महागुरु फाल्गुनन्दका १० जीवन दर्शन



महागुरु फाल्गुनन्दको प्रतिमा ।

आङ्बुहाङ अबोध अविरल

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्रमा अवस्थित इभाङ चुक्चिनाम्बामा जन्मिनुभएको थियो । उहाँ सामान्य किसान परिवारमा जन्मिनुभएको थियो । बाल्यकाल गरिबी, अभाव र मातृ वियोगमा बित्यो । उहाँको युवावस्था ब्रिटिस गोर्खा सेनामा बित्यो । र, जीवनको उतराद्र्ध समाजमा आध्यात्मिक विकास, मानव सेवा, समाज सुधार र शिक्षामा विताउनुभयो ।

उहाँले गरेको यही कार्यको मूल्यांकन गर्दै सरकारले राष्ट्रिय विभूतिका रुपमा विभूषित ग¥यो । महागुरु फाल्गुनन्दले जीवन दर्शन र सिद्धान्तका कुनै ठूला पुस्तक लेख्नुभएन् । तर, उहाँको कार्य, दिएको सिवा खाहुन् (उपेदश) र जीवन पद्धतिको अध्ययन गर्दा जीवन दर्शनहरु भेटिन्छन । जसले आज लाखौं मानिसको जीवनलाई मार्गनिर्देश गरिरहेका छन । फाल्गुनन्द दर्शनलाई मुख्य निम्न बुँदाहरुमा उल्लेख गर्न सकिन्छ ।

१. शान्ति

शान्ति र अहिंसा महागुरु फाल्गुनन्दका मुख्य दर्शन हो । वि.सं. १९६४ मा ब्रिटिस गोर्खा सेनामा भर्ना हुनभएका उहाँले १२ वर्ष फौजी जीवन विताउनुभयो । महागुरु फाल्गुनन्द पहिलो विश्वयुद्धमा सामेल हुनुभयो । पल्टनमा रहँदा फाल्गुनन्द ‘ध्यानी हवल्दार’को रुपमा परिचित हुनुहुन्थ्यो । युद्धका एकदिन आफ्ना सिपाहीहरुलाई भन्नुभयो, ‘हेर ! दुश्मन भनिनेहरु पनि हामीजस्तै मानिस हुन् । तर, हामीले सरकारको नुनपानी खाएको छौं, नुनको सोझो गर्नुपर्छ । गोली कि अकाशतिर कि भुँइतिर हान्नु ।’

उहाँ युद्धमा सामेल भए पनि समस्याको शान्तिपूर्ण सामाधानका पक्षमा हुनुहुन्थ्यो । पहिलो विश्वयुद्ध त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो । महागुरु फाल्गुनन्द युद्धले पैदा गरेको हिंसा, नरसंहार, रक्तपात, विध्वंस र वियोगको साक्षी हुनुभयो । त्यसैले वि.सं. १९७६ मा पल्टनबाट फर्किएपछि उहाँले शान्ति र अहिंसाका पक्षमा वकालत गर्नुभयो । नेपाल, भारत, भुटान र बर्मा पुगेर विश्व शान्ति र अहिंसाको सन्देश छर्नुभयो ।

महागुरु फाल्गुननन्दको उपदेश छ – लायो निङवारे आमेक्लो अर्थात् आपराधिक सोंचले नाश भइन्छ । द्वन्द्वको हिंसात्मक प्रस्फुटन युद्ध हो । मानिसको मनमा उत्पन्न बिकारबाट युद्धको विजारोपण हुन्छ भन्ने उक्त उपदेशले बताएको छ । समाजमा द्वन्द्व, मारकाट, झैं झगडाको कारक तत्वको खोजी गर्नुभयो । अधिक मदिराको सेवन, अशिक्षा र राज्यद्वारा अधिकारको असमान वितरण द्वन्द्वका कारणको रुपमा पाउनुभयो । शान्ति मानिसको आत्मिक शुद्धीकरणबाट हुने महागुरु फाल्गुनन्दको धारणा थियो ।

