलाई पूरा गर्ने आट र साहस धैर्यता र निरन्तरता मेहनत हुन्छ, उसैले सपना पूरा गर्छ किनकी सपना जसले देख्छ त्यो पूरा गर्ने जिम्मेवारी पनि उसैको हुन्छ ।

तसर्थ, हिंसा त अरुमा होइन हाम्रो मानसिकतामा छ । संरचना र हल्लाहरुमा छ । प्रचलन र कार्यान्वयनमा छ । यस्ता कुराहरुले युवाहरुलाई मर्माहत मात्र होइन उनीहरुको सम्भावनालाई समेत गिज्याएको छ । निषेध गरेर आरोप प्रत्यारोप गरेर केही हुनेवाला छैन । बदल्न यहिँबाट हरेकबाट र आजैबाट सुरु गरौँ, हाम्रो सोच, आचरण, व्यवहार र क्रियाकलापमा । (लेखक तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी)की केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्