वीरगन्जमा नाचे गोविन्दा



वीरगन्ज : बलिउड अभिनेता गोविन्दा आहुजाले नेपाल, नेपाली र नेपाली चलचित्र क्षेत्रका बारेमा खुलेरै प्रशंसा गरेका छन्। नेपाली चलचित्र स्वर्णिम महोत्सवका अवसरमा नेपाल आएका अभिनेता गोविन्दाले नेपाली र नेपालीपन सबैभन्दा बढी मनपर्ने बताए।

दियालो लर्डस् होटल बाहिर दिउँसैदेखि शुभचिन्तकको भीड नहटेपछि बेलुकी ८ बजे मात्रै सुरक्षाकर्मीको सहयोगमा गोविन्दा श्रीमती सुनितासँगै महोत्सवस्थल आदर्शनगर रंगशालामा पुगेका थिए।

त्यहाँ गोविन्दा र उनको प्रस्तुति हेर्न दिउँसैदेखि प्रतिक्षा गरेर बसेका शुभचिन्तकको भीड लागेको थियो।भीड बढ्न थालेपछि उनलाई मञ्‍चसम्म पुर्‍याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो

मञ्‍चमा श्रीमती सुनितासँगै उक्लिएका गोविन्दाले सुरुमा नेपाल, नेपाली र नेपाली चलचित्र क्षेत्रका बारेमा खुलेर प्रशंसा गरे । उनले भने, ‘मलाई यो साबित गर्नु छैन कि मैले नेपाल र नेपालीलाई कति धेरै माया र प्रेम गर्छु। किन कि जबजब म नेपाल आउँछु मलाई यहाँबाट पाइने प्रेम र अपनत्वले नै पुष्टि गर्दै आएको छ।’

नेपाली चलचित्र क्षेत्रका लागि देशमा मात्र नभइ विदेशमा पनि प्रचुर सम्भावना रहेको उनले बताए । उनले भने, ‘म चाहन्छु नेपाली फिल्म इण्डस्ट्रिजले पुरै विश्वमा अझ धुम मचाओस् , नेपालको फिल्म र कलाकारको नाम विश्वरभरि नै चलोस्।’

प्रतिक्रिया दिनुहोस्