२. अहिंसा

‘अरुलाई मार्न वा मन दुखाउनुका निम्ति गरिने हिंस्रक व्यवहार’ हिंसा हो । हिंसा शारीरिक र मानसिक दुवै रुपमा गरिन्छ । समाजमा घरेलु, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिकलगायतका हिंसा हुने गर्दछन् । यसका साथै समाजमा पशु हिंसा पनि गरिन्छ । महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९९८ मा पाँचथरको लब्रेमा पारित गरेको सत्यधर्म मुचुल्कामा बलिपूजा नगर्ने उल्लेख छ । मानिसले हजारौं वर्षदेखि मानव केन्द्रित संकथन (डिस्कोर्स) निर्माण गर्दै आएको छ । मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणीको रुपमा व्याख्या गर्ने गर्दछ । अन्य प्राणीहरुलाई तल्लो दर्जाका, पशु, आत्मा र विवेक नभएको प्राणीको रुपमा व्याख्य गर्दछ । धर्म दर्शन र विज्ञानले समेत मानिस र पशुबीचमा ‘हाइरार्की’ निर्माण गरेको छ । पशु तल्लो दर्जाको प्राणी भएकाले मार्न, खान र बलि दिन हुन्छ भन्ने मान्यता हजारौं वर्षदेखि चल्दै आएको छ ।

तर, फाल्गुनन्दले पशु बलिलाई जीव हिंसाका रुपमा व्याख्या गर्दै समाजले निर्माण गरेको हाइरार्की भत्काउनुभएको छ । उहाँका अनुसार मानिस र पशु सबै माङ (ईश्वर)का सन्तान हुन् । आफ्नै सन्तानलाई मारेर चढाउँदा माङ बेखुशी हुने उहाँको तर्क थियो । सामाजिक, सांस्कृतिक विभेद र शोषण पनि हिंसा कै रुपमा लिइन्छ । समाजमा महिलालाई दोस्रो दर्जाका बनाउन पुरुषले विभिन्न धर्मिक—सांस्कृतिक रीति, थिति र कानुन निर्माण गरेको छ । पुरुष प्रधान समाजले धार्मिक मान्यता र सांस्कृतिक थितिका माध्यमबाट महिलालाई हजारौं वर्षदेखि विभेद र शोषण गर्दै आएको छ । समाजका यस्ता हिंसा अन्त्यका निम्ति ‘सत्यधर्म मुचुल्का’मा छोरीचेलीको सोतरीत नखाने उल्लेख गरिएको छ । यसले महिलालाई विभेद गर्न बनाइएको सबै सांस्कृतिक माखेसाङलो तोड्नुपर्ने सन्देश दिएको छ ।

३. समानता

फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट मानवता र समानतालाई अघि बढाउनुभएको छ । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेद अन्त्यको परिकल्पना गरेको छ । मुचुल्काको पहिलो बुँदामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख छ । संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान छन् । महिलालाई कमजोर र दोस्रो दर्जाको नानगरिकका रुपमा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरेका छन् । छोरीले विवाहपछि श्रीमानको थर, धर्म लिन गरिन्छ । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मानिन्छ । तर, छोरीको विवाहमा सोतरितका नाममा ‘सुन, चाँदी, नगद, मदिरा, तथा मासुका कोसेली लिनुलाई नारीको बिक्री’को रुपमा मुचुल्काले व्याख्या गरेको छ ।

छोरा र छोरीलाई शिक्षा र समान हक हुनुपर्ने पनि जोड छ । भाषिक–सांस्कृतिक विभेद र शोषण मानवता विरोधी कार्य भएको उनको ठम्याई छ । मानिसले धर्म, जाति, लिङ्ग र वर्गका आधारमा शिर निर्हुयाएर बस्नुपर्ने अवस्थाबाट सामाजलाई माथि ल्याउनु पर्छ भन्ने उनको जोड छ । मातृभाषामा शिक्षा दिने विद्यालय खोल्ने उल्लेख छ ।

४. मानवता

फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय बिरामी तथा दुःखीहरुको सेवामा विताउनुभयो । दुःखीहरुको सेवा गर्नु उनको मानवताप्रतिको श्रद्धा थियो । धामी, झाँक्री, योबा, फेदाङमा, साम्बा र अस्पतालले निको पार्न नसकेका अनेकौं बिरामीहरुलाई फाल्गुनन्दले निको पारेर घटनाबारे थुप्रै पुस्तक, लेख र किंवदन्ती पढ्न र सुन्न पाइन्छ । नेपाल, भारत, भुटान र बर्माका विभिन्न स्थानमा पुगेर बिरामी तथा दुःखीहरुका निम्ति माङसेवा तथा मुन्धुमी औषधि विज्ञानका माध्यमबाट उपचार गर्नुभयो ।

वि.सं. २००१ मा काठमाडौंका जनरल विक्रम शमशेर जबरालाई र उनकी श्रीमतीलाई उपचार गर्न महागुरु फाल्गुनन्दलाई दरबारमा बोलाइएको उहाँको जीवनीमा उल्लेख छ । उहाँलाई जनरले ‘उपकार बापत ५०० रुपैयाँ भेटी राखी बिदा दिन खोज्दा आफूले उपकार बापत कहिल्यै शुल्क लिने नगरेको’ वताउनुभएको सुन्न पाइन्छ । फाल्गुनन्दको अन्तिम श्वाससम्म पनि मानिसहरुको सेवामा तल्लीन भएकाले इच्छित मृत्युवरण गर्न पाउनुभएन ।

