हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि आर्मीलाई



फाल्गुनन्द सम्वाददाता
फिदिम, २५ कात्तिक

विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापामा आयोजित हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ को उपाधि उचालेको छ ।

सोमबार भएको फाइनल खेलमा प्रतिस्पर्धी चर्च ब्वाइज क्लबमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको जीत हाँसिल गर्दै आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकीको भूमिका निर्णायक रह्यो ।

आर्मीका लागि पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको अन्त्यतिर दुवै टोली आक्रामक बन्दा कार्डको वर्षा भएको थियो । ८० मिनेटको निर्धारित खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो । ५८ र ८३ मा दोहोरो पहेँलो कार्ड पाउँदै चर्च ब्वाइजका राजेन्द्र रावल मैदान छाड्न बाध्य भए । आर्मीका ३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

खेलको ३२औँ मिनेट आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गोल गर्दै अग्रता दिलाएका थिए । टंक बस्नेतले मिलाइदिएको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका उनले ग्रास सुट गर्दै गोल गरेका थिए । त्यस्तै, टेकबहादुर बुढाथोकीकै एक्लो प्रयासमा खेलको ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठसँग वान भर्सेज वानमा बललाई दोस्रो बारतर्फ चिप गर्दै उनले गोलपोस्टको दिशा दिएका हुन् ।

यसअघि खेलको २५औँ मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले गोल गर्ने अवसर गुमाएका थिए । आर्मीका गोलरक्षक विवश चौधरीसँग वान भर्सेज वानमा सुनिलले प्रहार गरेको बल खेर गएको थियो ।

खेलको उत्कृष्ट गोलरक्षक आर्मीका गोलरक्षक विवश चौधरी घोषित हुँदा चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक घोषित हुँदा आर्मीकै टंक बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भए ।

फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास घोषित हुँदै पुरस्कृत भए । गोल्डकपकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षकमा आर्मीकै नवीन न्यौपाने घोषित भए ।

विजेता आर्मीले नगद १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद ६ लाख २५ हजार पुरस्कार पाए । विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गर्नुभयो । –इजलास डटकमबाट)

प्रतिक्रिया दिनुहोस्