३३ लघुवित्तले तीन महिनामै कमाए सवा अर्ब, सर्वसाधारणबाट उठाए ६ अर्ब ब्याज



फाल्गुनन्द सम्वाददाता
फिदिम, २५ कात्तिक

३३ वटा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै एक अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको यहि अवधिमा ५० वटा लघुवित्तले एक अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।

व्यवसाय सञ्चालन गर्न गाह्रो परेको भन्दै गुनासो गर्ने लघुवित्तले आकर्षक नाफा गरेका छन् । लघुवित्तहरुले सर्वसाधारणहरुलाई प्रवाह गरेको निक्षेपबाट ६ अर्ब ८ करोड रुपैयाँ व्याज संकलन गरेका छन् । बरोइङ तथा सर्वसाधारण निक्षेपको लागि भने तीन अर्ब १८ करोड रुपैयाँ खर्च गरेका हुन् ।

सबैभन्दा धेरै नाफा गर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ । छिमेकले तीन महिनामै २२ करोड २६ लाख रुपैया नाफा गरेको छ । संस्थाले गत वर्षको भन्दा ४२ प्रतिशतले नाफा बढाएको हो ।

त्यस्तै निर्धन उत्थान लघुवित्तले २१ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाले गत वर्षको भन्दा ४३.४९ प्रतिशतले नाफा बढाएको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्तलाई १८ प्रतिशतभन्दा माथिको व्याजदरमा कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको थियो । गत पुषमा उक्त व्यवस्था गर्दा लघुवित्तहरुले नाफामा धेरै गिरावट हुने भन्दै गुनासो पोख्दै आएका थिए ।

आर्थिक रुपले विपन्न समुदायलाई प्रवाह हुने कर्जा महंगो भएको भन्दै चर्को विरोध भएपछि राष्ट्र बैंकले व्याजको सिलिङ तोकिदिएको हो । बैंकहरुबाट कर्जा सापटी लिएर कर्जा प्रवाह गर्दा महंगो पर्ने बताइरहँदा लघुवित्तले राम्रो मुनाफा गरेका हुन् । लघुवित्तहरुले ग्रामीण समुदायमा गएर लघुकर्जा प्रवाह गर्दै आएका छन् ।

गरिव किसानलाई कर्जा प्रवाह गरेर आर्जन गरेको नाफा अस्वाभाविक भएको भन्दै आलोचना हुने गरेको छ । तर ठूलो जोखिम लिएर गाउँगाउँमा कर्जा प्रवाह गर्नु नै ठूलो कुरा हो भन्दै वित्तीय संस्थाहरु पन्छिने गरेका छन् । (बिजमाण्डूबाट)

प्रतिक्रिया दिनुहोस्