५. एकता

फाल्गुनन्दले ‘थिक पोङमारे तोवाबेओ नाम लिङ’ अर्थात् ‘एकताले भाग्योदय हुने’ बताएका छन् । उनलाई विभाजन र क्षुद्र स्वार्थका कारण ठूला मुलुकहरु युद्धमा फस्दा भएको प्रथम विश्वयुद्धले विधंश र विनाश निम्त्याएको थाहा थियो । आफ्नै किरात समाजमा भएको अपुङ्गी चरित्रले गुमेको भूमि र अधिकारबारे पनि जानकार थिए । यही भोगाइबाट नै उक्त कुरा बताएका थिए । विश्व शान्ति र मानव एकताका निम्ति माङसेवा गर्नु फाल्गुनन्दको नित्य कर्म थियो । सबै मानिस समान हुन् भन्ने भावना विकास भए मानव एकता हुने उहाँले दिएका उपदेशहरुमा पाइन्छ ।

६. शिक्षा

महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ बैशाख २४ गते शुरु भएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, तुम्याहाङ र सर्वसाधरणको भेलाले सात बुँदे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्कामा युमा माङहिम (इश्वरको पूजाआराधना गर्ने ठाउँ) स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन विद्यालय स्थापना गर्ने उल्लेख छ । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहिमहरुमा अनौपचारिक रुपमा मुन्धुम र किरात लिपिमा शिक्षा लिने व्यवस्था गर्नुभयो । जसबाट हजारौं साक्षर भए ।

फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गरेको समय आम नागरिकका निम्ति शिक्षा लिने व्यवस्था थिएन । राणा शासकहरुले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए । हाल ‘मातृभाषामा शिक्षा’का मुद्दा शिक्षा क्षेत्रको जल्दोबल्दो विषय हो । मातृभाषामा शिक्षा दिँदा सिकाइ उपलब्धि राम्रो हुने निष्कर्ष संसारभरका शिक्षाविदहरुले निकालेका छन् । ‘नेपालको संविधान’ धारा ३१ ले मातृभाषामा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरेको छ । यसले महागुरु फाल्गुनन्दको शिक्षासम्बन्धी दुरदृष्टिलाई स्पष्ट पार्छ ।

७. प्रकृति पूजा

प्रकृतिसँग विवेकपूर्ण अन्तरक्रियाले मात्र मानव अस्तित्व सम्भव भएको महागुरु फाल्गुनन्दको धारणा छ । उहाँले हिमाल, डाँडा, खोला, जंगल, ओडार र मैदानहरुमा पूजाआजा गर्नुहुन्थ्यो । हिमाल, डाँडाकाँडा र खोलानालालाई माङको पवित्र स्थानको रुपमा लिनहुहुन्थ्यो । किरात साम्जिक मुन्धुममा उहाँले विभिन्न पवित्र हिमालहरु ‘फक्ताङलुङ’ (कुम्भकर्ण), ‘सेसेलुङ’ (कञ्चनजंगा), डाँडाकाडा ‘मुक्कुमलुङ’ (पाथीभरा), ‘सिरिङचोक’, ‘यासक’, खोलानाला ‘इम्बिरी’ (तमोर), ‘काङवामा’ (काबेली) लगायत उल्लेख गरिएको छ । प्रकृतिका सबै तत्वहरुलाई माङको अंशका रुपमा सम्बोधन गर्ने गर्थे। यसले खोलानाला, हावा पानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ ।

महागुरु फाल्गुनन्दले खानेपानीको स्रोत नभएको विभिन्न स्थानमा पानी उमार्नुभयो । कुवाहरु खन्नुभयो । उहाँले उमारेको पानी आजसम्म पनि प्रयोग भइरहेको छ । निपानी जग्गामा पानीको मुहान फुटाउनुमा उनमा भूमिगत पानीका स्रोतबारे विशेष ‘आत्मपहिचान’ थियो । रुख नकाट्ने भनेर स्थानीलाई मुचुल्का गराउनुभयो ।

८. शकाहारी जीवन पद्धति

जाँडरक्सी र मासुमंस सेवन जीवनको दैनिकी र संस्कृतिको रुपमा अनुशरण गरेको लिम्बु समुदायमा जन्मिएका फाल्गुनन्दले यस्तो जीवन पद्धतिका थुप्रै नकारात्मक असर देख्नुभएको थियो । त्यसैले उहाँले शाकाहारी जीवन पद्धति अँगाल्नभुयो । शाकाहारी जीवन पद्धति धारण गर्नु महागुरु फाल्गुनन्दको जीवनको एक महत्वपूर्ण पाटो हो ।

