‘सीमा विवादमा सुँगुरजस्तो नसुतौँ, अन्तर्राष्ट्रिय अदालत जाऔँ’



डा. युवराज संग्रौला (पूर्वमहान्यायाधीवक्ता)

नेपालको स्वतन्त्रता एकै मिनेटमा सकिन्छ भन्ने जस्ता भावनाबादी सोंच बिचारको समस्या सानो छैन नेपालमा । कालापानी नेपालको हो, र रहिरनुपर्छ । भारत ठूलो छ, नेपाल सानो छ भन्ने मनोग्रन्थीबाट सबै प्रभावित भएको अवस्था छ । यथार्थमा त्यही कारणले कालपानीमा भारतको दादागिरी भएको हो । यदि देशको स्वतन्त्रता जोगाउने हो भने भारतले हाम्रो स्वतन्त्रता जोगाइदेओस भनेर कामना गर्ने र सुंगुर निदाएझैं निदाउने प्रवृत्ति पहिला त्याग्नु अवाश्यक छ । केही महत्वपूर्ण कुरामा बिमर्श गरौं ।

१. नेपालको भूगोल चीन र भारतका बीचमा छ । यस्को तात्पर्य हो हाम्रो एक एक इन्च जमिन महत्वपूर्ण छ । यस जमिनलाई जोगाउने दायित्व हाम्रै हो । तर २००७ साल देखि अहिले सम्म हामिले के गर्यौँ ? अझ पञ्चायत जोगाउन त्यस बेला यो जमिन भारतलाई सशस्त्र फौज राख्न दियौं । अहिलेका थुप्रै समस्या हिजोदेखि आएका हुन । यस तर्फ पहिला गम्भीर विश्लेषण गरौं ।

२. हाम्रो भू–राजनितिक अवस्थाले नै राष्ट्रको सबभन्दा प्राथमिक काम कुटनीतिक ब्यबस्थापन हो भन्ने स्पष्ट छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ, हाम्रो परराष्ट्र मन्त्रालय सबै भन्दा प्रभावकारी र सक्षम हुनुपर्छ । यससँग वोल्र्ड क्लास वा बिश्वलाई बुझेर नेपालका समस्या र अवसरहरुको सदुपयोग गर्न सक्ने कुटनीतिक विशेषज्ञहरु हुनुपर्छ ।

तर यो मन्त्रालय नै यस्तो एउटा मन्त्रालय हो, जसले विशेषज्ञहरुलाई प्रवेश निषेध गरेको छ । त्यो कुरा त यसको अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानको दुरावस्थाबाटै जगजाहेर छ । यस्को काम राजदुतको जागिर दिने हो र बिदेश भ्रमणको चांजोपांजो मिलाउने हो जस्तो देखिन्छ ।

पार्टीका नेताका मानिस, लामो राजनीतिक त्याग गरेका मानिस र कर्मचारीलाई यस्ले राजदुतको जागिर दिन्छ । यो भन्दा बढी यस्ले देशको कुटनीतिको अनुसन्धान गरेको, नयाँ मान्याताहरु बिकास गरेका प्रतिबेदनहरु पढेर बिद्यार्थीहरु दिक्षित गर्न त अहिले सम्म पाइएको छैन ।

३. देशमा बिश्वस्तरका सिमाबिद् छन तर परराष्ट्र उनिहरुलाई देशको सेवामा प्रयोग गर्दैन । कहिलेकाँही मन्त्रीज्युले भेट्नु हुंदो हो । देशको सिमाना ब्यबस्थापन गर्ने निकायलाई भूमिसुधार मन्त्रालयको मातहतमा राखेको छ ।

देशको परराष्ट्र मन्त्रीको हैसियत भू–राजनितिक अवस्थाको महत्वका कारणले प्रधानमन्त्री सरहको ब्यक्तित्व भएको मानिस हुनुपर्ने हो, जस्ले विश्वका घटना र परिघटनाको बिश्लेषण गर्दै नेपालको कुटनीतिलाई बाटो देखाउन सकोस । समकक्षीसँग बार्ता गर्न सकोस । कर्मचारीले लेखिदिएका नोटबाट काम चलाएर देश चल्दैन ।

४. त्यसैले यस समस्याको समाधान परराष्ट्र मन्त्रालयको बिस्तार, सुदृढिकरण र विशेषज्ञताको निर्माणबाट हुनुपर्छ । उत्तर र दक्षिणका सीमानाको रेखदेख र अनुगमन गर्ने सिमाना नापनक्सा गर्ने छुट्टै आयोग परराष्ट्र मन्त्रालय मार्फत रहनुपर्छ र सिमानामा सानो तिनो मात्र समस्या देखियो भने यसलाई जिम्मेवार बनाउनुपर्छ ।

त्यसैले अहिले राष्ट्रका हितमा उठेको आवाज केबल भावनात्मक अभिव्यक्तिमा सिमित रहेर, राष्ट्रभित्र कर्मचारीतन्त्र र राजनीतिक अब्यबस्थाका बिषयले महत्व पाएनन् भने देश झनै कमजोर हुनेछ ।

५. परराष्ट्र मन्त्रालयका केही लक्षणहरु हेरौं । देशमा कुटनीतिक समस्यामा यो नयाँ बेहुली लजाएजस्तो लजाएर बस्छ । भारतको बिदेश मन्त्रालयले त घुसपैठ गर्नेहरुको खेल भनेर थर्काइसक्यो । के सडकमा आएका मानिस घुसपैठिया हुन ? होइनन भने तेस्को जवाफ किन नदिएको होला ?

