सन्दकपुर जोड्ने सडक कालोपत्रे हुने



फाल्गुनन्द सम्वाददाता
फिदिम, २५ कात्तिक

नेपाल–भारत सीमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ ।

प्रदेश नं. १ सरकारले पाँचथरको फिदिमबाट रानीटार–लुङरुपा हुँदै सन्दकपुर जोड्ने सडक कालोपत्रेको काम थालेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालयले उक्त सडकको शिवालय–रानीटार खण्ड कालोपत्रेका लागि मंगलबार बोलपत्र आव्हान गरेको छ । पहिलो चरणमा ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि बोलपत्र आव्हान भएको हो ।

आकर्षक पर्यटकीय क्षेत्र भएपनि फिदिमबाट सन्दकपुर पुग्न सडकको समस्या छ । अधिकांश भागमा सडकको ट्र्याक खोलिएपनि सवारी सञ्चालनमा कठीनाई हुने गरेको छ । सन्दकपुरसम्म कति दुरी छ भन्ने हालसम्म यकिन भएको छैन् । फिदिमबाट फिदिम नगरपालिका–१३ मा पर्ने गोरुवाले भञ्ज्याङसम्मको दुरी ३९ किलोमिटर छ । गोरुवाले भञ्ज्याङबाट सन्दकपुरसम्म सर्वेको काम समेत हुन सकेको छैन् ।

प्रदेश सरकारले आगामी चार वर्षभित्र सन्दकपुरसम्मै कालोपत्रे सडक निर्माण गर्ने योजनाका साथ यस आयोजनालाई प्रदेश सरकारको विशेष सडक निर्माण आयोजनामा समेटेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । हालै खोलिएको बोलपत्रअनुशार फिदिमबाट फिदिम–७ रानीटारसम्म कालोपत्रे हुनेछ । यसको समयावधि दुई वर्ष रहेको छ । यही वीचमा रानीटारबाट लुङरुपा हुँदै गोरुवाले भञ्ज्याङ जोड्ने सडक कालोपत्रेको कार्य अघि बढाइने तथा गोरुवाले भञ्ज्याङबाट सन्दकपुरसम्म सडकको ट्रयाक खोलिने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

सन्दकपुरसम्म इलामबाट सडक पुगेको छ । तर पाँचथरबाट निर्माण हुने सडकको दुरी छोटो हुनेछ । सन्दकपुर हुँदै चारराते र फालौट क्षेत्रमा पर्यटक आकर्षित गर्न यस सडकले सघाउ पु¥याउनेछ । साथै कृषि उपजको निर्यातमा समेत यस सडकबाट लाभ लिनसक्ने स्थानीयवासीको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्