उपनिर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन सर्वदलीय छलफल



युद्धबहादुर बोहोरा

पाँचथर, २५ कात्तिक

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनलाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न यहाँ क्रियाशील राजनीतिक दलहरु सहमत भएका छन । यसका लागि दलहरुले विभिन्न निर्णय समेत गरेका छन ।

आगामी मंसिर १४ हुन लागेको उपनिर्वाचनलाई निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता, निर्वाचन आचार संहिता र प्रचार–प्रसारका सम्बन्धमा निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्द गाउँपालिकामा सोमबार सर्वदलीय बैठक सम्पन्न भएको हो ।

बैठकले उम्मेदवारी दर्ता गराउने समय विहान १० बजे शुरु भई अपरान्ह १ बजे सम्म आधा÷आधा घन्टाको फरक समयमा दलहरुले उम्मेद्वारी दर्ता गर्ने समझदारी भएको छ ।

सर्वप्रथम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वारी दर्ता हुने भएको छ । त्यसपछि क्रमशः नेपाली काँङ्ग्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उम्मेद्वारी दर्ता गराउने भएका छन् ।

यसपछि अन्य दल तथा स्वतन्त्र ब्यक्तिहरुले उम्मेद्वारी दर्ता गराउने ब्यवस्था मिलाइएको छ । दलहरु र सरोकारवालाको उपस्थितिमा उम्मेद्वारी दर्ताको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी निर्वाचनलाई स्वस्च्छ प्रतिस्पर्धाबाट सम्पन्न गर्न आचारसंहिताको पालना गर्ने, आचारसंहिताअनुशार अनुसार मङ्सिर ११ गते राती १२ बजेसम्म प्रचार प्रसार गर्ने, मौन अवधिको समयलाई उल्लङ्घन नगर्ने बैठकले निर्णय गरेको छ । बैठकमा दलका प्रतिनिधिहरुले निर्णयलाई पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनका दिन मेची राजमार्ग बाहेक फाल्गुनन्द गाँउपालिका भित्रका सबै सडकहरुमा सवारी आवत–जावत बन्द रहने समेत जानकारी गराइएको छ ।

चुनावी आमसभा, प्रचार प्रसारको मिति, स्थान र समय तय गर्दा अन्य दलहरुसँग समन्वय गरि अन्य दललाई हस्तक्षेप र प्रतिकुल असर नहुने गरि सौहादपूर्ण ढंगबाट कार्यक्रम गर्ने दलहरुवीच सहमति भएको छ ।

यस्तै प्रचलित नियम अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी गराएर मात्रै कार्यक्रम आयोजना गर्न दलहरु सहमत भएको मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

फाल्गुनन्द गाउँपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेका छन् । यहाँ निर्वाचनका लागि १३ मतदान स्थलमा २३ वटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्