बलि पूजा गर्ने, विवाहमा सोतरित लिनेदिने र अन्त्येष्टि कर्ममा पनि सुँगुर, कुखुरा, बाख्रा, राँगा मार्ने चलन थियो । त्यसका निम्ति लिम्बूहरुले किपट भूमि बिक्री गर्दै पैतृक भूमि सक्दै थिए । अर्कोतर्फ जाँडरक्सी र मासुमंसको सेवन स्वाथ्यका निम्ति हानिकारक थिए । सत्यधर्म मुचुल्कामा शाकाहारी जीवन पद्धतिमा जोड दिने उल्लेख छ । मासु खानको निम्ति अर्को प्राणीलाई मार्नु पर्ने भएकाले अर्काको ज्यान मार्ने काम अपराध हुने उहाँको बुझाइ छ ।

९. आध्यात्मिकता

आध्यात्मिक चिन्तन महागुरु फाल्गुनन्दको जीवनको एक महत्वपूर्ण पाटो हो । उहाँ आजीवन आध्यात्मिक चिन्तनमा तल्लीन हुनुभयो । मानिसमा माङप्रतिको आस्था, अनुशासन, उच्च नैतिकता, दया, माया र प्रेमभाव विकास गर्न उहाँ लागिपर्नु भयो । आध्यात्मिकता आत्म र अदृश्य माङ शक्तिप्रतिको विश्वाश हो । आध्यात्मिकताले नैतिकता, दया, माया, प्रेम, स्नेह र मानवता विकासमा सहयोग गर्दछ ।

महागुरु फाल्गुनन्दको जीवन कालमा पश्चिमा मुलुकहरुले तीव्र भौतिक विकास गरिरहेका थिए । जसको परिणाम स्वरुप मानव समुदायले थुप्रै भौतिक सुविधाहरु भोग गर्न पाए । इमेल, इन्टरनेट, मोबाइल, कम्प्युटर, गाडी, जहाजआदि यसका उपज हुन ्। भौतिक सामग्रीले मानिसलाई सुविधा दियो तर आत्माशान्ति दिन सकिरहेको छैन । भौतिकवादले मानिसहरुलाई यान्त्रिकरण गरिदियो । जसले मानवता र नैतिकता सांसरबाट हराउँदै गएको छ । कतिपय साहित्यकारहरु आज पश्चिमा मुलुकहरुमा आध्यात्मिकताको खडेरी आएकोमा गहिरो चिन्ता व्यक्त गर्दछन् । विश्व स्वास्थ्य संगठनले पूर्ण रुपमा स्वास्थ्य रहन मानिसमा शारीरिक, मानसिक, सामाजिक स्वास्थ्य हुनका साथै आत्यात्मिकताको विकास हुन पर्ने बताएको छ ।

१०. लोकतन्त्र

लोकतन्त्रप्रति महागुरुको विशेष आस्था रहेको थियो । उहाँले शिक्षा, संस्कार, संस्कृति, धर्म र मुन्धुमका विषयमा एउटा ठूलो चुम्लुङ (सभा) गर्नुभयो । राणा शासनकालमा चुम्लुङ गरेर ‘सत्यधर्म मुचुल्का’ निर्माण गरेर लोकतान्त्रिक अभ्यास गर्नुभयो । महागुरुले चेलाहरुलाई ‘हाङले चिहोत, चिहोत् केमेत्तीबेन् आनिङवाबेले मेखोप्तुन्’ अर्थात् राजाले गरेको शोषण, दमन मैले सहन सकेको छैन भन्नुभएको थियो ।

अन्त्यमा महागुरु फाल्गुनन्दलाई हेर्ने, चिन्ने, बुझ्ने र व्याख्या गर्ने अनेक दृष्टिकोण विकास भएका छन् । महागुरुले दर्शनबारे छुट्टै पुस्तक लेख्नुभएन् । उहाँले दर्शनलाई प्रवचन र पुस्तकमा होइन, व्यवहारमा देखाउनुभयो । उहाँको भोगाइ र सोंचाइबारे उहाँका चेलाभूलाले सुनाइएका अनेक विवरणबाट हामी उहाँको जीवन दर्शन के हो भन्ने एउटा निश्कर्षमा पुग्न सक्छौं । उहाँका दर्शन कुनै जाति वा सम्प्रदाय विशेष नभएर सिङ्गो मानव समुदायका लागि उपयोगी छन् । (थाहा खवर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्