यसका अधिकांश मानिस राजदुत हुन्छन र उनीहरु त्यसपछि बिदेशमै बस्छन । उनिहरु भोलि एग्रीमो नआउने डरले केही बोल्दैनन बिदेशीका अत्याचारका विरुद्धमा । उनिहरुलाई राष्ट्रको आवश्यकता उनीहरुको प्रगतिका लागि मात्र हो । देश रहे पुग्छ, अलिकति जस्तो भएपनि, ताकी बिदेशी सडकमा मर्निङ्ग वाक गर्न पाइयोस् । उनीहरु धेरैका सन्तान पनि बिदेशमै छन । कसरी होला राष्ट्रका स्वार्थको संरक्षण ? के सरकार यस सम्बन्धमा छानबिन गर्न तयार छ ? यस्ता कुरा लेख्ने हामी जस्ता सडकछापका (शिक्षकहरु) बोक्रा उकाइन्छन् थाहा छ । तर पनि गलतलाई गलत भन्ने संस्कृतिको निर्माण गर्नै पर्छ ।

६. तसर्थ अहिले सडकको आन्दोलनले केबल नकारात्मक राग अलापेर मात्र हुँदैन, अब राज्यका निकायका जिम्मेवारीको खोजीनीति पनि गर्नुपर्छ । अहिले बक्तब्यको बाढी लागेको छ । हरेक मानिसले बक्तब्य दिनु पनि पर्दैन । यो समस्याको समाधान खोज्ने निकाय परराष्ट्र मन्त्रालय हो । त्यसले राष्ट्रलाई आस्वस्त पार्नुपर्छ । यसमा पनि प्रधानमन्त्रीले नै अगाडी आउनु पर्ने अवस्था देखियो । यो बिडम्बना हो ।

हाम्रो सिमा ब्यबस्थापनमा परराष्ट्रको भूमिका एकदमै कमजोर देखियो । ततकाल देशलाई बिश्वासमा लिने काम गर्नुहोस र देशको बिज्ञतालाई एक ठाउँमा ल्याउनुहोस । आफन्त होइन देशभक्त बिज्ञ खोज्नुहोस । नोम चोम्स्कीहरुलाई हेला गर्दा केही फरक पर्दैन देशका हितका लागि बिज्ञ हनुमान वा गणेशसम्म खोजेर भएपनि देशको कुटनीतिलाई चुस्त पार्नु आवास्यक छ ।

७. कतिपयलाई कालापानी अरुलाई हान्ने अवसर पनि बनेको छ । नारा कालपानीको छ, मक्सद राजनीतिको छ । हिजोदेखि नै यस्तो हुँदै आएको हुँदा, देशको स्वार्थ ब्यक्तिगत आंकाक्षाले समाप्त पार्दै आएको । देशको कुटनीतिलाई राजनीतिमा मौलाएको अनैतिकक्ताले कमजोर बनायो । यो बेला देश एक ढिक्का हुनुपर्छ भन्ने ख्याल जाग्नुपर्छ ।

यस संवेदनशील मुद्दालाई प्रयोग गरेर राजनीतिमा स्थान बनाउन खोज्नेहरुले देशलाई झनै घात गर्ने छन । अहिले भावना भन्दा बढि बुद्धिको खोजी हुनुपर्छ । यसबारेका जानकारहरुका सल्लाहले युवाहरु दिक्षित हुनुपर्छ । शक्ति देखाउनु पर्छ, तर बुद्धि प्रदर्शन गर्न ।

८. यस बारेमा रणनीति बनाइयोसः

क. कालापानी नेपालको हो भन्ने प्रमाण सहित भारतलाई सरकारले पत्र पठालाइ र बर्तमान नक्सालाइ मान्न इन्कार गरेको सूचना देओस ।

ख. सिमाविद्हरुको समूहलाई नेपालको आधिकारिक यथार्थता यकिन गरि उहाँहरुबाट राष्ट्रलाई दिक्षित गरि यस मामिलामा देशको एउटै अवाज निर्माण गरोस । भावनात्मक नाराले मात्र हानी पनि उतिकै गर्छन ।

ग. नेपाली सेनाले परिस्थितिको अनुगमन गरि आफ्नो पोजिसन तयार पारोस ।

घ. यस सम्बन्धी यथार्थता मित्र देशहरुलाई तत्काल जानकारी गराइओस ।

ङ. यो मुद्दामा भारतको अडान हैकमबादी भयो भने, विशेष बहस सुरु गरियोस जसले नेपाल भारत सबन्धको परिभाषा गरोस । यसभित्र सन १९५० को सन्धी पनि पर्छ ।

च. आवश्यक पर्न सक्छ, अन्तर्राष्ट्रिय अदालतमा जान तयारी शुरु गरियोस ।

प्रतिक्रिया दिनुहोस्